लन्डन । इलम पोखरी समाजले सदाझैं विविध कार्यक्रमका साथ ल्होछार पाटी सम्पन्न गरेको छ ।
‘खि’ ल्हो को बिदाई र ‘फो’ ल्हो को स्वागत गर्दै २२ डिसेम्बर २०१८ को अपराह्न स्यामुल कोडी स्पोर्टस कलेज फार्नबोरोमा ल्होछार पाटी आयोजना गरेको हो । पार्टीको संयोजन समाजका अध्यक्ष पूर्णराज गुरुङले गरेका थिए । संयोजकको पूर्व निर्देशन समय तालिकाअनुसार संस्थापक अध्यक्ष मोहन गुरुङ अन्य साथीहरुको साथमा पाटी हल, प्रवेशद्वार चिटिक्क सजिसजाउ गरिएको थियो । जहाँ एकातिर डिजे सुनिल लिम्बुले संगीत र गीत गुञ्जाउन थाले मन्दमन्द आवाजमा ।
अर्कोतिर प्रवेशद्वारमा स्वयंसेवक नानीहरु आगन्तुकहरुलाई स्वागत गर्न तयार भए गौनमाया गुरुङको रेखदेखमा । चियाकफी र पेयपदार्थमा (बारमा) स्वयंसेवक नानीहरु नआईपुगुञ्जेल नन्दा गुरुङ र जमुना गुरुङले जिम्मेवारी सम्हाले । शिवराम गुरुङको रेखदेखमा स्वयंसेवक नानीहरुले पालो दिए नन्दा र जमुना गुरुङलाई । गोर्खा किचन अल्डरसटले व्यवस्था गरेको खानापिना सजाउन थाले विभिन्न परिकारका स्टार्टरहरुको साथमा ।
पाटीको अघिल्लो दिनसम्म निरन्तर खराबी मौसम देख्दा पाटीमा आगन्तुकहरुको उपस्थिति निम्न हुने र आवतजावतमा कठिनाई हुने चिन्ता नभएको होइन । सौभाग्यबस पाटीको दिन पूर्णिमा पर्न गएको रहेछ र बिहानदेखि नै बादलका टुक्राहरु हट्दै गए, सुर्य उदाए न्यानो पार्दै अनि तम्सिए इलम पोखरीवासी । पाटीमा जान दिदीबहिनीहरु गुन्यू र चौबन्दी चोलीमा गरगहनामा सजिएर अनि दाजुभाइहरु भोटो कछाड र भाङ्ग्राको पहिरानमा धुवाँले रंगिएको बख्खु काँधमा राखी चेप्टे सुनको कुमण्डली कानमा तुर्लुङ्ग झुन्ड्याउँदै र नानीहरु आईप्याड र ट्याब्लेट साथमा राखेर ।
आगन्तुकहरुले बिस्तारबिस्तारै हल भरिन थाले । एकअर्कामा ल्होछारको शुभकामना आदनप्रदान गर्दै भलाकुसारी गर्न थाले । कोही फोटो खिच्न थाले, कोही फेसबुकमा प्रत्यक्ष भिडियो खिच्दै पोस्ट गर्दै थिए बियार हुस्कीको चुस्काईको साथमा । कार्यक्रमलाई अझ रोचक होस् भन्ने विचारले तन, मन, धनका धनी महानुभावहरु समाजका अध्यक्ष पूर्णराज गुरुङ, एनआरएनए यूकेका वरिष्ठ उपाध्यक्ष शेर सुनार, समाजका उपाध्यक्ष जीतबहादुर गुरुङ, लमजुङ समाजका अध्यक्ष बोहत गुरुङ, संस्थापक अध्यक्ष मोहन गुरुङ, कार्यसमिति सदस्य बुद्धिराम गुरुङ, जुना गुरुङ, सल्लाहकार तुलाराम गुरुङ, सदस्य खुसीमान गुरुङ र समाजका सचिव परशु गुरुङले भाग्योदय चिट्ठाको लागि स्पोन्सर गरेका थिए । श्रेया गुरुङ, श्रुती गुरुङ, स्मृति गुरुङ, रोज्लीन गुरुङ अनि लोनी गुरुङले राफल ड्रको टिकट बिक्री गर्न मद्दत दिएका थिए ।
तोकिएको समयमा प्रमुख अतिथि, अतिथिहरुको स्वागत गर्ने अवसर मिल्यो साथै भलाकुसारी पनि । समय जान कतिबेर लाग्दो हो र । थाहै नपाई सचिवले तय गरिएको कार्यक्रम रुपरेखामा उल्लेखित समय त नाघिसकेछ । त्यसैले सचिवले मञ्चतिर नचढी धरै पाएन । मीठामीठा गफमा मस्त भइरहेका विशेषगरी दिदीबहिनी, आमा, बाबाहरु जो धेरै समयको अन्तरालमा भेटघाट भएका थिए, जबर्जस्ती शान्त भई दिन अनुरोध गरे छुच्चो सचिवले । विचरा सबैजना चुपचाप रही स्टेजतिर आँखा तन्काए ।
