लन्डन । सार्दिखोला समाज यूकेद्वारा नेपालका बाढीपहिरो पीडितका लागि ६ लाख ६३ हजार ९३ रुपैयाँ सहयोग गरेको छ ।
बेलायतमा संकलन गरिएको ३ हजार ३ सय १५ पाउन्ड प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमा शुक्रबार ११ सेप्टेम्बरमा जम्मा गरेको समाजले जनाएको छ । समाजका तर्फबाट आफ्नो जन्मभूमि तथा गाउँठाउँप्रतिको माया र विपद्मा परेका नागरिकप्रतिको संवेदनाका साथ गरिएको सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको उल्लेख गरिएको छ।
सार्दिखोला समाज यूकेले यसअघि पनि आफ्नै गाउँठाउँमा बाढीपहिरो तथा अन्य संकटका समयमा दुःखमा परेका मानिसहरूलाई सहयोग गर्दै आएको जनाइएको छ। साथै, स्थानीय विद्यालयको शैक्षिक सुधार तथा विकासका कार्यमा समेत समाजले निरन्तर साथ र सहयोग दिँदै आएको बताइएको छ।
नेपालको कास्की जिल्लाको साविक सार्दिखोला, हाल माछापुच्छ्रे गाउँपालिका–२ का विभिन्न स्थानमा घर भई बेलायतमा बसोबास गर्दै आएकाहरुको संस्था हो, सार्दिखोला समाज यूके ।






