विवेकशील साझा पार्टीका विद्रोह समूहका नेता
नेपालका राजनीतिक पार्टीहरुमा एकता र फुट देखिनु नौलो विषय होइन । पार्टीहरु फुटेर क्लबजस्ता सानासाना बनिरहेका बेला पछिल्लो संघ र प्रदेश तहका निर्वाचन बेलाको ऐनको मत सीमा ‘थ्रेसहोल्ड’ पछि भने एकताको लहर चल्यो । हुन पनि थ्रेस होल्डले संसद्मा सीमित दलको मात्रै प्रतिनिधित्व गरायो । त्यही बेला तत्कालीन विवेकशील नेपाली दल र साझा मिलेर बनेको विवेकशील साझा पार्टी फेरि छुटेको छ । नेतृत्वले एकलौटी गरेको, आर्थिक पारदर्शिता नदेखाएको, कामकारबाही हुन नसकेको भन्दै दुई संयोजकमध्ये एक उज्ज्वल थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् । ३८ केन्द्रीय सदस्यमा १६ जनाको समर्थनमा निर्वाचन आयोग पुगेका थापाले विवेकशील सोचको पुनर्गठन भनेका छन् । उनले आफ्नो पार्टीको नामसमेत विवेकशील नेपाली दल प्रस्ताव गरेका छन् । एकताको अथवा १७ महिनामै विभाजन हुनुको खास कारण र आगामी रणनीतिबारे युवानेता थापासँग एभरेस्ट टाइम्सले गरेको कुराकानी ।
पार्टी एकता १७ महिनाभन्दा बढी टिक्न सकेन, किन यस्तो भयो ?
जहिले पनि एकता सम्झौताको आधारमा गरिन्छ । सम्झौताअनुरुप काम, कुरा अगाडि नबढेपछि सम्झौताअनुरुप नै बिसर्जन हुन्छ । हामी मूल्य, मान्यतामा आधारित राजनीति गर्न, विवेकशील सोचको एउटा थलो बनाउन आएका थियौं । त्यो यहाँबाट सम्भव हुँदैन, १७ महिनाको विभिन्न प्रयासले फरक फरक दिशामा जान खोजेको हामीमा आभाष भयो । त्यसले गर्दा हामीले विवेकशील सोंचहरुलाई पुनर्गठन गर्नुपर्छ भनेर नयाँ आयाममा आएका हौं ।
सारमा नीतिगत मतभेद भन्दा पनि कार्यशैली, आर्थिक अपारदर्शिता र पदको भागबण्डाको कारणले अलग हुनुभएजस्तो देखिन्छ नि ?
हामीले विश्वास गर्ने राजनीति नै मूल्य, मान्यताको हो । पारदर्शिता भनेको नेपालको भ्रष्टाचारलाई रोक्ने एउटा औजार हो । त्यसैमा हामी वैकल्पिक बन्न सकेनौं । हामी आफैं पारदर्शी राम्ररी हुन सकेनौं भने र हुन चाहेनौं भने पनि आमनागरिकलाई झुक्काउन मिल्दैन ।
हामीले बोकेको मूल्य, मान्यतालाई निर्मम किसिमले अभ्यास गर्ने नै विचार हो, त्यो विचारलाई २१ औं शताब्दी सांपेक्ष राजनीति भन्छु म । यस्तो राजनीतिले एउटा गन्तव्यमुखी सिद्धान्त मात्रै होइन, मार्गमुखी सिद्धान्तलाई पनि अगाडि बढाउँछ । मार्गले धेरै कुरा ‘डिटरमान्ड’ गर्छ । मार्गमै सिक्दै जाने हो । त्यसमा फरक हुने माहोल बन्छ भने गाह्रै हुन्छ ।
युवा र सम्भावित नेतृत्वको एकताबाट जुन म्यासेज गएको थियो, अहिले फुटिहाल्दा पार्टी नेता, कार्यकर्तामा निराशा र मतदातालाई घात भयो भन्ने लाग्दैन ?
