लन्डन । तमु समाज युकेले शनिबार, अक्टोबर ३, २०२६ का दिन लन्डनको ह्यारोस्थित आफ्नै सामुदायिक भवनमा १९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता” र “समुदायको सुदृढीकरणका लागि एकजुट” भन्ने मूल नारा बोकेको यो संस्था सन् २००७ मा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा स्थापना भएको थियो।
संस्थाका अध्यक्ष बिन्दु गुरुङको अध्यक्षतामा सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रममा ज्येष्ठ नागरिक प्रेम बहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए भने काउन्सिलर डा. जित रानाभाट विशेष अतिथि थिए। त्यस्तै अन्य अतिथिहरु नेपाली मूलका काउन्सिलरहरू, कमल गुरुङ, गौमाया गुरुङ रानाभाट, ज्ञान गुरुङ, गोरखा जिल्ला तमु घोटाने (घोण्डे) समाजका अध्यक्ष तकमान गुरुङ, एनआरएनयुकेका उपाध्यक्ष देब तामांग र बेलायतमा संचालित एभरेष्ट टाइम्सका सम्पादक डा. दुत पुन (चिम्खोले काईला) लाई आमन्त्रण गरिएको थियो।
कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसनग्रहण, दीप प्रज्वलन तथा नेपाल र बेलायतको राष्ट्रिय धुनबाट कार्यक्रमको थालनी गरिएको थियो। संस्थाका वरिष्ठ उपाध्यक्ष भीमबहादुर गुरुङले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए।
कार्यक्रममा महासचिव सुब घलेले स्थापनाकालदेखि हालसम्म संस्थाले खेलेको भूमिका र सञ्चालन गरिएका गतिविधिबारे विस्तृत प्रस्तुति दिएका थिए।
वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संस्थाले १९ वर्षको यात्रामा हासिल गरेका उपलब्धिहरूप्रति खुसी व्यक्त गरे। उनले आगामी दिनमा पनि तमु समाज युकेको एकता, सहकार्य र सामाजिक योगदान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे। त्यस्तै, पूर्वअध्यक्षहरूको तर्फवाट शिवशरण गुरुङले संस्थाका पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
कार्यक्रममा बेलायतका विभिन्न काउन्सिलका नेपाली मूलका काउन्सिलरहरू, जित रानाभाट, कमल गुरुङ, गौमाया गुरुङ रानाभाट, ज्ञान गुरुङ र प्रेम बहादुर गुरुङले तमु समाज युकेको भाषा, संस्कृति, पहिचान र सामाजिक सेवाको अभियान आगामी दिनमा अझ सुदृढ र प्रभावकारी बन्दै जाओस् भनी शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको दोस्रो चरणमा समाजमा अनुकरणीय योगदान पुर्याउने व्यक्तित्वहरू, उत्कृष्ट समाजसेवीहरू, शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका विद्यार्थीहरू, बेलायतका नेपाली मूलका काउन्सिलर, र संचारकर्मीहरूलाई सम्मान गरिएको थियो। साथै, संस्थाका नयाँ आजीवन सदस्यहरूलाई स्वागत गरिएको थियो।
कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा नेपालबाट आमन्त्रित चर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका शर्मिला गुरुङ, ‘कौराह किङ’ गायक दुर्गा गुरुङ र नवगायिक शर्मिला गुरुङ ‘सरु’ को बेजोड सांगीतिक प्रस्तुति रहेको थियो, जसले उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
तमु समाज युके अब २०औँ वर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले १९ वर्षको गौरवपूर्ण यात्रामा योगदान पुर्याउने संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान कार्यसमिति, सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै कायक्रम सफल पारिदिएकोमा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरिन्। उनले संस्थाको एकता, भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै समाजसेवा तथा परोपकारी कार्यलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सुब घलेले गरेका थिए भने १९ औं वार्षिकोत्सवमा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पुर्व अध्यक्षहरु शिवशरण गुरुङ, अर्जुन गुरुङ, शिव चन्द्र गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ लगायत संस्थाका सल्लाहकार र आजीवन सदस्यहरुको ठुलो उपस्थिति रहेको थियो।
















