लन्डन । नेपाली गीत–संगीतप्रेमीहरूका लागि साउथ ह्यारोमा यही नोभेम्बर ६ मा आयोजना हुन लागेको ‘हाम्रो चौतारी म्युजिकल नाइट’मा चर्चित कलाकारहरूले सांगीतिक तथा नृत्य प्रस्तुति दिने भएका छन्।
कार्यक्रममा फिल्मी कलाकार तथा गायक मिलन राई, गायिका, गीतकार तथा संगीत संयोजनमा समेत सक्रिय भूमिका शाह र फिल्म तथा टेलिभिजन सिरियलकी कलाकार एवं कुशल नृत्यांगना आशा विश्वकर्माको विशेष प्रस्तुति रहने आयोजक पदम राईले जानकारी दिएका छन्। साँझ ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ।
गायिका भूमिका शाहले बेलायतवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन विशेष अपिल गरेकी छन्। नेपाली गीत–संगीतलाई माया गर्ने तथा नेपालीपन र आफ्नो संस्कृति जोगाउन प्रयासरत सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई रमाइलो गर्न उनले आग्रह गरेकी छन्।
उनले लोकदोहोरी, पप तथा आधुनिक संगीतसँगै दमदार नृत्य प्रस्तुतिमा रमाउन सबैलाई ‘चुले निम्तो’ दिएकी छन्। ‘नेपाली गीत–संगीतलाई माया गर्नुहुने सम्पूर्ण युकेवासी नेपाली मन र नेपालीपन जोगाउन हरप्रयासमा रहनुहुने दाजुभाइ, दिदीबहिनी, आमा–बुवा तथा सोल्टी–सोल्टीहरूलाई हाम्रो चौतारी म्युजिकल नाइटमा चुले निम्तो छ,’ भूमिका शाहको अपिलमा भनिएको छ।
आयोजकका अनुसार कार्यक्रम नेपाली संगीत, कला र मनोरञ्जनमार्फत बेलायतमा रहेका नेपाली समुदायलाई एउटै चौतारीमा जोड्ने उद्देश्यले आयोजना गरिएको हो।






