काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरव शम्शेर जबराको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले बेलायतसहित १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो।
समितिबाट बेलायतका लागि गौरव शम्शेर जबरा, भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि डा. सङ्गम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि मञ्चलाकुमारी झाको नाम अनुमोदन भएको छ।
समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम भने अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाममाथिको सुनुवाइ स्थगित गरिएको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयसँग थप प्रमाण तथा स्थानीय तहसँगको संलग्नताबारे स्पष्टता मागिएको छ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै बेलायतसहित १० देशका लागि प्रस्तावित राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।






