आइतबार २५ अक्टोबर २०२६ का दिन हङकङको ‘याउ मा ताई’ कम्युनिटी हलमा हेरेको चलचित्र ‘नाक्छोङ’ले राई समुदायको बान्तावा संस्कारमा लोप हुन लागेको परम्परा र संस्कृति बचाउने एउटा गम्भीर अभियानको सुरुवात गरेको छ। पुस्तकजस्तै सिनेमा पनि ज्ञान बाँड्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उत्तम माध्यम हो। यसमा छायाङ्कन गरिने दृश्य, स्क्रिप्ट र संवादहरू मनोरञ्जनात्मक मात्र नभई सन्देशमूलक र संवेदनशील पनि हुनुपर्छ। पात्रहरूले बोलेका संवाद र प्रस्तुत गरिएका दृश्यहरूले समाजका कतिपय अदृश्य कथाहरूलाई दस्तावेजीकरण गरिरहेका हुन्छन्। विशेषगरी नयाँ पुस्तालाई पुराना तथा लोपोन्मुख संस्कार, संस्कृति र रीतिरिवाजहरू हस्तान्तरण गर्दै लैजानु आजको टड्कारो आवश्यकता बनेको छ।
मेरा भोगाइहरू आमाबुवाका भोगाइभन्दा फरक रहे। आमाबुवाका अनुभवभन्दा हजुरबुवा–हजुरआमाका भोगाइ झन् भिन्न थिए। हजुरबुवाभन्दा अघिका पुस्ताले जङ्गल फाँडेर गाउँबस्ती बसालेका कथाहरू त आज हाम्रा लागि दन्त्यकथाजस्तै भइसकेका छन्। कन्दमूल र जङ्गली जनावरको सिकारमा निर्भर रहेर जीवन बिताएका पुर्खाहरूले बसाएका गाउँबस्तीमै हाम्रा बाबुबाजेले जन्म लिए। समयसँगै तिनै पुर्खाहरूले परिवर्तनको बाटो पहिल्याउँदै खेतीपाती गर्न, वस्तुभाउ पाल्न र तिनैका माध्यमबाट जीविकोपार्जन गर्न सिके। आपत्कालीन अवस्थाका लागि विभिन्न जडीबुटीको पहिचान गरी तिनैबाट ओखतीमूलो बनाउने ज्ञानसमेत विकास गरे। यसरी प्रकृतिसँगै बाँच्न सिकेका हाम्रा पुर्खाहरूले स्थानीय स्रोतसाधन र परम्परागत ज्ञानको उपयोग गर्दै प्रकृतिमै आधारित जीवनशैली अपनाए।
हरेक बाबु–आमाको चाहना हुन्छ, ‘मेरा छोराछोरीले मैले जस्तो दुःख भोग्न नपरोस्।’ यही चाहनाले उनीहरूले हामीलाई स्कुल–कलेज पठाए, उच्च शिक्षा हासिल गरेर राम्रो भविष्य बनाउन प्रेरित गरे। हामी पनि अवसर र उज्ज्वल भविष्यको खोजीमा सहर पस्यौँ। तर, सहर पस्ने क्रममा आफ्नै गाउँ, परिवेश र पुर्ख्यौली जीवनशैलीबाट टाढिँदै गयौँ। हुँदाहुँदा अहिले त झन् सुखसयल र सहज जीवनको खोजीमा विदेशतिरै पलायन हुन थाल्यौँ।
त्यतिबेलाको समय आजजस्तो सहज र सुविधासम्पन्न थिएन। तैपनि प्रकृतिसँग गहिरो नाता गाँस्दै अनेकौँ कठिनाइ र समस्यासँग जुधेर हाम्रा पुर्खाहरूले जीवन बिताए। तिनै पुर्खाहरूको संघर्ष र उनीहरूको खुन-पसिनाले आर्जेको यो संसारमा आज हामी आधुनिक जमानाका मान्छे भएर सास फेर्न पाउँदा धन्य मान्नैपर्छ।
