लन्डन । राष्ट्रिय दिवस तथा संविधान दिवस २०८३ को अवसरमा बेलायतस्थित नेपाली राजदूतावासले विशेष झण्डोत्तोलन कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । दूतावास परिसरमा शनिबार बिहान आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय दिवस तथा संविधान दिवस मनाइएको हो ।
कार्यक्रममा नेपालको राष्ट्रिय झण्डाप्रति सम्मान प्रकट गर्दै नेपालको संविधान र त्यसले अंगीकार गरेका लोकतान्त्रिक मूल्य, मान्यता तथा नागरिक अधिकारको स्मरण गरिएको थियो । कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, दूतावासका कर्मचारीको उपस्थिति थियो । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नागरिकका मौलिक हक, समानता, समावेशिता, सामाजिक न्याय तथा लोकतान्त्रिक शासन व्यवस्थालाई संवैधानिक रूपमा सुनिश्चित गरेको छ ।
संविधान दिवस नेपाली जनताको लामो संघर्ष र लोकतान्त्रिक उपलब्धिको स्मरण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा मनाइँदै आएको छ। दूतावासले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा बेलायत, गणतन्त्र आयरल्यान्ड र केम्यान आइल्यान्ड्समा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकमा हार्दिक शुभकामना व्यक्त गरेको छ । दूतावासले सबै नेपालीको शान्ति, समृद्धि, सुख, खुसी तथा सुस्वास्थ्यको कामना गर्दै विदेशमा रहे पनि नेपाली भाषा, संस्कृति, परम्परा र राष्ट्रिय भावनासँग जोडिएर नेपालको पहिचानलाई थप बलियो बनाउन सबैमा शुभेच्छा व्यक्त गरेको जनाएको छ ।
दूतावास परिसरमा सम्पन्न झण्डोत्तोलन कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायबीच राष्ट्रिय एकता, देशप्रतिको आत्मीयता र संविधानप्रतिको सम्मानलाई थप अभिव्यक्त गरेको छ । नेपालमा २०७२ असोज ३ मा संविधान जारी भएको दिनको रुपमा नेपाल लगायत विभिन्न देशमा संविधान दिवस मनाइएको छ ।






