कृष्ण हेम्ब्या
लन्डन । रेडिङ किरात समाज यूकेले किरातहरुको राष्ट्रिय पर्व उद्यौली पर्व रेडिङस्थित साउथ रेडिङ युथ कम्युनिटी सेन्टरमा भव्यसंग मनाएको छ ।
रेडिङवासी चार किरात समुदायका पुजारीहरुबाट संयुक्तरुपमा न्वाँगी पूजाबाट कार्यक्रम थालनी भएको थियो । कोइँच सुनुवार समुदायका टेकबहादुर सुनुवारले प्रमुख पुजारीको भूमिका खेलेका थिए । २ डिसेम्बर २०१८ मा सम्पन्न कार्यक्रमको अन्य पुजारीहरुमा किरात राईतर्फ बिन्द्रमान राई, किरात याक्खातर्फ ईमासिं याक्खा र किरात लिम्बूतर्फ दुर्गा सम्वाहाम्फे संलग्न थिए ।
कार्यक्रमको पहिलो चरणमा प्रमुख पुजारी टेकबहादुर सुनुवारले किरात समुदायका पुर्खाहरुले बालीनाली आरम्भ गरेदेखि नै मानव सभ्यताले फड्को मारेको मुन्धुमी कथाहरु वाचन गरे । संस्थाका अध्यक्ष खडानन्द सुनुवारले उद्यौली पर्वको सांस्कृतिक विषयमा प्रवचन दिए । अन्तमा विभिन्न पाकेको अन्न, फलपूmल र जाँडपानी प्रकृति र पुर्खाहरुलाई चढाएपछि प्रसाद ग्रहणसंगै पूजा सम्पन्न भयो ।
दोस्रो चरणको कार्यक्रममा विभिन्न विषयहरुमा उच्च शिक्षा प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान तथा प्रमाण—पत्र प्रदान गरियो । सो दिन स्थानीय चार किरात समुदायका कलाकारहरुले सांस्कृतिक नृत्यहरु प्रदर्शन गरेका थिए । स्थानीय कलाकार जानुका राई र नेपालबाट आएकी चर्चित कलाकार अमृता सम्वाहाम्फेले विभिन्न गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव एलबी सुब्बा, सांस्कृतिक कार्यक्रम सञ्चालन ईन्दु सुब्बा तथा स्वागत मन्तव्य संस्थाकै उपाध्यक्ष इमानसिं याक्खाले गरेका थिए ।
प्राकृतिक पुजारी किरात समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको उद्यौलीलाई किरात याख्खाहरु चासुवा, किरात राईहरु उधौली/साकेला, किरात लिम्बूहरु चासोक तङ्नाम र किरात कोइँच सुनुवारहरु फोलष्याँदर भनेर मनाउँदछन् । नेपालमा गणतन्त्र स्थापनासँगै उद्यौलीले राष्ट्रिय चाडको मान्यता प्राप्त गरी एक दिन सरकारी बिदाको व्यव्यस्था गरिएको छ ।
रेडिङ किरात समाज यूके सन् २००९ मा स्थापना भएको रेडिङवासी राई, लिम्बू, सुनुवार र याक्खा चार किरात बन्धुहरुको एक साझा सामाजिक संस्था हो । किरातीहरुबीच एकता एवम् सद्भाव सहिष्णुता कायम गर्दै परस्पर सहयोग तथा सद्भावको विकास गर्दै समाजले आपतविपतमा परेका सदस्यहरुलाई आर्थिक तथा अन्य सहयोग पुर्याउँदै आएको छ ।
किरातहरुको उद्यौली, उभौलीजस्ता साझा वार्षिक चाड पर्वहरु मनाउनुको साथै अन्य विभिन्न जातीय सामाजिक, सांस्कृतिक गतिविधिहरु संचालन गर्दै आएको छ ।






