लन्डन (अल्डरसट) । नेपाली भिलेज यूकेले आगामी ५ डिसेम्बर २०२६ मा विन्टर गाला आयोजना गर्ने भएको छ ।
अल्डरसटस्थित द प्यालेसमा हुने कार्यक्रममा नेपाली भिलेज यूकेको परियोजनाबारे जानकारी तथा प्रगति विवरण प्रस्तुत गर्नुका साथै सेयर प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीलाई हल्का दिवा खाजासहित मुख्य भोजनको व्यवस्था गरिएको छ। त्यसपछि लाइभ संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभिओले जानकारी गराएका छन् ।
कार्यक्रम मध्याह्न १२ बजे आगमन तथा दर्ताबाट सुरु हुनेछ। दिउँसो २ बजेदेखि परियोजना प्रगति विवरण तथा प्रस्तुति, ४ बजेदेखि सेयर प्रमाणपत्र वितरण र साँझ मुख्य भोजनको कार्यक्रम राखिएको छ। साँझ ६ देखि ८:३० बजेसम्म लाइभ गीत तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २० पाउन्ड शुल्क तोकिएको छ। उक्त शुल्कमा हल्का दिवा भोजन र मुख्य भोजन समावेश गरिएको छ भने शुल्क कार्यक्रमस्थलमा नगद बुझाउन सकिने आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले आगामी २९ नोभेम्बरसम्म नेपाली भिलेज यूकेका च्याट समूहहरूमार्फत गर्नुपर्नेछ। सहभागीका लागि सुट, सारी वा स्मार्ट क्याजुअल पोसाक तोकिएको छ।
नेपाली भिलेज यूकेले कार्यक्रममार्फत नेपाली संस्कृति संरक्षण र समुदायबीचको एकता तथा सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ ।






