चलचित्र ‘तारा’ १८ अक्टोबरमा बेलायतमा प्रदर्शन हुने, सहभागी हुन आयोजकको आग्रह

SHARE:

लन्डन । सिक्किमकी अभिनेत्री तथा निर्माता श्यामा श्री शेर्पा अभिनीत नेपाली भाषाको चलचित्र ‘तारा’ (द लस्ट स्टार) बेलायतमा प्रदर्शन हुने भएको छ। चलचित्र यही १८ अक्टोबर २०२६, आइतबार बिहान ११ बजे अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिने भएको हो।

चलचित्र प्रदर्शनका अवसरमा अभिनेत्री तथा निर्माता शेर्पाको विशेष उपस्थिति रहनेछ। सिक्किमबाट नेपाली भाषाको चलचित्र क्षेत्रमा सक्रिय शेर्पाले अभिनयसँगै निर्माणमा समेत योगदान पुर्‍याउँदै आएकी छन्। उनले ‘तारा–द लस्ट स्टार’, ‘सेप अफ मोमो’, ‘माइतीघर’, ‘प्रेसर कुकर’, ‘हो नि हजुर’ लगायत चलचित्रमा अभिनय गरेकी छन्। प्रदर्शनमा सहभागी हुन बेलायतस्थित नेपाली समुदाय तथा चलचित्रप्रेमीलाई आयोजकले आग्रह गरेको छ।

प्रदर्शनबारे थप जानकारी रश्मूर बोरो काउन्सिलका काउन्सिलर धन सार्की, कलाकार एवं निर्माता श्यामाश्री शेर्पालाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

शेर्पाका लागि सन् २०२६ विशेष उपलब्धिको वर्ष बनेको छ। उनले इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२६ मा चलचित्र ‘माइतीघर’बाट उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितेकी छन्। काठमाडौंमा १५ अगस्टमा आयोजित इन्फा समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यसअघि उनको अभिनय रहेको ‘तारा–द लस्ट स्टार’ ले अन्तर्राष्ट्रिय मञ्चमा समेत चर्चा कमाएको थियो। सिक्किममा निर्माण भएको नेपाली भाषाको यो चलचित्र सन् २०२४ को कान्स अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत Marché du Film मा प्रदर्शन भएको थियो। चलचित्रले हिमाली क्षेत्रको संस्कृति, विश्वास र सामाजिक विषयवस्तुलाई कथामा प्रस्तुत गरेको छ।

‘तारा–द लस्ट स्टार’ का निर्देशक साम्तेन भुटिया हुन् भने चलचित्र सावित्री छेत्रीले निर्माण गरेकी हुन्। चलचित्रमा श्यामा श्री शेर्पासँगै किरण दाहाल, देवराज शेर्पा, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ।

चलचित्रले अन्तर्राष्ट्रिय यात्रा जारी राख्दै नेपाल इन्डिजिनस फिल्म फेस्टिभल (निफ) यूके २०२६ मा समेत स्थान बनाएको छ। फेस्टिभलमा अभिनेत्री श्यामा श्री शेर्पालाई चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका लागि विशेष सम्मान गरेको थियो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!