लन्डन । रसुवा क्षेत्रमा आएको हिमपहिरोपछि भोटेकोशी, त्रिशूली, बेत्रावती, टिमुरे र श्याफ्रुबेंसीलगायत क्षेत्रमा भएको बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि बुद्धिस्ट गुम्बा रेडिङ यूकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ।
गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुको अगुवाइमा गुम्बासँग आबद्ध दाताहरू, गुम्बा परिवार तथा स्वयं मूलगुरुको योगदानबाट संकलित ११ लाख रुपैयाँको चेक बुधबार १४ असोजमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरिएको हो । सहयोग रकम प्रतिनिधिसभा सांसद बिना गुरुङसमेतको उपस्थितिमा हस्तान्तरण गरिएको बुद्धिस्ट गुम्बा रेडिङ यूकेका महासचिव कमल गुरुङले जानकारी दिए ।
गत भदौ १० गते रसुवा क्षेत्रभन्दा माथि गएको हिमपहिरोपछि रसुवा, भोटेकोशी, त्रिशूली, बेत्रावती, टिमुरे, श्याफ्रुबेंसीलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीपहिरोले कैयौँ घरटहरा, पुल, खेतबारी तथा बस्तीमा क्षति पुर्याएको थियो।
विपद्को यस घडीमा विदेशमा रहेका नेपालीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा राहत तथा उद्धारका लागि सहयोग गर्दै आएका छन् । सोही अभियानअन्तर्गत बुद्धिस्ट गुम्बा रेडिङ यूकेले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो । गुम्बाले पुण्यदानमा सहभागी सम्पूर्ण दाता, गुम्बा परिवार तथा मूलगुरु खेन् रिम्पोछे शिर लामा गुरुप्रति आभार व्यक्त गरेको छ ।






