लन्डन । बेलायतको रेडिङमा हरेक वर्ष आयोजना हुँदै आएको रेडिङ कपको १९औँ संस्करण आगामी अक्टोबर १० तारिखमा आयोजना हुने भएको छ। ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आयोजनामा रेडिङस्थित पाल्मर पार्कमा हुने प्रतियोगितामा बेलायतभरका नेपाली समुदायका फुटबल तथा भलिबल टोली सहभागी हुनेछन्।
खेलकुद प्रतियोगितासँगै कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति, नेपाली खाना तथा सामग्रीका स्टल, व्यापार तथा सेवाका स्टल र निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। मौलिक नौमती बाजाको विशेष प्रस्तुतिसहित कार्यक्रमलाई पारिवारिक उत्सवका रूपमा मनाउने तयारी गरिएको छ।
ग्रेटर रेडिङ नेपाली कम्युनिटीले आइतबार बिहान पत्रकार सम्मेलन गरी १९औँ रेडिङ कपको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। आयोजकले रेडिङ तथा आसपासका क्षेत्रसहित बेलायतभर रहेका नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

१९औँ रेडिङ कपका संयोजक मीनकुमार गुरुङका अनुसार यसपटक फुटबलतर्फ युवा, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। भलिबलतर्फ भने भेटेरान विधामा प्रतियोगिता सञ्चालन गरिनेछ।
फुटबलको युवा विधाका विजेताले २ हजार २६ पाउण्ड र उपविजेताले १ हजार २६ पाउण्ड नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भेटेरानतर्फ विजेतालाई १ हजार २६ पाउण्ड र उपविजेतालाई ५ सय २६ पाउण्ड तथा सुपर भेटेरानतर्फ विजेतालाई ५ सय २६ पाउण्ड र उपविजेतालाई ३ सय २६ पाउण्ड नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
भलिबल प्रतियोगिताका विजेताले १ हजार २६ पाउण्ड र उपविजेताले ६ सय २६ पाउण्ड नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीलाई आगामी अक्टोबर ६ तारिख सोमबारभित्र नाम दर्ता गराउन आयोजकले आग्रह गरेको छ।
प्रतियोगितास्थलमा विभिन्न नेपाली खाना तथा सामग्रीका साथै व्यापार र सेवाका स्टलहरू राखिनेछन्। सहभागी तथा दर्शकका लागि निःशुल्क हेल्थ क्याम्पको व्यवस्था गरिने आयोजकले जनाएको छ। यसका साथै मौलिक नौमती बाजासहित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ।
पत्रकार सम्मेलनमा कम्युनिटीका पूर्वअध्यक्ष महेश गुरुङले सन् २००६ मा आफ्नै संयोजनमा रेडिङ कप सुरु गर्दाको अवस्थाबारे जानकारी गराउँदै प्रतियोगिताको सुरुआती यात्रालाई स्मरण गरे।
कम्युनिटीका अध्यक्ष भीमसेन खड्काले रेडिङ कप फुटबल र भलिबलको प्रतियोगितामा मात्र सीमित नभई नेपाली समुदायबीचको एकता, सद्भाव र आपसी सम्बन्धलाई थप बलियो बनाउने अवसर भएको बताए।
यसपटक दशैंको केही दिनअघि कार्यक्रम आयोजना हुन लागेकाले यसलाई उत्सवका रूपमा उल्लासमय ढंगले मनाउने तयारी गरिएको अध्यक्ष खड्काले बताए। उनले बेलायतवासी नेपाली तथा समग्र नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे।
१९औँ रेडिङ कपका आर्थिक संयोजक तथा संस्थाका उपाध्यक्ष बालकृष्ण दाहालले कार्यक्रमको आर्थिक पक्ष तथा कोष संकलन अभियानबारे जानकारी गराए।
कार्यक्रम सञ्चालन गर्दै कम्युनिटीका सचिव सुवास चौलागाईंले खेलकुदसँगै नेपाली खाना, सामग्री तथा सेवाका स्टल, हेल्थ क्याम्प र मनोरञ्जनात्मक प्रस्तुतिसहितको कार्यक्रमलाई ‘फेमिली डे आउट’ का रूपमा सहभागी भएर मनाउन आग्रह गरे।
कम्युनिटीका सल्लाहकार सुरेश थापाले आफू अपरेसन म्यानेजर रहेको ‘असम बुक’बाट कार्यक्रमका लागि ४ हजार पाउण्डको मुख्य प्रायोजन सम्झौता भएको जानकारी दिए। आगामी वर्षहरूमा प्रायोजनलाई थप विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।
भलिबल प्रतियोगिता संयोजक प्रकाश सापकोटाले प्रतियोगितामा सहभागी हुने टोली तथा खेल सञ्चालनको तयारीबारे जानकारी दिए।
पत्रकार सम्मेलनमा कम्युनिटीका पूर्वअध्यक्षहरू, सल्लाहकारहरू तथा कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति थियो।









