बेलायत – चलचित्र ‘पेन्सन पट्टा’ बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा शनिबार भव्य रूपमा प्रदर्शन गरिएको छ। भूतपूर्व गोर्खा सैनिकहरूको जीवनीमा आधारित यस सामाजिक चलचित्रले खचाखच भिडको दर्शक पाएको छ।
प्रिन्सेस हलमा हजारभन्दा बढी दर्शकको खचाखच भिडका कारण हल हाउसफुल भएको थियो। सिट अभाव भएपछि कतिपय दर्शक फर्किन बाध्य भएको आयोजकले जनाएका छन्। चलचित्रले भूतपूर्व गोर्खा र उनीहरूका परिवारले भोग्नुपरेका दुःख, पीडाका साथै गुरुङ जातिको संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रयास गरेको प्रतिक्रिया दर्शकहरूले दिएका छन्।
कार्यक्रममा नायिकाद्वय गैमाया गुरुङ र पशुपति राईले मञ्चबाट चलचित्रका निर्देशक मोत्से गुरुङ, सम्पूर्ण कलाकर्मी, बेलायतका निर्माताद्वय मीनप्रसाद गुरुङ र भोज गुरुङ तथा उपस्थित दर्शकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे।
औपचारिक कार्यक्रमका प्रमुख अतिथि तमुधिँ युकेका अध्यक्ष जुमकाजी गुरुङले निर्देशक, निर्माता तथा कलाकारहरूलाई बधाई दिँदै बेलायतका अन्य क्षेत्रमा पनि चलचित्रको भव्य प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा निर्माताद्वय मीन गुरुङ र भोज गुरुङले चलचित्र प्रदर्शनमा सहयोग गर्ने सम्पूर्ण दर्शकप्रति हार्दिक आभार प्रकट गरेका थिए।






