एटा संवाददाता
रेडिङ्ग । तमुधिं यूकेले गुरुङ (तमु) हरुको मौलिक पर्व ल्होछारलाई विविध कार्यक्रमका साथ मनाएको छ ।

गत ३० डिसेम्बर २०१८ आइतबारका दिन रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा ल्होछार मनाइएको हो । तमुधिं यूकेले तमुहरुको मौलिक पर्व ल्होछारलाई स्थापनाकालदेखि नै मनाउँदै आएको छ । कार्यक्रमलाई गण्डकी प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री किरण गुरुङ, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ल्होछारका संयोजक एवं तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजङ्ग गुरुङले दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
गुरुङ, नेपाली र अंग्रेजी गरी ३ वटा राष्ट्रिय गानबाट शुभारम्भ भएको कार्यक्रममा गण्डकी प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रमुख अतिथिको आशनबाट ल्होछारको शुभकामना दिँदै निम्ताका लागि धन्यवाद दिए । उनले नेपालमा स्थायी सरकार र लोडसेडिङ्ग मुक्त भएकोले विकास निर्माणले गति लिइरहेको बताउँदै बेलायतमा सिकेको सीप, क्षमता र कमाएको धनलाई नेपालमा लगानी गर्न अनुरोध गर्दै सबैलाई नेपालमा निम्तो दिए । विशेष अतिथि एवं नेपाली राजदूत डा. सुवेदीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा ल्होछारको शुभकामना दिएका थिए । त्यस्तै, नेपालबाट आएका धर्मगुरु खेम्पो सन्तोष गुरुङले ल्होछार पर्वको महिमा बारेमा छोटो जानकारी दिए । ल्होछार धार्मिक आस्थासँग पनि जोडिएको मौलिक पर्व हो । ल्हो (बर्ग) फेरिने दिन तमुहरुले आफ्नो परम्परानुसार धार्मिक पूजापाठ गरी धर्मगुरुसँग आशीर्वाद लिने प्रचलन छ । सोही क्रममा गत ३० डिसेम्बर २०१८ का दिन आइतबार अर्थात् २०७५ पुस १५ का दिन बिहान १०:३० देखि दिनभर सोही रेडिङ्गकै रिभरमेड लिजर सेन्टरमा नेपालबाट आएका खेम्पो गुरुङलगायत धर्मगुरुले पूजापाठ गरेका थिए ।
कार्यक्रममा तमुधिं यूकेको गत १७ नोभेम्बर २०१८ का दिन तमुधिं भवन मिचेटमा सम्पन्न साधारणसभाबाट दसौं कार्यसमितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका नन्दजङ्ग गुरुङलाई आगामी दुई वर्षका लागि नेतृत्व हस्तान्तरण गरिएको थियो । नवौं कार्यसमितिका अध्यक्ष ज्ञाम गुरुङलाई मातृशोक परेको कारण उनी नेपाल गएकाले उनको अनुपस्थितिमा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले उनलाई नेतृत्व हस्तान्तरण गरेका थिए । उनलाई तमु परम्परानुसार फेटा लगाई बधाई दिँदै जिम्मेवारी प्रदान गरिएको थियो । सो अवसरमा नवौं कार्यसमितिका अध्यक्ष ज्ञाम गुरुङ र दसौं कार्यसमितिका अध्यक्ष नन्दजङ्ग गुरुङको बारेमा तयार पारिएको छोटो भिडियोसमेत प्रस्तुत् गरिएको थियो । त्यस्तै, नवौं कार्यसमिति अध्यक्ष ज्ञाम गुरुङले पोखराबाट पठाएको भिडियो सन्देशसमेत प्रस्तुत् गरिएको थियो ।

तमुधिं यूकेको वार्षिक मुखपत्रको रुपमा गत १६ वर्षदेखि ल्होछारकै दिन प्रकाशन गरिँदै आएको ‘फ्रेंसी’ को १६ औं अंक र वरिष्ठ पत्रकार तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङद्वारा तमुधिं यूकेका पूर्व अध्यक्षहरुको बारेमा लिखिएको ‘निरन्तर नेतृत्व’ नामक पुस्तक प्रमुख अतिथि मन्त्री गुरुङ, विशेष अतिथि डा. सुवेदी, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वर्तमान अध्यक्ष नन्दजङ्ग गुरुङ र फ्रेंसी प्रधान सम्पादक रोहित गुरुङलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।
