काठमाडौं । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका बाढीपीडित परिवारलाई नेपाल तामाङ घेदुङ इजरायलको सहयोगमा राहत सामग्री वितरण गरिएको छ ।
नेपाल तामाङ घेदुङ संघीय समितिका उपमहासचिवद्वय बिलाम मोक्तान र निर्मल तामाङ तथा विपद् संयोजक सचिव हिरालाल तामाङको नेतृत्वमा पुगेको टोलीले प्रभावित परिवारलाई ५० थान सिरक र ५० थान डसना वितरण गरेको हो ।
इजरायल घेदुङको सहयोगमा उपलब्ध गराइएको उक्त राहत सामग्री आमाछोदिङ्मो गाउँपालिकाको रसुवा बाढी पीडित परिवारलाई स्वयम्भू नुरु गुम्बामा पुगेर प्रत्यक्ष रूपमा राहत वितरण गरेको हो । ५० जना प्रभावित घर परिवारलाई एक-एक थान सिरक र डसना वितरण गरेको हो ।
राहत वितरणका क्रममा सहभागी घेदुङ नेतृत्व बाढीबाट प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था र तत्कालका आवश्यकताबारे जानकारीसमेत लिएको थियो ।
राहत वितरणमा विभाग प्रमुख शान्ति दोङ, संघीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज साङ्लाल तामाङ, रसुवा जिल्ला अध्यक्ष सङ तेम्बालगायतको सहभागिता रहेको थियो ।
विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले इजरायल घेदुङले राहत बापत सामग्री उपलब्ध गराइएको र स्थानीय अवस्थालाई बुझेर प्रत्यक्ष रूपमा पीडित परिवारसम्म पुर्याइएको उपमहासचिव विलाम मोक्तानले जनाएको छ ।