तर एउटा नमिठो सत्य के हो भने, उत्तरआधुनिक युगमा बाँचिरहेका हामी सन्तति आफ्नै पुर्खाले जोगाएर ल्याएका संस्कार र संस्कृतिलाई ‘रूढिवादी’को संज्ञा दिनसमेत पछि पर्दैनौँ। पुस्तौँदेखि ज्ञान, अनुभव र संस्कार हस्तान्तरण हुँदै आजको समयसम्म आइपुगेका हामीले आधुनिक संसारका अनेकौँ कुरा सिक्यौँ, नयाँ प्रविधि र जीवनशैली अपनायौँ, तर हाम्रा पुर्खाले बाँचेको युग, उनीहरूले भोगेका दुःख र गरेका संघर्षलाई सम्मान गर्न भने बिर्सियौँ। उनीहरूको जीवनदृष्टि, अनुभव र परम्पराभित्र लुकेका ज्ञानका भण्डारलाई चिन्न नसक्नु हाम्रो कमजोरी मात्र होइन, एउटा ठूलो दुर्भाग्य पनि हो।
हाम्रा पुर्खाले बाँचेका ती सत्ययुग उहाँहरूकै आस्था र विश्वासले बनेको स्वर्ग थियो। उहाँहरूले हावापानी र प्रकृतिसँग मुन्धुम विद्या सिके, प्रकृतिको पूजा गरे। त्यसैले मृत्युपछि पनि प्रकृतिकै काखमा स्थान पाएर माटोमै समाधिस्थ भए र मुक्तिको मार्गदर्शन पाए। उहाँहरूले सिकेका तिनै मुन्धुम विद्या आजपर्यन्त हामी सबैको दर्शन बनेको छ। ‘नाक्छोङ’ चलचित्र तिनै मुन्धुम दर्शनको एक अभिन्न अंश हो, जसलाई सदियौँदेखि पुर्खाहरूले चेलामार्फत पुस्तान्तरण गर्दै यहाँसम्म ल्याइपुर्याए। तर अब नयाँ पुस्तामा ‘नाक्छोङ’ विद्या हस्तान्तरण हुन नसकेका कारण मुन्धुमविद्हरू अन्योलमा छन्।
यो परिवर्तनशील युगमा नयाँ पुस्ता पुर्खाले सुम्पिएको विरासत छाडेर आफ्ना हक–अधिकार र स्वतन्त्रता खोज्ने बाटोमा हिँडिसकेको छ। उनीहरू पुर्खाको बिँडो थाम्ने ‘चेला’ बन्न तयार छैनन्, बरु मुन्धुम विद्याहरूलाई पुस्तकमा लेख्न चाहन्छन्। पुस्तकमा सीमित ती मुन्धुमहरू लेखक वा पाठकले मात्र जोगाउनुपर्ने बाध्यता आएको छ। तर लेखक र पाठक त नाक्छोङ होइनन्। धार्मिक र सांस्कृतिक अनुष्ठानमा प्रयोग नभएपछि ती मुन्धुमहरूको प्राकृतिक रूप र सौन्दर्य स्वतः घट्दै जानेछ।
नाक्छोङले जस्तै ढ्याङ्ग्रो ठटाउँदै मुन्धुम फलाकेर मृत आत्मालाई माथि बाबुबाजेको काखसम्म पुर्याउन नसकेपछि, मृत्युपश्चात् हामी यहीँ कतै अल्झेर ‘भूत’ भएर हिँड्ने त होइनौँ? यदि त्यसो हो भने त अब बिस्तारै यो संसार मृतात्माहरूको सहर अथवा भूत बस्ने देश बन्नेछ।
आजको आवश्यकता ‘चेला’को हो। यो उत्तरआधुनिक डिजिटल युगमा आइपुग्दा हामीले मुन्धुम दर्शनलाई अन्धविश्वास ठान्न थालेका छौँ। ‘नाक्छोङ’ चलचित्रले ठ्याक्कै यही कुराको चित्रण गरेको छ। समाजमा आइपर्ने विभिन्न समस्यामध्ये मृत्युसंस्कार पनि एक हो। मृतकको आत्माको मुक्तिका लागि गरिने अनुष्ठानमा नभई नहुने नाक्छोङ (बिजुवा) हरू अब लोप हुँदैछन्। ‘अब के गर्ने?’ भन्ने गम्भीर प्रश्न चलचित्रले यो नयाँ युगसामु तेर्स्याएको छ।
हाम्रा पुर्खा हाम्रो उत्पत्तिको आधार थिए, हाम्रा रक्षाकवच थिए। उहाँहरूको जीवन र संघर्षकै कारण आज हामी यस युगमा मान्छे भएर बाँचिरहेका छौँ। विश्व इतिहासले भन्छ, हाम्रा पुर्खाहरूले बाँदरबाट मानिस बन्ने विकासक्रम पार गर्दै हामीलाई यहाँसम्म ल्याइपुर्याए। हुन त मेरा यी भनाइहरू नितान्त व्यक्तिगत विचार हुन्। ‘के पुरानो संस्कारलाई यथावत् राख्दै ढुङ्गे युगमै फर्कने?’ भन्ने प्रश्न उठ्न सक्ला। तर मेरो भनाइ संस्कार र संस्कृतिको जगेर्ना गरौँ र पुर्खाहरूलाई सम्मान गरौँ भन्ने मात्र हो।
