लन्डन। बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा पुरानो साहित्यिक संस्था ‘नेपाली साहित्य विकास परिषद् यूके’को आयोजनामा ११७औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती विविध प्रवचन तथा कविता वाचन कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
वेस्ट लन्डनको एक्टनस्थित एबीआई कलेजमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं परिषद्का पूर्वअध्यक्ष हरिसिंह थापाले महाकवि देवकोटाकै कारण नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मक रूपमा ठूला देशहरूसँगै उभिन सफल भएको बताउनुभयो। देवकोटा बेलायतका शेक्सपियर र मिल्टनजस्ता विश्वका अतिविशिष्ट साहित्यकारहरूसँगै गनिने प्रतिभा भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले भावी पुस्तालाई समेत प्रेरणा दिने बताउनुभयो।
समारोहमा परिषद्का सल्लाहकार तथा पूर्वअध्यक्ष खगेन्द्र नेपालीले महाकवि देवकोटा नेपालका अमूल्य निधि भएको धारणा व्यक्त गर्नुभयो। भाषा-साहित्यको शिखर उच्च बनाउनुका साथै शिक्षामन्त्रीका रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेर उहाँले राष्ट्रको ख्याति बढाएको स्मरण नेपालीले गर्नुभयो। साथै, बेलायतमा नेपाली भाषा, साहित्य र कलाजस्ता नेपाली पहिचानलाई जीवन्त राख्न परिषद्ले खेलेको भूमिका सराहनीय रहेको उहाँले बताउनुभयो।
सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष एवं वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले सन् १९९५ मा स्थापना भएदेखि नै परिषद्ले आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती, स्वागत-सम्मान तथा नववर्षजस्ता साहित्यिक गतिविधिहरू निरन्तर अगाडि बढाउँदै आएको जानकारी दिनुभयो। अध्यक्ष मल्लले महाकविको असीमित योगदानकै कारण आज नेपाली साहित्य विश्वस्तरमा उभिन सकेको बताउनुभयो।
यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा ‘यती’ संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा र साहित्यको संरक्षण एवं संवर्द्धनमा परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गरेको र देवकोटाको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो।
समारोहको आरम्भ गर्दै परिषद्का महासचिव डा. सुधा श्रेष्ठले हरेक वर्ष तिहारको सुरुवातसँगै आयोजना गरिने देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र ऊर्जा मिल्ने गरेको बताउनुभयो।
राष्ट्रिय गान, महाकविको तस्वीरमा माल्यार्पण र मङ्गल धुनबाट सुरु गरिएको समारोहमा नेपालमा हालै गएको बाढी-पहिरोबाट ज्यान गुमाएका ज्ञात-अज्ञात व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो। साथै बाढी-पहिरोबाट भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोक-सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरियो।
साहित्य र गीत-सङ्गीतको संगम रहेको उक्त समारोहमा बसन्त राय क्षत्री, हरिसिंह थापा, खगेन्द्र नेपाली, डा. संगीता स्वेच्छा, रेशम अर्याल, मनोज अञ्जान, कोमल मल्ल, वासुदेव सापकोटा र सुष्मा भट्टराईले कविता वाचन गर्नुभएको थियो। नेपालबाट डा. सृजना श्रेष्ठले पठाउनुभएको कविता सुष्मा भट्टराईले र घनबहादुर थापाको कविता कोमल मल्लले वाचन गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले सहभागिता र सहयोगका लागि वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल OBE, डा. जनककुमारी धिताल, सल्लाहकार खगेन्द्र नेपाली, सल्लाहकार घनबहादुर थापा, कृष्णा थापा, एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, पूर्वअध्यक्ष हरिसिंह थापा, सल्लाहकार विजय थापा, बसन्त राय क्षत्री, देवकुमारी थापा, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, कोशेलीका पूर्वअध्यक्ष तथा सल्लाहकार मदन थापा, वरिष्ठ कोषाध्यक्ष मनोज अञ्जान, गोकुल भण्डारी, पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, रेशम अर्याल, महासचिव डा. सुधा श्रेष्ठ र पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्ललगायत सम्पूर्ण उपस्थितहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।






