वेलायत – मगर महिला संघ युकेले आफ्नो २९औं स्थापना दिवस २०२६ सेप्टेम्बर १३ आइतबारका दिन बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेस्टुरेन्ट’मा भव्य रूपमा मनाएको छ।
कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसनग्रहण, दीप प्रज्वलन र राष्ट्रिय गीत गाइएको थियो। त्यसपछि विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा, वर्षभरि दिवंगत भएका मगर समुदायका व्यक्तिहरू तथा भोटेकोशी बाढीका दिवंगत आत्माहरूको चिरशान्तिको लागि दुई मिनेट मौनधारण गरिएको थियो।
दोस्रो चरणमा समाजसेवी गिभिना मगर, गायिका निता थापा मगर र १० जना मगर महिला व्यवसायीहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा मगर महिला संघ स्विनडन शाखाले ‘लेडिज नाइट’बाट सङ्कलन गरेको रकम गिभिना मगरलाई हस्तान्तरण गरेको थियो। साथै, स्थापना दिवसको अवसरमा सङ्कलित रकम भोटेकोशी बाढीपीडितलाई सहयोगस्वरूप प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सरला राना मगरले जानकारी दिनुभयो।
संघकी अध्यक्ष सरला राना मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेका अध्यक्ष मेजर योगेश कोयी राई, संस्थापक अध्यक्ष थर्क राना मगर, मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन (लालु) मगर र पूर्वउपाध्यक्ष अनिता राना मगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राई प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संस्थापक अध्यक्ष थर्क राना मगर, मगर संघ युकेका अध्यक्ष लालु पुन मगर, निवर्तमान अध्यक्ष सीता पुन मगर तथा ट्रष्टीहरू क्याप्टेन तम धेगा मगर र जमुना पुन मगर विशेष अतिथि रहनुभएको थियो। त्यस्तै, कार्यक्रममा मगर संघ युकेका पदाधिकारी, सल्लाहकारहरू, विभिन्न शाखा समितिका अध्यक्ष तथा पदाधिकारीहरूको आतिथ्यता रहेको थियो।
वरिष्ठ उपाध्यक्ष मनु पाइजा मगरले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको औपचारिक सत्रको सञ्चालन महासचिव सरस्वती थापा मगरले र सांस्कृतिक सत्रको सञ्चालन सांस्कृतिक सचिव यमुना आलेले गर्नुभएको थियो।







