लन्डन । बेलायतको लन्डनमा आयोजित विश्व पर्यटन बजार (डब्लूटीएम) २०२६ मा नेपालले पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय साझेदारी विस्तारलाई प्राथमिकता दिएको छ ।
नोभेम्बर ३ देखि ५ सम्म ExCeL London मा आयोजित मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ । प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्ड, हवाई सेवा प्रदायक, होटल, ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधि छन् ।

मन्त्री पौडेलले नेपालको प्रदर्शनी कक्ष (नेपाल प्याभिलियन) उद्घाटन गरेका छन् । मेलाका क्रममा उनले भारतका केन्द्रीय संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, भारतीय राज्यसभा सदस्य तथा लेखिका सुधा मूर्ति, संयुक्त अरब इमिरेट्सका अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी र श्रीलंकाका पर्यटन उपमन्त्री प्रा. रुवन रणतुङ्गेसँग भेटवार्ता गरेका छन् ।
भेटमा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, सांस्कृतिक आदानप्रदान, पर्यटन क्षेत्रमा लगानी र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा छलफल भएको जनाइएको छ । मेलामा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा आध्यात्मिक र दिगो पर्यटनका सम्भावना प्रस्तुत गरिएको छ । त्यसैगरी ‘नेपाल वेलनेस वर्ष २०२७’ लाई प्राथमिकता दिँदै योग, ध्यान तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जोड दिइएको पर्यटन मन्त्रालयले जनाएको छ ।
मेलामा रास्वपा सांसद मनिष झा, नेपाली दूतावास लन्डनमा कार्यवाहक राजदूत विपिन दुवाडीलगायत पनि सहभागी थिए ।






