काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच आज भेटवार्ता भएको हो।
गृह मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्नेबारे विचारविमर्श भएको थियो।
भेटमा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँचका क्रममा भोग्दै आएका प्राविधिक समस्या, विशेषगरी बिआइएस प्रमाणीकरणसम्बन्धी समस्या समाधानका लागि चासो व्यक्त गरेका थिए। नेपालको चासोप्रति भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले जनाएको छ।
गृहमन्त्री गुरुङ बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनी असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।






