लन्डन । मेडवे काउन्सिलकी काउन्सिलर नीना गुरुङले महिलाहरु राजनीतिमा रित्तै नआउने बताएकी छन् ।
बेलायतको सत्तारूढ लेबर पार्टीको हालै सम्पन्न वार्षिक सम्मेलनमा महिलाको राजनीतिक सहभागिता र विशेषगरी अल्पसंख्यक समुदायका महिलाले राजनीतिमा भोग्नुपरेका चुनौतीबारे बोल्दै उनले यस्तो बताएकी हुन्। ‘महिलाहरू राजनीतिमा रित्तै हात आउँदैनन्, हामीसँग समुदायले भोगेका यथार्थको गहिरो बुझाइ, समानुभूति, दृढता, लचकता र सहकार्य गर्ने क्षमता हुन्छ।’
लिभरपुलमा आयोजित सम्मेलनमा पहिलोपटक वक्ताका रूपमा सम्बोधन गर्दै गुरुङले राजनीतिमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक रहेको बताइन्। उनले आफू जो कोक्स महिला नेतृत्व कार्यक्रमको उत्पादन भएको उल्लेख गर्दै अल्पसंख्यक समुदायका महिलाका लागि राजनीतिक यात्रा अझ चुनौतीपूर्ण हुने धारणा राखिन्।
‘प्रजातिवाद, पितृसत्ता, सीमित सहयोग सञ्जाल र कम प्रतिनिधित्वका कारण अल्पसंख्यक समुदायका महिलाहरूले थप जटिल चुनौतीहरूको सामना गर्नुपर्छ,’ उनले भनिन्, ‘तर, मेडवे लेबर पार्टीको नेतृत्व र सहकर्मीहरूले दिएको साथ र हौसलाबिना म आज यहाँ उभिन सक्ने थिइनँ।’
गोर्खा सैनिककी छोरीका रूपमा आफ्नो पृष्ठभूमि उल्लेख गर्दै उनले आफू गोर्खा तथा नेपाली समुदायबाट लेबर पार्टीमा पहिलो महिला सदस्य भएको बताइन्। ‘म एक गोर्खा सैनिककी छोरी, एक गर्विलो गोर्खाकी पत्नी, एक आमा, बालबालिकाको क्षेत्रमा समर्पित सामाजिक कार्यकर्ता र गोर्खा तथा नेपाली समुदायबाट पहिलो महिला सदस्य हुँ,’ उनले भनिन्।
लेबर पार्टीको इतिहासमा पहिलो नेपाली मूलकी महिला र गोर्खा समुदायबाट पहिलो डेलिगेट (प्रतिनिधि) का रूपमा सम्मेलनमा सहभागी गुरुङले पार्टीको ‘महिला र राजनीति’ विषयक संयुक्त प्रस्तावको समर्थनमा आफ्ना धारणा राखेकी थिइन्।
गोर्खा नेपाली कम्युनिटी मेडवेकी पूर्वअध्यक्ष तथा हाल सल्लाहकार रहेकी गुरुङले सम्मेलनमा उपस्थित हजारौँ प्रतिनिधिलाई ‘महिला र राजनीति’ सम्बन्धी प्रस्ताव एकमतले पारित गर्न आह्वानसमेत गरिन्।







