नेपाली दूतावासद्वारा बुधबार आयोजित विशेष समारोहमा मन्त्री पौडेलले प्रतिमा अनावरण गरेका हुन्।
सो अवसरमा पशुपति नाथ मन्दिर प्लमस्टिडका पण्डित निलहरि घिमिरेले स्वस्ति वाचन गरेका थिए भने अघिल्लो दिन डायमण्ड बुद्धिस्ट सेन्टरका लामा गुरु खेम्पो रणबहादुर गुरुङले बुद्ध धर्म अनुसार पूजा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले गौतम बुद्ध शान्ति र करुणाका विश्वदूत भएको बताए । उनले बुद्धको शान्ति, करुणा र सद्भावको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन यस्ता पहल महत्वपूर्ण हुने बताए।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले बुद्ध प्रतिमा स्थापना गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलको प्रशंसा गर्दै नेपालको बौद्ध सम्पदा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न संघले पुर्याएको योगदानको सराहना गरे।
विश्वभर १० वटा बुद्ध प्रतिमा स्थापना गर्ने लक्ष्य
लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को पहलमा एनआरएनए यूके, बुद्ध फाउन्डेसन यूके तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न भएको हो। नेपाल पर्यटन बोर्डले प्रतिमा नेपालबाट बेलायतसम्म ल्याउन सहयोग गरेको थियो।
एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले परियोजनाको नेतृत्व तथा समन्वय गरेका हुन्।
सापकोटाका अनुसार लन्डनस्थित नेपाली दूतावासमा स्थापना गरिएको प्रतिमा एनआरएनएको विश्वव्यापी अभियानअन्तर्गत पहिलो हो। संघले विभिन्न देशमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगमा थप बुद्ध प्रतिमा स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
लन्डनपछि पोर्चुगलस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना गर्ने तयारी भइरहेको छ।
लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापना हुनु नेपालको सांस्कृतिक पहिचान, बौद्ध सम्पदा तथा कूटनीतिक सम्बन्ध प्रवर्द्धन गर्ने महत्वपूर्ण उपलब्धि भएको बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले जनाए ।
यस अभियानले भगवान् बुद्धको शान्ति, करुणा र सद्भावको सन्देश विश्व समुदायसम्म पुर्याउने उनले जनाए ।






