लन्डन । किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ यूकेले लिम्बू समुदायको महान् सांस्कृतिक पर्व बलिहाङ तङ्नाम बेलायतको आशफोर्डमा भव्य रूपमा मनाएको छ।
शनिबार १४ नोभेम्बर २०२६ मा आयोजित कार्यक्रम अध्यक्ष मनमाया नेम्बाङ र प्रमुख अतिथि दिपेन्द्र याक्सोले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए। त्यस अवसरमा च्याब्रुङ कलाकार शिखर सम्बाहाङ्फे र राजेन्द्र नेम्बाङले च्याब्रुङ बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए। मातृभूमि नेपालको सम्मानमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
महासचिव शुभ नेम्बाङ साम्युले अतिथिहरूलाई आसन ग्रहण गराउँदै सुरक्षा व्यवस्थासम्बन्धी जानकारी (सेफ्टी ब्रिफ) दिएपछि कार्यक्रम सुरु भएको थियो।
प्रमुख अतिथि याक्सोले बलिहाङ तङ्नामको शुभकामना आदानप्रदान गरेका थिए। उनले चुम्लुङ यूके र थामेन्दिङ्माबीच भइरहेको सहकार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए। साथै, कार्यक्रम सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा विशेष अतिथिका रूपमा आशफोर्ड शाखाका अध्यक्ष सुन्दर लिङ्थेप, रश्मोर शाखाका अध्यक्ष थानकुमान नाल्बो, सगरमाथा नेपाली समाजका अध्यक्ष मोहन सदेम्बा, किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्षहरू लेफ्टिनेन्ट रिटायर्ड सिरि लिम्बू, डम्मर सिंघक र काजीमान याक्सो, सल्लाहकार मेजर रिटायर्ड पदम आङ्बोहाङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने, पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्र नेम्बाङ, गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ, किरात राई यायोक्खा यूकेका महासचिव गंगाराज राई, किरात राई यायोक्खा कलाकार संघकी उपाध्यक्ष निर्मला मादेन तथा किरात राई यायोक्खा प्रारम्भिक शाखा आशफोर्डकी अध्यक्ष सिभानी राईलगायतको उपस्थिति थियो।
अध्यक्ष नेम्बाङले अतिथि तथा कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गरेकी थिइन्। स्वागत मन्तव्य कोषाध्यक्ष गौरी इवाले राखेकी थिइन् भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव शुभ नेम्बाङ साम्युले गरेका थिए।

सांस्कृतिक प्रस्तुतिसँगै कलाकारलाई सम्मान
कार्यक्रमको दोस्रो चरण सांस्कृतिक विभाग प्रमुख माक्सती ओख्रबुले सञ्चालन गरेका थिए। बलिहाङ तङ्नामको अवसरमा नेपालबाट बेलायत आएकी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाकी निवर्तमान अध्यक्ष भूमिका फियाकलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
त्यसैगरी गायक लक्ष्मण लिम्बू, गायिका दिपा सुहाङ र राजेन्द्र केरुङलाई गलबन्दी ओढाएर स्वागत गरिएको थियो।
सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार बिबिशा लिम्बू र ओइसुम साँवाले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए भने गायक डम्बर साँवाले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रम सफल बनाउन सल्लाहकार शकुन्तला नेम्बाङ, कोषाध्यक्ष गौरी इवा र सदस्य अनिता मादेनलगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।
मनमाया नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिम्बू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने सांस्कृतिक प्रस्तुतिहरूले बलिहाङ तङ्नामको रौनक थपेको थियो।







