तमु समाज यूकेको देउसी–भैलो सम्पन्न, संस्कृति संरक्षणमा युवाको उत्साहजनक सहभागिता

SHARE:

शिवकुमार गुरुङ
लन्डन । नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै सामुदायिक एकता सुदृढ गर्ने उद्देश्यले तमु समाज यूकेले तिहार देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ।

१४ नोभेम्बर २०२६ मा लन्डनको वेम्ब्लीस्थित बारहम पार्कमा रहेको समाजको आफ्नै सामुदायिक भवनमा आयोजित कार्यक्रम साँझ साढे ५ बजेदेखि राति १० बजेसम्म चलेको थियो। कार्यक्रममा समाजका पदाधिकारी, आमा समूह, युवा समूह, आजीवन सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता थियो।

समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष बिमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि समाज तथा आमा समूहका पूर्वअध्यक्षहरू र कार्यसमितिका पदाधिकारीहरू पनि सामूहिक दीप प्रज्वलनमा सहभागी भएका थिए।

कार्यक्रमको संयोजन उपाध्यक्ष केदारबहादुर गुरुङ र निवर्तमान महासचिव धरमबल गुरुङले गरेका थिए। स्वागत मन्तव्य धरमबल गुरुङले राखेका थिए भने केदारबहादुर गुरुङले देउसी–भैलोको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्त्वबारे प्रकाश पारेका थिए। औपचारिक कार्यक्रमको सञ्चालन महासचिव सुबा घलेले गरेका थिए।

देउसी–भैलोमा अग्रज र युवाको साथ
उपाध्यक्ष केदारबहादुर गुरुङ, युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङको नेतृत्वमा परम्परागत देउसी–भैलो प्रस्तुत गरिएको थियो। सामूहिक गायन र नृत्यमा अग्रजसँगै युवा सदस्यहरू उत्साहपूर्वक सहभागी भएका थिए।

प्रस्तुतिमा केदारबहादुर गुरुङ, माया गुरुङ, धरमबल गुरुङ, काजी गुरुङ, बहादुर गुरुङ, अर्जुन कुमार गुरुङ, गंगबहादुर गुरुङ, प्रज्ज्वलमान गुरुङ तथा युवा समूहका सदस्यहरूको सहभागिता थियो। मौलिक भेषभूषा, गीत र नृत्यले कार्यक्रमस्थलमा तिहारको रौनक थपेको थियो।

अग्रजसँगै देउसी–भैलोमा सहभागी हुँदा प्रवासमा हुर्किरहेका युवाहरूले मौलिक संस्कृति सिक्ने र अभ्यास गर्ने अवसरसमेत पाएका थिए। औपचारिक कार्यक्रमपछि प्रज्ज्वलमान गुरुङ र विशाल तामाङले डिजे सङ्गीतमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

परम्परागत परिकार र आर्थिक सहयोग
आमा समूहकी अध्यक्ष बिमला गुरुङको नेतृत्वमा समूहका सदस्यहरूले सेलरोटीलगायत परम्परागत नेपाली परिकारसहित भोजन तथा पेय पदार्थको प्रायोजन गरेका थिए। कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पेय पदार्थको व्यवस्थापन सम्हालेका थिए।

कार्यक्रममा सदस्य तथा शुभेच्छुकहरूले प्रत्यक्ष र अनलाइन माध्यमबाट आर्थिक सहयोग गरेका थिए। उपस्थित आमा तथा दिदीबहिनीहरूले विभिन्न समूहमा सहभागी भई नेपाली परम्पराअनुसार नाङ्लामा अक्षता, सेलरोटी, फलफूल, पेय पदार्थ तथा आफ्नो क्षमताअनुसारको दक्षिणा सजाएर दियो बाली विधिपूर्वक देउसी–भैलो टोलीलाई अर्पण गरेका थिए। यसरी परम्परागत शैलीमा दक्षिणा अर्पण गर्ने अभ्यासले तिहारको सांस्कृतिक रौनक थप्नुका साथै प्रवासमा पनि नेपाली संस्कार र परम्परालाई जीवन्त राख्न सघाएको थियो।

कोषाध्यक्ष चन्द्रकान्त गुरुङले अपेक्षाभन्दा बढी आर्थिक सहयोग सङ्कलन भएको जानकारी दिँदै सहयोगदाताहरूको नामावली वाचन गरेका थिए। त्यसैगरी, कार्यक्रम संयोजक धरमबल गुरुङले भोजन तथा पेय पदार्थका प्रायोजकहरूको नामावली वाचन गर्दै उनीहरूको योगदानको कदर गरेका थिए। समाजका तर्फबाट कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगदाता तथा प्रायोजकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवशरण गुरुङ, अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, उपाध्यक्षहरू भीमबहादुर गुरुङ र मीरा गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष उमादेवी गुरुङ तथा उपाध्यक्ष मथुरा गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, सल्लाहकारहरू बिजु गुरुङ, धरमबल गुरुङ, गोपी गुरुङ, उदय गुरुङ र टेकबहादुर गुरुङ, ज्येष्ठ नागरिक प्रेमबहादुर गुरुङ र गुमानसिंह गुरुङलगायत समाजका आजीवन तथा युवा सदस्यहरू उपस्थित थिए।

युवा सहभागिता र मानवीय सेवाको प्रशंसा
समापन मन्तव्यमा अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले कार्यक्रम सफल बनाउन योगदान गर्ने पदाधिकारी, स्वयंसेवक, आमा समूह, युवा समूह तथा सहयोगदाताहरूप्रति आभार व्यक्त गरेकी थिइन्। उनले प्राप्त आर्थिक तथा नैतिक सहयोगले समाजका आगामी सामुदायिक हितका कार्यक्रम सञ्चालनमा टेवा पुग्ने बताएकी थिइन्।

गत वर्षको तुलनामा यस वर्ष युवाहरूको सहभागिता बढेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष घलेले अग्रजबाट सिकेका संस्कृति र परम्परालाई निरन्तरता दिन युवा समूहका अध्यक्ष तथा सदस्यहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन्। सोही अवसरमा उनले हालै नेपालबाट फर्किएकी आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङलाई राहत सहयोग हस्तान्तरणमा पुर्‍याएको योगदानका लागि विशेष धन्यवाद दिएकी थिइन्। नेपालका बाढीपहिरो प्रभावितहरूको सहयोगार्थ समाजले सङ्कलन गरेको २५ लाख १ हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको थियो। उक्त रकमको साङ्केतिक चेक माया गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले २४ सेप्टेम्बर २०२६ मा गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेको थियो।

अध्यक्ष घलेले राहत हस्तान्तरणमा माया गुरुङ तथा प्रतिनिधिमण्डलले निर्वाह गरेको भूमिकाको कदर गर्दै समाजका मानवीय सेवाका कार्यमा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्। उनले संस्कृति संरक्षण, पुस्ताबीचको सहकार्य र सामुदायिक सेवामा निरन्तर जुट्न आग्रह गर्दै कार्यक्रम समापन गरेकी थिइन्।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!