हिजोका श्यामश्वेत चलचित्रहरूले तत्कालीन समयका साक्षी बनेर इतिहास जोगाइरहेझैँ, आजका रंगीन समयका ‘नाक्छोङ’, ‘नुमाफुङ’ र ‘तरेबा’जस्ता चलचित्रले पनि नयाँ पुस्ताका लागि वर्तमानको इतिहास बोकेर बाँच्नेछन्।
त्यसैले अबका आदिवासी चलचित्रकर्मीहरूले लोप हुन लागेका वा लोप पारिएका रैथाने संस्कृति र इतिहासको खोजी तथा अनुसन्धान गरेर चलचित्रमार्फत समाजमा ल्याउनुपर्छ। किनकि यस चलचित्रले बान्तावा राई समुदायमा ‘नाक्छोङ’ (बिजुवा) कति आवश्यक छ भन्ने गम्भीर प्रश्न समाजसामु तेर्स्याएको छ। कथाको सुरुवात सामान्य लाग्न सक्छ, तर आफ्नो स्वर्गवासी बाबाको किरियामा बसिरहेको २४–२५ वर्षको ठिटो (मुख्य पात्र) को सपनामा बितिसकेका बाबा आएर छोरालाई आफ्नो बिजुवा विद्या सिकाउन थालेपछि कथाले दर्शकलाई यसरी बाँधेर राख्छ कि आफू चलचित्र हलमा छु भन्ने पनि महसुस हुँदैन।
मृतक बाबुलाई मुक्तिको मार्गमा डोर्याउन आफ्नो कुलको नाक्छोङ (बिजुवा) नभेटेपछि कोरामा बसेको छोराले आफ्नै बाबुको पगरी, जामा र रुद्राक्षको माला आदि शरीरमा भिरेर ढ्याङ्ग्रो ठोक्दै काँप्दै नाचेको दृश्य अत्यन्तै कारुणिक र मर्मस्पर्शी छ। एउटा भर्भराउँदो युवाले अचानक बितेका बाबुलाई पितृहरूको काखसम्म पुर्याउन गरेको संघर्ष निकै पीडादायी छ। आमाबुवाप्रतिको जिम्मेवारीबाट विमुख हुँदै गइरहेको अहिलेको युवापुस्तालाई राम्रो सन्देश बोकेर आएको यो ‘नाक्छोङ’ चलचित्र सबैले एकपटक हेर्दा खेर जाँदैन।
चलचित्रको कुरा चलिरहँदा हाङ चेम्जोङ भाइले, “दिदी, तपाईं जस्तो लेखकले हेर्नैपर्ने फिल्म छ, हेर्नुस्,” भनेको कुरा पनि सम्झिरहेकी छु। कहिल्यै मुन्धुम नफलाकेको एउटा युवाले अचानक जसरी फरर मुन्धुम फलाक्न थाल्छ, त्यसले दर्शकको आँखा ओभानो राख्दैन। बाबुप्रतिको अगाध प्रेमले उसलाई नाक्छोङ (बिजुवा) बनाउँछ। जब एक छोराले आफ्ना आमाबाबुप्रतिको जिम्मेवारीबोध गर्छ, उसले आफ्नो काम र कर्तव्यमा पूर्ण समर्पण गर्छ, चाहे त्यो अभिनयमा होस् या अन्य कुनै काममा।
चलचित्र हेर्दै गर्दा म सिनेमा हलमा होइन, मोरङको कुनै बस्तीमा आफ्नै छिमेकीको आँगनमा छु र त्यहाँ बिजुवा मुन्धुम भन्दै, ढ्याङ्ग्रो पिट्दै नाचिरहेका छन् जस्तो आभास भयो। बिजुवा नाच्दा उनको जामाले छुन्छ कि, टेकिहाल्छ कि भनेर परपर सरेजस्तो अनुभूति भयो।
