बेलायत, १९ सेप्टेम्बर २०२६ – ६ गोर्खा राइफल्सको वार्षिक भेटघाट कार्यक्रमको अवसर पारेर रेजिमेन्टल एसोसियसनको नयाँ अध्यक्षमा क्याप्टेन ग्रयाण्ट मनोनित हुनुभएको छ। उक्त वार्षिक भेटघाट कार्यक्रम बेलायतको फार्नबोरोस्थित स्यामुएल कोडी सपोर्ट कलेजमा भव्य रूपमा सम्पन्न भएको थियो।
कार्यक्रमका संयोजक मेजर खुशिमान गुरुङले लामो समयसम्म रेजिमेन्टल एसोसियसनको कुशल नेतृत्व गर्दै कार्यभार सम्हाल्नुभएका ब्रिगिडियर एन्डरसनलाई सम्मानस्वरूप ‘कोथिमार खुकुरी’ र एक बोतल ह्विस्की उपहारस्वरूप हस्तान्तरण गर्नुभएको थियो। उक्त कोथिमार खुकुरी ६ गोर्खा राइफल्सको एडमिन टिमको आर्थिक सहयोगमा खरिद गरिएको थियो भने ह्विस्की कर्पोरेल चोक गुरुङले सौजन्य गर्नुभएको हो।
कार्यक्रमको अध्यक्षता संयोजक मेजर खुशिमान गुरुङले गर्नुभएको थियो भने उपसंयोजक अमृत गुरुङले स्वागत मन्तव्य र प्रकाश गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
यस वर्षको भेटघाट कार्यक्रममा चर्चित मोडल तथा डान्सर सरिस्मा राम्जाली मगर र भ्वाइस अफ नेपाल सिजन ७ का बिजयी तथा लोकप्रिय गायिका नीता थापा मगरले ६ गोर्खा राइफल्सका सदस्यहरू तथा उनीहरूका परिवारलाई आफ्नो साङ्गीतिक तथा सांगीतिक-नृत्य प्रस्तुति मार्फत भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो।









