लन्डन । बेलायतस्थित सिद्धार्थ नेपाली समाज (एसएनएस) युकेले नेपालमा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि संकलन गरेको ५ हजार ५०० पाउन्ड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
समाजले संकलित रकम २७ अक्टोबर २०२६ मा काठमाडौंस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकमार्फत पठाएको जानकारी दिएको हो।
रकम पठाउने क्रममा अनलाइन बैंकिङमार्फत कारोबार गर्न समस्या भएपछि समाजका प्रतिनिधिहरू पुनः मेट्रो बैंकको शाखामा प्रत्यक्ष उपस्थित भएर रकम स्थानान्तरण प्रक्रिया पूरा गर्नुपरेको कोषाध्यक्ष रमेश श्रेष्ठले प्रस्ट पारे ।
राहत कोषमा ५ हजार ५०० पाउन्ड पठाइएको छ भने अन्तर्राष्ट्रिय बैंक कारोबार (स्विफ्ट) शुल्कबापत थप २५ पाउन्ड खर्च भएको उल्लेख गरिएको छ।
समाजका अध्यक्ष रमेश ज्ञवालीले बाढीपीडितको सहयोगार्थ आर्थिक योगदान गर्ने सबै दाताप्रति आभार व्यक्त गरेको छ। साथै, समाजबाहिर रहेर पनि सहयोग अभियानमा साथ दिएका दाताहरूलाई धन्यवादपत्र पठाउने तयारी गरेको जनाएको छ।
महासचिव संगम खतिवडा र कोषाध्यक्ष रमेश श्रेष्ठले सहयोग अभियानमा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।






