एटा संवाददाता
मिचेट । तमुधिं युकेले ल्होछार मनाउन नेपालबाट आएका कलाकारहरुलाई एक कार्यक्रमबीच बिदाई गरेको छ । गत मंगलबार ८ जनवरी साँझ उनीहरुलाई बिदाई गरिएको हो । तमुधिं युकेको निमन्त्रणामा बेलायत आएका चर्चित गायक टंक बुढाथोकी, गोविन गुरुङ र अनु गुरुङले ल्होछारको अवसरमा बेलायतमा विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिई नेपाल फर्कने क्रममा बिदाई गरिएको हो ।
तमुधिं युकेका सल्लाहकार, आजीवन सदस्य, आमा, युवा र कार्यसमितिको बाक्लो उपस्थिति रहेको कार्यक्रममा तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले उनीहरुलाई मायाको चिनोसहित खादा लगाई बिदाई गरेका थिए । सो अवसरमा गायक टंक बुढाथोकीले विदेशीभूमिमा आफ्नै भवन भएको संस्था पहिलोपटक थाहा भएको जनाउँदै तमुधिं युकेले दिएको माया र गरेको सम्मानलाई कहिल्यै नबिर्सने बताए । त्यस्तै, गायक गोविन गुरुङले बेलायतमा आएर आफ्नो प्रस्तुति दिने अवसर दिएकोमा तमुधिं युकेप्रति आभार व्यक्त गरे ।
त्यसैगरी गायिका अनु गुरुङले तमुधिं युकेद्वारा गत ३० डिसेम्बरका दिन रेडिङ्गमा आयोजित ल्होछार कार्यक्रममा आफू सहभागी हुन नपाए तापनि अरु कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा तीनैजना कलाकारले विभिन्न गीतहरु प्रस्तुत् गरी सबैलाई नचाएका थिए । सो अवसरमा अध्यक्ष गुरुङले कलाकारहरुलाई आफ्नो घरमा राखि सहयोग गरेका विभिन्न व्यक्तिहरुलाई खादा लगाई सम्मान गरेका थिए ।
कार्यक्रममा तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले तमुधिं युकेद्वारा आयोजित ल्होछार कार्यक्रममा आ–आफ्नो कला प्रस्तुत् गरी कार्यक्रम सफल बनाइदिएकोमा सबै कलाकारलाई धन्यवाद दिए ।
नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिव तुलाराम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






