लन्डन । तमु लम परिवार यूकेको पहिलो वार्षिक भेटघाट कार्यक्रम सहभागी हुन गायिका पवित्र गुरुङ नेपालबाट हिँडेकी छन् ।
यही १० अक्टोबर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा दिउँसो ४ बजेदेखि आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन गायिका गुरुङ आउन लागेकी हुन् । पवित्रा ७ अक्टोबर बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बेलायत प्रस्थान गरेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘यही अक्टोबर १० मा तमु लम परिवार युकेको आयोजनामा हुन गइरहेको प्रथम वार्षिक भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रमका लागि तमु लम परिवार युकेको निमन्त्रणामा आफ्नो साङ्गीतिक प्रस्तुति लिएर म आज युके आउँदै छु। यस विशेष कार्यक्रममा यहाँहरु सम्पूर्णलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक निमन्त्रणा गर्न चाहन्छु।’
उनीसँगै गायिका प्रिया गुरुङको पनि प्रस्तुति रहने छ । प्रिया सांगीतिक कार्यक्रमको सिलसिलामा बेलायतमै रहेकी छन् ।
कार्यक्रममा ‘बन्धुत्व, भातृत्व र एकता’ भन्ने नारासहित स्थापित तमु लम परिवार यूकेमा आबद्ध परिवारजनको सहभागिता रहने अध्यक्ष रामचन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, छोरी–चेली, ज्वाइँ तथा छोरा–छोरीलगायत सम्पूर्ण परिवारजनलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ। आयोजकले पारिवारिक भेटघाटलाई आत्मीय, भव्य र अविस्मरणीय बनाउन सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
तमु लम परिवार यूकेले पहिलो वार्षिक भेटघाटमार्फत बेलायतमा रहेका परिवारजनबीचको आपसी सम्बन्ध, भाइचारा र एकतालाई थप मजबुत बनाउने उद्देश्य लिएको जनाएको छ।






