एटा संवाददाता
अल्डरसट । म्याग्दी अर्गनाईजेशन (मोना) यूकेको छैटौं महाधिवेशन २०१८ डिसेम्बर २९ शनिबारका दिन अल्डरसटको द प्यालेसमा सम्पन्न भएको छ ।
‘हाम्रो म्याग्दी, हाम्रो गौरव’ भन्ने भावनाले प्रेरित बेलायतवासी म्याग्देलीहरुको साझा संगठन म्याग्दी प्रवासी संघ च्यारिटीमा दर्ता गर्दा प्राविधिक कारणले म्याग्दी अर्गनाईजेशन हुन गएको हो । म्याग्दीका हरेक गाउँमा बेलायतबाट आर्थिक सहयोग नपुगेको सायद गाउँनै छैन । साथै, म्याग्दी तीन क्षेत्र दरबाङ्ग, बेनी र दानामा बेलायतबाट मोनाले पठाएको तीनवटा एम्बुलेन्सले संस्थालाई थप चर्चामा राखिराखेको छ ।
बिहान ११ बाट साँझ ९ बजेसम्म भएको अधिवेशनलाई म्याग्दीकै भूपू सांसद नरबहादुर पुनले उद्घाटन गर्दै गौरवमय संस्थाको अधिवेशनले संस्थाको भविष्य झन् राम्रो हुने विश्वास व्यक्त गरे । अर्का अतिथि एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले सफल अधिवेशनको कामना गर्दै संस्थाको महत्व र विकासका लागि अन्तर्राष्ट्रिय मोनामा पनि आबद्ध हुनु पर्ने बताए । जेष्ठ नागरिक लालबहादुर रानालाई सम्मा स्वरुप मञ्चमा राखिएको थियो ।
संस्थाका अध्यक्ष कमलबहादुर पुर्जाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा महासचिव कुमार फगामीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा भूपू अध्यक्षहरु दलमान पुन, ले. रेशम शेरचनलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनले मोनाका पूर्ववरिष्ठ उपाध्यक्ष एवं विमगाउँ समाज यूकेका पूर्वअध्यक्षसमेत रहेका समाजसेवी दलबहादुर जुग्जालीको अध्यक्षतामा आगामी ३ वर्षका लागि २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा कुमार फगामी (वेग), उपाध्यक्षमा होमबहादुर रोका (भकिम्ली), महिला उपाध्यक्षमा लिला पुन (दोवा), महासचिवमा लालबहादुर पुन (भकिम्ली), सहसचिवमा विष्णु भण्डारी (राखु), त्यस्तै कोषाध्यक्षमा पदम गर्बुजा (मराङ्ग) र सहकोषाध्यक्षमा निलबहादुर पुर्जा (औल) निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा गंगाप्रसाद पुर्जा (वेग), देउजित तिलिजा (राम्चे), भक्त रोका (वरंजा), विल पुर्जा (खिवाङ्ग), मन्दिप जुग्जाली (विम) बागवीर पुन (चिउरीबोट), टेक बुढाथोकी (किमचौर), नुनु थापा (वाखेत), चित्र बुढा (देविस्थान), टकलाल पुन
(देवीस्थान) र महिला सदस्यमा तारा पुर्जा (वेग), विमला गर्बुजा (दग्नाम) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, म्याग्दीका एक नगरपालिका र ५ वटा गाउँपालिकाबाट एक/एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरेअनुसार किसान जिसी (वेनी नगरपालिका), साम गुरुङ (मालिका गाउँपालिका), तिलक पुन (अन्नपूर्ण), तारा रोका (धौलागिरि गाउँपालिका), राम पुन (रघुगंगा गाउँपालिका) र तेजेन्द्र रोका (मंगला गाउँपालिका) प्रतिनिधि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
म्याग्देलीहरुको बाक्लो उपस्थिति रहेको अधिवेशनको पहिलो सत्रमा कोषाध्यक्ष होम रोकाले आर्थिक र महासचिव कुमार फगामीले प्रगति प्रतिवेदन प्रस्तुत् गरेका थिए । सो अवसरमा अध्यक्ष कमल पुर्जाले संस्था दर्ता गर्दा परेको समस्याबारे जानकारी गराउँदै मोना भन्ने शब्द अरुले नै दर्ता गरिसकेको हुँदा च्यारिटी कमिसनमा संस्थाको नाम म्याग्दी अर्गनाईजेशन राखि दर्ता गर्नु परेको जानकारी गराए ।
अधिवेशनमा विधान मस्यौदा समितिका अमर मल्ल र अर्जुन तिलिजाले बाझिएको विधानबारे प्रस्ट पार्दै संशोधनका लागि प्रस्तुत् गरेका थिए । विधान मस्यौदामाथि व्यापक रुपमा छलफल भएको थियो । छलफलले विधानबाट संरक्षक पद हटाउने र कार्यसमितिको कार्यकाल ३ वर्ष नै कायम गर्ने निर्णय गरेको छ ।
अधिवेशनको तेस्रो सत्रमा निर्वाचन समितिका उमेश राना, रत्न शाही र लिलामान शेरपुञ्जाले लामो छलफल र बहसपछि सबै पक्षको सहमतिमा सर्वसम्मत छैटौं कार्यसमितिको नामावली घोषणा गरेका थिए ।
यसै वर्षमा अन्तर्राष्ट्रिय म्याग्दी प्रवासी नेपाली संघको तेस्रो अधिवेशन हुने भएकोले पनि बेलायतको अधिवेशनले विशेष उत्सुकता लिएको पर्यवेक्षकहरुको भनाइ थियो । हाल मोना यूकेका पूर्वअध्यक्ष योगकुमार फगामी मोना आईसीसीको उपाध्यक्षको भूमिकामा रहेका छन् ।
कार्यक्रममा निर्वाचन संयोजक उमेश राना तथा रत्न शाहीले सबै पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए भने निर्वाचित पदाधिकारीहरुबाट अध्यक्ष र महासचिवले धन्यवाद मन्तव्य दिएका थिए ।
स्मरणीय छ, मोना संस्थाले नेपाली नयाँ वर्ष शुभकामना साँझ, च्यारिटी कार्यक्रम, भलिबल, बास्केटवल प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ । हाल संस्था च्यारिटीमा दर्ता भएपछि नयाँ कार्यसमितिलाई थप जिम्मेवारी थपिएको छ ।






