लन्डन । बेलायतमा कार्यरत नेपाली युवा प्रशान्त (नाम परिवर्तन)ले पाउन्ड साट्ने क्रममा आफू ठगीमा परेको गुनासो गरेका छन्।
दसैँको समयमा कात्तिक ५ र ६ गते (२२/२३ अक्टोबर २०२६) मिलन कोइरालाले दिएको दुई बैंक खातामा गरी ४ लाख ४२ हजार २ सय नेपाली रुपैयाँ पठाए पनि अहिलेसम्म पाउन्ड नपाएको प्रशान्तले एभरेस्ट टाइम्स यूकेलाई बताएका छन्। प्रशान्तले २२ अक्टोबरमा अनिश दुराको नाममा ग्लोबल आइएमई बैंक खातामा १ लाख ९० हजार रुपैयाँ र २३ अक्टोबरमा मिलन कोइरालाकै नाममा नेपाल बैंक लिमिटेडमा २ लाख ५२ हजार २०० रुपैयाँ पैसा पठाएको प्रमाण उपलब्ध गराएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ का प्रशान्तका अनुसार उनलाई तत्काल पाउन्ड आवश्यक परेपछि उनले ‘नेप्लिज इन यूके’ नामक फेसबुक समूहमा पाउन्ड साट्न खोजेको सूचना पोस्ट गरेका थिए। त्यसपछि कोइराला नामका व्यक्तिले उनलाई सम्पर्क गरी पाउन्ड उपलब्ध गराउने बताएका थिए।
प्रशान्तले ती व्यक्तिलाई विश्वास गरेर नेपालमा रहेका आफ्ना हजुरबुबामार्फत उनले दिएको नेपाली बैंक खातामा ४ लाख ४० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए। तर, रकम पठाएपछि पाउन्ड नपाएको र ती व्यक्ति सम्पर्कविहीन भएको प्रशान्तको भनाइ छ।
“पहिले चिनेको थिइनँ। मलाई पाउन्ड चाहिएको थियो, त्यसैले ‘नेप्लिज इन यूके’मा पोस्ट गरेको थिएँ। त्यसपछि उसले मलाई सम्पर्क गर्यो। पाउन्ड दिन्छु भनेपछि मैले नेपालबाट हजुरबुबालाई पैसा हाल्न लगाएँ। विश्वास गरेर उसको नेपाली खातामा रकम पठाएँ, तर अहिलेसम्म पाउन्ड दिएको छैन,” प्रशान्तले भने।
उनका अनुसार रकम पठाएपछि ती व्यक्तिसँग सम्पर्क गर्न खोज्दा सफल हुन सकेका छैनन्। फरक नम्बरबाट फोन गर्दा उठाउने तर आफ्नो परिचय दिएपछि फोन काटिदिने गरेको उनको भनाइ छ। विभिन्न माध्यमबाट खोजी गर्दा आफू ठगीमा परेको हुन सक्ने निष्कर्षमा पुगेको पनि उनले बताए।
भिसा नवीकरण गर्नुपर्ने समयमा आर्थिक संकट
बेलायतमा वर्किङ भिसामा रहेका प्रशान्तले अहिले भिसा नवीकरण गर्नुपर्ने समय आएको बताएका छन्। त्यसका लागि आवश्यक रकम जुटाउनुपर्ने अवस्थामा आफूले पठाएको रकम फिर्ता नपाउँदा आर्थिक तथा मानसिक तनावमा परेको उनको गुनासो छ।
‘मलाई त्यो पैसा अत्यन्तै आवश्यक छ। मेरो भिसा नवीकरण गर्नुपर्ने समय भएको छ। पैसा नपाउँदा धेरै गाह्रो भइरहेको छ र तनावमा छु,’ प्रशान्तले भने।
कोइरालामाथि सामाजिक सञ्जालमा थप आरोप
यसैबीच, बेलायतमा रहेका नेपाली विद्यार्थीलाई रकम साट्ने बहानामा ठगी गरिएको दाबी गर्दै विभिन्न सामाजिक सञ्जाल समूहमा मिलन कोइराला नामका व्यक्तिबारे सचेतनामूलक पोस्टहरू सार्वजनिक भएको बताइएको छ।
ती पोस्टहरूमा १०० भन्दा बढी नेपाली विद्यार्थी ठगीमा परेको दाबी गरिएको छ। साथै, फेसबुकलगायत सामाजिक सञ्जालमा फरक–फरक नामका खाता प्रयोग गरेर रकम साट्ने बहानामा पैसा लिने र त्यसपछि सम्पर्कविहीन हुने गरेको आरोप पनि लगाइएको छ। यद्यपि, सामाजिक सञ्जालमा गरिएका यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।






