लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेपाल-ब्रिटेन पार्लियामेन्टरी फ्रेन्डसिप ग्रुपका अध्यक्ष मनिष झा र बेलायतस्थित भूपू गोर्खा संस्थाहरूको संयुक्त प्रतिनिधिमण्डल ‘जी-१०’ बिच लन्डनस्थित नेपाली दूतावासमा विशेष छलफल सम्पन्न भएको छ। बेलायती सांसद एलेक्स बेकर को निमन्त्रणामा बेलायत भ्रमणमा आएका झा र गोर्खा प्रतिनिधिहरूबिच गोर्खाहरूको दीर्घकालीन माग र अधिकारका विषयमा केन्द्रित रहेर विचार-विमर्श भएको हो।
आफ्नो छोटो बेलायत बसाइका क्रममा सांसद झाले बेलायतका विभिन्न राजनीतिक व्यक्तित्वहरूका साथै दूतावासमा ‘जी-१०’ का प्रतिनिधिहरूसँग सामयिक भेटघाट तथा छलफल गरेका हुन्।
छलफलका क्रममा ‘जी-१०’ को तर्फबाट भूपू गोर्खाहरूका बाँकी रहेका मागहरू तथा प्राविधिक स्तरका समस्याहरूलाई आगामी डिसेम्बर महिनाभित्रै द्विपक्षीय वार्तामार्फत निष्कर्षमा पुर्याउनुपर्ने स्पष्ट सन्देश दिइएको छ।
जवाफमा सांसद झाले गोर्खा मुद्दाप्रति नेपाल सरकार तथा संसद पूर्ण रूपमा गम्भीर रहेको उल्लेख गर्दै आफ्नो तर्फबाट र नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक पहल, साथ र सहयोगका लागि पूर्ण प्रतिबद्धता जाहेर गरेका छन्। गोर्खाहरूको न्यायपूर्ण माग सम्बोधनका लागि नेपाल र बेलायत सरकारबिच उच्चस्तरीय कूटनीतिक समन्वय बढाउन आफूले निरन्तर भूमिका खेल्ने आश्वासन पनि उनले दिएका छन्।