सुरक्षासम्बन्धी छोटो जानकारीपश्चात् औपचारिक कार्यक्रम प्रारम्भ भयो आशनग्रहण गर्नमा अनुरोध गर्दै । सचिव परशु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा इलम पोखरी समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङको सभापतित्व थियो भने लमजुङ समाज यूकेका अध्यक्ष बोहत गुरुङ प्रमुख अतिथिको आशनमा थिए । आशन ग्रहणको क्रममा सबै अतिथिहरु, समाजका उपाध्यक्ष, संस्थापक अध्यक्ष, सल्लाहकार र अग्रज सदस्यहरुलाई अनुरोध गरेका थिए । सभापतिले खादाले सम्मान गरे सबैजनालाई । प्रमुख अतिथि, सभापति, ईलम पोखरी समाजका संस्थापक अध्यक्ष, लमजुङ समाज यूके आमा समूहकी अध्यक्ष र गोर्खा जिल्ला तमु समाजका अध्यक्षबाट पानसमा दीप प्रज्ज्वलन गरी औपचारिक कार्यक्रम समुद्घाटन गरिएको थियो ।
जन्मथलो र कर्म थलोको राष्ट्रिय गीत बजाएर राष्ट्रप्रति सम्मान गरे सबैले । विभिन्न अन्य संघसंस्थाका गरिमामय पदहरुमा चयन भएका समाजका सदस्यहरु साथै चेली ज्वाइँहरु, समाजमा नयाँ सदस्यता लिएकाहरुलाई अध्यक्षबाट खादाले सम्मान गरिएको थियो । त्यस्तैगरी विभिन्न विधामा शैक्षिक योग्यता हासिल गरेका नानीहरु, पाटीमा निःस्वार्थ भावनाले मद्दत गरेका युवा स्वयंसेवक नानीहरुलाई खादा तथा प्रशंसापत्रले सम्मान गरिएको थियो ।
प्रमुख अतिथि र संस्थापक अध्यक्षको छोटो मन्तव्यपश्चात् सबैले प्रतिक्षा गरिरहेको भाग्योदय चिट्ठा सञ्चालन गराउन सल्लाहकार तुलाराम गुरुङलाई मञ्चमा बोलाए । जम्मा ८ वटा पुरस्कार रहेको भाग्योदय चिट्ठामा प्रथम पुरुस्कार आधा तोला सुन, दोस्रो पुरस्कार १०० पाउन्ड थियो भने बाँकी ६ वटा पुरस्कारहरुमा ५२, ५१ र ५० पाउन्ड रकम थियो । आठौं पुरुस्कार अर्थात् ५० पाउन्को लागि लक्की नम्बर निकाली दिनका लागि प्रमुख अतिथि बोहत गुरुङलाई अनुरोध गरिएको थियो भने पहिलो भाग्यमानी विजेता अरुण गुरुङ थिए । प्रथम पुरस्कार अर्थात् आधा तोला सुन मनिका गुरुङले पाइन् । त्यसपश्चात् अध्यक्षले आफ्नो महत्वपूर्ण मन्तव्य दिई औपचारिक कार्यक्रम समापन गरे ।
सचिवले छोटो मन्तव्य दिएर सांस्कृतिक कार्यक्रमका संयोजक उपाध्यक्ष जीतबहादुर गुरुङलाई माइक्रोफोन हस्तान्तरण गरे । संयोजकको छोटो मन्तव्यपछि सांकृतिक कार्यक्रम उद्घोषिका सविता गुरुङले कार्यक्रम अगाडि बढाए तमु राष्ट्रिय गानबाट दल गुरुङ, गज गुरुङ र हस्त गुरुङको सामूहिक प्रस्तुतीमा । स्थानीय कलाकारहरु भए तापनि कोहीभन्दा कम थिएन नृत्यमा होस् या गायनमा । हस्त र गजको गायनले हल थर्काए भने परिता, विकेन्द्र, प्रेमा, कल्पना, अस्मिता र सविताको प्रस्तुतिले सबैलाई मनमुग्ध नै बनाए । खल्तीबाट प्लास्टिकको १० पाउन्डको नोट ननिकाली धरै पाएन ।
नृत्यपश्चात् डिजे सुनिलले धमाका मचाउने गीतहरु पस्के, नाच्न थाले सबैजना । त्यसै अन्तरालमा सांस्कृतिक कार्यक्रमका कलाकारहरु सल्लाहकार दल गुरुङ (गायक), कार्यसमिति सदस्य गज गुरुङ (गायक), हस्त गुरुङ (गायक) अनि नृत्य कलाकारहरु विकेन्द्र गुरुङ, परिता गुरुङ, प्रेमा गुरुङ, कल्पना गुरुङ, अस्मिता गुरुङ र कार्यक्रम उद्घोषिका तथा नृत्यकार सविता गुरुङलाई अध्यक्ष पूर्णराज गुरुङले खादा तथा प्रशंसापत्रले सम्मान गरेका थिए ।
समयको गतिलाई कसैले रोक्न सकिँदैन । नाच्ने रहर हुँदाहुँदै पनि संगीतका धुनहरु बन्द गर्न बाध्य भए सुनिल लिम्बु । हल हस्तान्तरण गर्ने सुरसारमा लागे सबैजना । निर्धारित समयभन्दा केही समय अगाडि नै हलबाट बिदा भएर आ–आफ्नो गन्तव्यतिर लागे समर पाटीमा भेट्ने वाचा गर्दै ।
प्रस्तोता : परशु गुरुङ
सचिव, इलम पोखरी समाज यूके