मैले त्यतिबेला अनुभूत गरेको एउटा कुरा के हो भने, यदि यो चलचित्रमा नाम चलेका कलाकारलाई अभिनय गराइएको भए दर्शकलाई ‘म सिनेमा हेर्दै छु’ भन्ने भान हुन्थ्यो होला। तर यहाँ नयाँ अनुहारलाई अवसर दिइएकाले दर्शकलाई बढी तान्यो र अभिनय निकै प्राकृतिक (Natural) लाग्यो। कुनै–कुनै बेला गरिएका निर्णय राम्रा र सफल साबित हुन्छन्। यो चलचित्रमा पनि नयाँ कलाकारलाई त्यो भूमिका दिएर निर्देशक र निर्माता टोलीले अति प्रशंसनीय काम गरेका छन्। कवि उपेन्द्र सुब्बालाई ‘झाँक्रीबा’ भनेर चिनिएझैँ अब मानिसहरूले ती कलाकारलाई पनि ‘नाक्छोङ’ नै भनेर बढी चिन्नेछन्।
उनले नाक्छोङको अभिनयमा आफूलाई पूर्ण रूपमा समर्पण गरेका छन्, त्यसैले त उनी सफल भएका छन्। उनले वर्षौंदेखि रहरले पालेको कपाल पूरै खौरेका छन्। त्यस्तो चिसो मौसममा न्यानो लुगाबिनै कम्मरमुनि पातलो धोती मात्र लगाएर बाबुको किरिया बसेका छन् र आफूलाई नाक्छोङको भूमिकामा उतारेर नाचेका छन्। एउटा युवाका लागि यो सब गर्न सजिलो पक्कै थिएन। पहिले–पहिले बलिउड र कलिउडका कलाकारहरूले आफ्ना बाबुआमा बित्दा पनि कपाल काट्न नमानेका समाचार सुनिन्थे। तर थोरै लगानीमा बनेको चलचित्र ‘नाक्छोङ’मा जीवन्त अभिनय गर्न उनले आफ्ना प्रिय चिजहरूको त्याग गरेर आफ्नो कामलाई पूजा गरेका छन्।
अचेल राजधानी वा विदेशमा रहेका सन्तानहरू अभिभावकको मृत्युको समयमा साथमा हुन नपाउनुको पीडा र आमाबुवाको शव राखेर कुर्नुपर्ने बाध्यता हरेक नेपाली परिवारको साझा समस्या बनेको छ। यो चलचित्रमा प्रज्ञा–सदस्य तथा याक्थुङ (लिम्बू) समुदायका एक होनहार कलाकार यासेली योङहाङज्यूले बाबुको भूमिका निकै न्यायपूर्ण ढङ्गले निभाएका छन्। आमाको भूमिकामा सुष्मा सुब्बा गुरुङज्यूले पनि उत्कृष्ट अभिनय गरेकी छन्। बहिनीको भूमिकामा नानी अनुषा राईको अभिनय पनि उत्तिकै जीवन्त छ। जे होस्, सबैको सहकार्यले चलचित्रलाई उत्कृष्ट बनाउने कोसिस गरिएको छ।
मुन्धुम र मिथकजस्ता संवेदनशील विषयमा काल्पनिक कथा मिसाउनु हुँदैन, किनकि मुन्धुम भनेको खेलौना होइन, सिंगो समुदायको दर्शन हो। चलचित्र निर्माण टोलीले पुर्खाहरूले जोगाएर ल्याएका तिनै मुन्धुम र संस्कारलाई न्यायपूर्ण ढङ्गले प्रस्तुत गरेर एउटा बलियो इतिहास रचेको छ।
अन्त्यमा, हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक र धर्मनिरपेक्ष देश हो। एक समुदायको संस्कार र संस्कृति अर्को समुदायका लागि नौलो लाग्न सक्छ, तर आफ्ना संस्कार, संस्कृति र मुन्धुमप्रति आस्था राख्नेहरूले यसको मर्म सजिलै बुझ्छन्। समग्रमा, ‘नाक्छोङ’ले मेरो मथिङ्गलमा गहिरो तरङ्ग पैदा गरेको छ। यस्ता मौलिक र संस्कारमा आधारित चलचित्रहरूले मात्रै हाम्रो इतिहास र पहिचानलाई जीवन्त राख्न सक्छन्। नेपाली चलचित्र क्षेत्रमा यस्ता सार्थक प्रयासहरू अझ धेरै होऊन्। सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना!






