लन्डन । बेलायत निवासी प्रयासना गुरुङले ‘मिस युनिभर्स नेपाल-२०२६’ को ताज पहिरिएकी छन् ।
काठमाडौंमा शनिबार आयोजित ग्रान्ड फिनालेबाट उनी मिस युनिभर्स विजेता बनेकी हुन् । २४ वर्षीया प्रयासना महिला सशक्तिकरणकी अभियन्ता हुन् । उनी महिला सशक्तिकरणकै लागि यो कार्यक्रममा सहभागी भएको बताइन् । गुरुङले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलाहरूलाई मेक-अप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरतार उद्यमशीलता जस्ता जीवनउपयोगी सीपहरूमा निःशुल्क अनलाइन कार्यशालाहरूमार्फत सशक्त बनाउने अभियान चलाइरहेकी छन् ।
त्यसैगरी मिस अर्थ नेपाल-०२६ को ताज भने झापाकी बिनिता ओलीले पहिरिएकी छन् । देशभरबाट सहभागी ११० जनामध्ये अन्तिम १४ जना प्रतिस्पर्धी फिनालेमा सहभागी थिए । बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मा मुख्य निर्णायक थिए । मिस अर्थ विजेता २७ वर्षीया ओली कुवेत एयरवेजमा केही वर्ष अन्तर्राष्ट्रिय क्याबिन क्रुको रूपमा काम गरेर नेपाल फर्किएकी हुन् । मनोविज्ञान द्वितीय वर्ष अध्ययन गरिरहेकी विनिताको थेरापिस्ट र सामाजिक अभियन्ता बन्ने चाहना छ ।
युनिभर्सल ओमन नेपाल भने संगीता पुरी घोषित भइन् । उनी मिस युनिभर्स प्रतियोगिता व्यवस्थापन गर्दै आएकी ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक हुन् ।
कार्यक्रममा छनोट भएका मिस युनिभर्स नेपालले पोर्तो रिकोमा हुने मिस युनिभर्स र मिस अर्थ नेपालले फिलिपिन्सको मनिलामा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।






