म्याग्दी/लन्डन – गण्डकी प्रदेश, पोखरा, कास्कीस्थित मुख्य न्यायाधिवक्ताको कार्यालयले गैरआवासीय नेपाली संघ (NRNA) यूकेका पूर्वअध्यक्ष योगकुमार फगामी मगरलाई ‘सुशासनका लागि संविधान संशोधन’ अन्तरसंवाद कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको छ।
उक्त अन्तरसंवाद कार्यक्रम आगामी असोज ६ गते, २०८३ बिहान ११:०० बजे जिल्ला समन्वय समिति सभाहल, म्याग्दीमा सञ्चालन हुने भएको छ। कार्यक्रममा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुनेछ।
कार्यक्रममा सहभागिता जनाउनुअघि पूर्वअध्यक्ष फगामीले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबाट थप सल्लाह र सुझावको अपेक्षा गर्नुभएको छ। विशेष गरी प्रवासमा रहेका नेपालीहरूको समस्या, चुनौती र अपेक्षाहरूलाई मध्यनजर गर्दै उहाँले आ-आफ्नो व्यक्तिगत वा संस्थागत रूपमा लिखित सल्लाह र सुझाव संकलन गरिरहनुभएको छ।
तसर्थ, यसरी संकलन गरिने सुझावहरू समयमै प्रस्तुत गर्नका लागि आगामी २०८३ साल असोज ३ गते, शनिबार नेपाली समय राति १०:०० बजेभित्र आफ्ना सुझावहरू पठाइदिनुहुन उहाँले सबैमा हार्दिक अनुरोध गर्नुभएको छ। निर्धारित समयभित्र सुझाव उपलब्ध गराएर सहयोग गरिदिनुहुने सबैप्रति उहाँले आभारसमेत व्यक्त गर्नुभएको छ।






