एटा संवाददाता
अल्डरसट । नेपाली चलचित्रकी चर्चित नायिका नम्रता श्रेष्ठसँग उनका प्रशंसकहरुले एक कार्यक्रमबीच साक्षात्कार गरेका छन् ।
गत आइतबार १३ जनवरी साँझ अल्डरसटस्थित डि लाउन्जमा लेक्स लिम्बु र ह्याब अ मोमेन्टद्वारा आयोजित एक कार्यक्रममा प्रशंसकहरुले नायिका श्रेष्ठसँग साक्षात्कार गरेका हुन् ।
कार्यक्रममा उनका बारेमा ब्लगर लेक्स लिम्बुले जानकारी दिँदै उनीसँग विभिन्न जिज्ञासा राखेका थिए । त्यस्तै, उनका प्रशंसकहरुलाई उनीसँग विभिन्न जिज्ञासाहरु राख्दै फोटोसमेत खिचेका थिए ।
आलोक नेम्वाङद्वारा निर्देशित नेपाली चलचित्र ‘सानो संसार’ बाट चलचित्र क्षेत्रबाट डेब्यु गरेकी श्रेष्ठले मेरो एउटा साथी छ, छाड्के, मिस यु, मौन, नोभेम्बर रेन, मेघा, तान्डव, संबोधन, सोल सिस्टर, पर्व, होमवर्कलगायत थुप्रै चलचित्रमा जोडदार अभिनय गरिसकेकी छन् । उनीद्वारा अभिनित नेपाली चलचित्र ‘प्रसाद’ हालै नेपालमा रिलिज भएको छ । सोही चलचित्रको विशेष प्रदर्शनको क्रममा बेलायत आएकी श्रेष्ठले आफ्नो प्रसंशकहरुसँग साक्षात्कार गरेका हुन् ।
सो अवसरमा जोर्ज गुरुङको स्वर रहेको ‘माया भन्ने शब्द’ बोलको गीतमा छायांकन गरिएको म्यूजिक भिडियोको शुभारम्भसमेत गरिएको थियो । ह्याब अ मोमेन्टको प्रस्तुति रहेको सो म्यूजिक भिडियोमा मिस युके नेपाल सिर्जना गुरुङ र लेक्स लिम्बुलगायतले अभिनय गरेका छन् ।
कार्यक्रममा नायिका श्रेष्ठले प्रशंसकहरुसँग कुराकानी गर्न पाउँदा खुसी लागेको बताउँदै सबैलाई धन्यवाद दिइन् ।






