योग फगामी – पोखरा।
पूर्वमन्त्री उत्तमबहादुर पुन मगरको प्रमुख आतिथ्यमा ‘पुन मगर द्रष्टा र दृष्टिकोण’ विषयक विशेष अन्तरक्रिया तथा विमर्श कार्यक्रम हिजो २०८३ भदौ २८ गते आइतबार पाल्पा हाउस, न्युरोड पोखरामा सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा पुन मगरहरुको भाषा, साहित्य, कला, संस्कृति, दर्शन, इतिहाँस, राजनैतिक, शैक्षिक, आर्थिक, सामाजिक बिषयमा व्यापक छलफल र बिमर्श भएको छ।
कार्यक्रमको उद्घाटन र शोक तथा श्रद्धाञ्जलि:
मध्यान्न १२ बजे प्रमुख अतिथि, अध्यक्ष तथा विशेष अतिथिहरूबाट संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमको सुरुमा नेपालको राष्ट्रिय धुन र मगर स्वागत गीत गाइएको थियो। त्यसपछि हालसालै पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका म्याग्दीका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा एमबिएई (निम्स दाइ) लगायत अन्य पर्वतारोहीहरू र रसुवालगायत विभिन्न क्षेत्रमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। साथै, सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको थियो।
कार्यक्रममा आमन्त्रित सम्पूर्ण अतिथिहरूलाई स्वयम्सेवकहरूमार्फत पुन मगर लोगो अङ्कित रातो–सेतो खादा लगाएर स्वागत तथा सम्मान गरिएको थियो भने चियापानको समेत व्यवस्था गरिएको थियो।
विषयगत प्रस्तुति तथा वक्ताहरू:
कार्यक्रममा विभिन्न १२ वटा महत्त्वपूर्ण विषयहरूमा वक्ताहरूले आफ्ना प्रत्यक्ष अनुभव, ज्ञान र दृष्टिकोण प्रस्तुत गरेका थिए:
१. हेमबहादुर पुन मगरको जीवनी र योगदान: सङ्गीता पुन मगर (पूर्व नेपाल मगर संघ कास्की जिल्ला अध्यक्ष, वर्तमान हेमबहादुर पुन मगर स्मृति समिति अध्यक्ष)
२. पुन मगर समाज रघुगङ्गाको गठन र गतिविधि: टीका पुर्जा मगर (पूर्व शिक्षिका, वर्तमान पुन मगर समाज रघुगङ्गा गाउँपालिका अध्यक्ष)
३. पुन मगर समाज अन्नपूर्ण र मगर खाम भाषा: टकबहादुर पुन मगर (पूर्व शिक्षक, वर्तमान पुन मगर समाज अन्नपूर्ण गाउँपालिका अध्यक्ष)
४. नेपाल पुन मगर समाजको कार्यक्रम र भावी कार्ययोजना: खेमबहादुर पुन मगर (वर्तमान अध्यक्ष, नेपाल पुन मगर समाज केन्द्रीय समिति)
५. पुन मगरहरूले गाउने सोरठी र यसका हाँगाहरू: टेकबहादुर पुन मगर (पूर्व शिक्षक, लेखक/साहित्यकार, सांस्कृतिक विभाग अध्यक्ष, नेपाल पुन मगर समाज)
६. पुन मगर समुदाय र राजनीति: भीमकुमारी पुन मगर (स्थानीय सरकार जनप्रतिनिधि)
७. बेलायतमा आप्रवासी नेपालीहरूको अवस्था: योगकुमार फगामी मगर (पूर्व मोना/एनआरएन युके अध्यक्ष)
८. पुन मगर समुदायमा शिक्षा र सरकारी सेवाको अवस्था: हेमकुमारी पुन मगर (पूर्व शिक्षिका, वर्तमान सचिव, नेपाल पुन मगर समाज केन्द्रीय समिति)
९. पुन मगर र खाम भाषा: कर्णबहादुर बुढा मगर (अठार मगर खाम भाषाविद्)
१०. पुन मगर र लाहुरे परम्परा: कृष्ण पुन मगर (पूर्व गोर्खा इन्डियन आर्मी)
११. पुन मगर र पुन समाजबीचको वास्तविकता: हर्कबहादुर पुन मगर (संस्थापक अध्यक्ष, पुन मगर समाज नेपाल केन्द्रीय समिति)
१२. साहित्य र मिडिया क्षेत्रमा पुन मगर: मेजन पुन (फगामी) मगर (साहित्यकार, चलचित्रकर्मी, सञ्चारकर्मी तथा नेपाल पुन मगर समाज खोजमूलक समिति केन्द्रीय अध्यक्ष)
सञ्चालन तथा समापन:
पुन मगर सञ्चार तथा उजागर समितिका वरिष्ठ उपाध्यक्ष चित्र जुग्जालीले सहज ढङ्गले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित वक्ताहरूलाई प्रमुख अतिथिको बाहुलीबाट प्रमाणपत्र र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। सभाध्यक्ष देव चोखाङ्गीले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै बेलुका अन्दाजी ७:३० बजे कार्यक्रमको समापन गर्नुभएको थियो।कार्यक्रमका आयोजक देव चोखाङ्गीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमले पुन मगर समुदायको इतिहास, संस्कृति, भाषा, शिक्षा र वर्तमान अवस्थाबारे गहिरो बहस तथा समीक्षा गरेको छ।
निष्कर्ष तथा सुधारका सुझावहरू:
यस्ता कार्यक्रमहरू समयसापेक्ष, अति सान्दर्भिक र ज्ञानवर्दक रहेको महसुस गर्दै यसले समाज, संघसंस्था र व्यक्तिविशेषलाई नयाँ हौसला प्रदान गरेको सहभागीहरूले बताएका छन्। भविष्यमा आयोजना गरिने यस्ता कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी बनाउन केही व्यावहारिक सुझावसमेत औंल्याइएको छ:
- कार्यक्रम तालिकामा तोकिएको समयमै कार्यक्रमको सुरुवात गर्ने।
- आसन ग्रहणको क्रममा समय अनावश्यक रूपमा खर्च न गर्ने।
- औपचारिक सम्बोधनलाई छोटो र मितव्ययी बनाउने।
- युवाहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिने।
- प्रत्येक कार्यक्रममा विषयगत विज्ञताका आधारमा कम्तीमा एक महिला र एक पुरुष युवा वक्तालाई अनिवार्य रूपमा समावेश गर्ने।