युवाहरुको समेत बाक्लो उपस्थिति रहेको ल्होछार साँझमा अतिथिहरुको मन्तव्यपश्चात् रिभरमेड लिजर सेन्टर सांगीतिक माहोलमा परिणत भएको थियो । कार्यक्रममा नेपालबाट आएका चर्चित गायक टंक बुढाथोकी, गोविन गुरुङ, रुवी गौली र आँचल लामालगायत कलाकारले विभिन्न चर्चित गीतहरु गाएका थिए । त्यस्तै, रेडिङ तमु समाज, तमुधिं लण्डन ईकाई र साउथ ईष्ट रिजनल तमुधिं लण्डनका कलाकारहरुले समेत विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेका थिए ।
युवापुस्ताको सँगसँगै जेष्ठ नागरिकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा तमु विद्यार्थीहरुमध्ये हालै जिसीएसई परीक्षामा ८ वटा ‘ए स्टार’, दुईवटा ‘ए’ र एउटा ‘बि’ ल्याउन सफल मलिना गुरुङ र ए लेभल परीक्षामा ५ वटा ‘ए स्टार’ ल्याउन सफल सुजल गुरुङलाई डा. हर्क गुरुङ अवार्ड प्रदान गरिएको थियो । उनीहरुलाई ५००/५०० पाउन्डको चेक, शिल्ड र प्रमाणपत्रसहित खादा लगाई सम्मान गरिएको थियो ।
त्यस्तै, ६९ वर्षको उमेरमा कानुन विषयमा मास्टर्स डिग्री हासिल गरेका मैतलाल गुरुङ, हालै विद्यावारिधी गरेकी डा. साराप्रभा गुरुङ र डा. ईश्वरी (करिश्मा) गुरुङलाई सम्मान गरिएको थियो । सो अवसरमा डा. हर्क गुरुङ अवार्डको बारेमा ५ मिनेटको भिडियो प्रस्तुत् गरिएको थियो । सो डा. हर्क गुरुङ अवार्ड कार्यक्रमलाई सल्लाहकार हरिकुमार (काजी) गुरुङले सञ्चालन गरेका थिए । सो अवसरमा तमुधिं यूकेलाई महत्वपूर्ण समय र योगदान दिँदै आएका विभिन्न इकाईका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै, तमुधिं यूकेको मुखपत्र फ्रेंसी समूह र कलाकारलाई समेत मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं पूर्वसभासद नगेन्द्रकुमार कुमाल, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष शेर सुनार, पूनम गुरुङ, उपाध्यक्ष सुशीला राई, नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, बौद्धधर्मगुरुहरु, तमूधिं यूकेको आजीवन सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार, इकाई अध्यक्ष र सञ्चारकर्मीहरुको विशेष उपस्थिति रहेको थियो ।
तमुधिं यूकेका नवौं कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एवं वर्तमान दसौं कार्यसमितिका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षता तथा संयोजकत्वमा सम्पन्न कार्यक्रममा सपन इन्टरटेन्टमेंनका सपनकुमार राईले साउण्ड सिस्टम व्यवस्थापन, मिलन तमू तथा शंकर गुरुङले फोटोग्राफी र सविन्द्रकुमार गुरुङ तथा कृष्णदेव गुरुङले भिडियोग्राफी, सचिव तुलाराम गुरुङ, कोषाध्यक्ष, दिपक गुरुङ र सहकोषाध्यक्ष कुमार गुरुङले पुरस्कार वितरण व्यवस्थापन र सांस्कृतिक सचिव कृष्ण गुरुङले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेका थिए ।
बेलायतमा रहेका तमूहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा तमुधिं आमा समूहले प्रवेशद्वारमा टिकट व्यवस्थापन गरेका थिए भने फ्रेंसी प्रधान सम्पादक रोहित गुरुङले फ्रेंसी वितरण गरेका थिए । औपचारिक कार्यक्रमपश्चात् सुरु भएको विविध सांस्कृतिक कार्यक्रमलाई सूर्य गुरुङ, योगेश गुरुङ र शशी गुरुङले संयुक्त रुपमा सञ्चालन गरेका थिए । तमुधिं यूकेका सल्लाहकार क्या. देव घलेले हेल्थ एण्ड सेप्mटी र संयोजक नन्दजङ्ग गुरुङले स्वागत मन्तव्य दिएको कार्यक्रमलाई महासचिव कृष्ण गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।