हामी आफू आमनागरिकप्रति जवाफदेही हुनुपर्छ । यदि केही काम राम्ररी काम भइरहेको छैन भने इमान्दार भएर आफूले गर्न नसकेका कुराहरु पनि भन्न सक्नुपर्छ । मैले सदस्यहरुसँग केही हप्ता अगाडि नै एउटा निर्मम समीक्षा राखेको थिएँ । जुन सदस्यहरुकै बोलीबाट आएको समीक्षा थियो । त्यो परिपाटी बसाउन खोजेका हौं हामीले, जुन परिपाटीले पार्टी भनेको एउटा प्राइभेट लिमिटेड मात्र होइन । प्राइभेट भनेको पब्लिक कम्पनी पनि हो । र, आमनागरिकको बनाउन खोज्दा हाम्रो त्यो सोचमा मतभेदहरु आए । त्यसबारे छलफल हुने माहोल बनेन । पार्टीलाई आमूल सुधार चाहिन्छ । न सदस्य बढिराखेको थियो न नेतृत्व विकास भइराथ्यो । प्रतिष्ठित व्यक्तिहरुले पार्टी छोडेर गइराखेको माहोलमा घरीघरी चेतावनी दिँदासमेत सुधार नहुँदा हामी एकअर्काको कमजोरीमा टेकेर कति हिँड्ने ? आआफ्नो स्ट्रेन्थमा टेकेर हिँड्ने बाटो के हुनसक्छ भन्दा वैकल्पिक बाटो अगाडि हुन्छ । र, यो विवेकशील सोच पुनर्गठनको बाटो नै अगाडि बढ्न सक्छ । जसले गर्दा आँखा खोलिने बाटो दुवैतिर हुनसक्छ भनेर हामी अलग भयौ ।
तपाईंहरुकै माग सम्बोधन गर्न पुस ३० गते केन्द्रीय समिति बैठक डाक्दाडाक्दै छलफलबाट भागेको आरोप छ नि रविन्द्र मिश्र पक्षको ?
त्यस्तो कुरा हुँदैहोइन । केन्द्रीय समितिको एजेन्डा हेर्ने हो भने सदस्य थप्ने मात्र कुरा थियो । केन्द्रीय समिति सदस्यहरुलाई थाहै नदिइकन वा पर्याप्त सोच, विचार नगरिकन एकलौटी निर्णयहरु भइरहेका थिए । शक्ति केन्द्रिकरणको माहोल बनिरहेको थियो । त्यो किसिमको क्लासिकल पोलिटिक्स हामीबाट हुँदैन । हामी मात्रात्मक, नम्बर गेममा जाने खालको राजनीति नगर्ने तर कोलाब्रेसन पोलिटिक्समै जान्छौं । विवेकशील सोच बोकेका जो जो साथीहरु हुनुहुन्छ, उहाँहरुलाई वेलकम गर्छौं र हामीले गरेका एक्स्पेरिमेन्टलाई नेक्स्ट लेभलमा लान्छौं ।
जिल्ला, प्रवास कमिटीहरुको अवस्था के छ, उहाँहरुले त यथावत् छन् भनिरहनुभएको छ ?
हामी अनुदारताको राजनीति गर्न आएका होइनौं, उदारताको राजनीति गर्न आएका हौं । नम्बर गेम खेल्न पनि आएका होइनौं, खेल्दैनौं । सदस्य भनेका कार्यकर्ता पनि होइन, हाम्रा सदस्य भनेको फ्युचर लिडर हो वा हुन लागेका लिडर । वैकल्पिक राजनीतिमा आउने मान्छे भनेको त्यस्तै हो । त्यो स्टाटसका मान्छेहरु आउनुहुन्छ । १८ वर्षका युवा होस् अथवा ६० वर्षका रिटायर्ड अग्रज, उहाँहरुमा त्यो खुबी हुन्छ । उहाँहरुलाई स्वतन्त्र तरिकाबाट विवेक प्रयोग गरेर चयन गर्ने अधिकारलाई अनर गर्छौं । र, आगामी दिनमा को कता छ भनेरभन्दा पनि हामीले राजनीतिमा बोलेको व्यवहारमा देखाउन सक्यौं भने साथीहरु हामीसँगै लिड गर्न आउनुहुन्छ । यदि हामी बोलीका कच्चा रैछौं भने उहाँहरुले आफ्नै विवेक प्रयोग गर्नुहुन्छ । यो जिल्ला कमिटी यता आयो, त्यो जिल्ला कमिटी उता गयो भन्ने सोचेका छैनौं । किनकि शुक्रबार हामीले अलग भएको निर्णय गरेपछि शनिबार डा.गोविन्द केसीजस्ता विवेकशील नागरिकलाई समर्थन गर्न सडक आयौं । आगामी दुई हप्ता सडक नै हाम्रो अफिस हुन्छ । हामी नागरिकमुखी बन्न आएका हौं, त्यो बन्न जान्छौं । त्यसमा हामी क्लियर छौं । हाम्रा पार्टीका सदस्यहरुले स्वविवेक निर्णय गर्न पाउन् । बोलेर, फकाएर होइन कि हाम्रो कामबाट उहाँहरुले जज गर्ने मौका पाउँछन् ।
सकारात्मक मुद्दा उठान त गर्नुहुन्छ तर जनसमर्थन बिना त्यसले सार्थकता पाउन सक्छ ?
हाम्रो कामकारबाहीबाट हुने हो । हाम्रो कामकारबाही भनेको भ्रष्टाचारविरुद्ध लडेका छौं । कति नागरिकका पीडामा मलपट्टी गरेका छौं । त्यसैबाट देखिन्छ । विगत एक वर्षमा हामीले सोचेजस्तो अभियान हुन सकेन । हामीले धेरै प्रयास गर्दा पनि नभएपछि निर्मम कदमहरु उठाएका हौं । अब हाम्रो बोलीबाट होइन, व्यवहारबाट जज गर्नुपर्ने हुन्छ ।
नयाँ दल दर्ताको निवेदन दिइसक्नु भएको छ, अबका गतिविधि वा एजेन्डाहरु के के छन् ?
हामी देशमा मच्चिरहेको लुटतन्त्रविरुद्ध लाग्छौं । लुटतन्त्रबाट लोकतन्त्र जोगाउन आएका हौं । हाम्रो पहिलो दायित्व त्यो हो । त्यो दायित्वबाट हामी टाढिँदैनौं । हामीसँग असंख्य जो साथीहरु हुनुहुन्छ देशभित्र, जिल्ला, प्रवासमा । उहाँहरुले त्यहीं काम गर्नुहुन्छ । पार्टी भनेको एउटा साधन मात्र हो । हामीले आमनागरिकको मन जित्न कामबाटै देखाउनुपर्छ । उहाँहरु आफैं म सदस्य बन्छु भनेर आउने वातावरण बनाउने हो । ठूल्ठूला सिद्धान्तका कुरा गरेर मात्र हुँदैन । हाम्रो लक्ष्य प्रस्ट छ, नागरिकलाई विवेकशील, समाजलाई उद्यमशील र सरकारलाई सेवक बनाउने । यो तीन काममा मात्र हामीले मद्दत गर्न सक्यौं भने हितकारी राज्य हुन्छ । जसले आमनागरिकको हितमा मात्रै काम गर्छ ।
तपाईंहरु तत्कालीक घटनालाई लिएर दबाब समूहजस्तो भूमिका खेल्नुहुन्छ । नेतृत्व गरेर जनताका सेवक बन्ने चाहना छैन ?
हामी सेवक बन्नै सबै छोडेर आएका हौं ।






