बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सोमबार (कात्तिक ३०) बिहान करिब १०:२० बजे टुमेडागाउँबाट वडा नं. ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।
अटोमा चालकसहित छ जना सवार रहेको खुलेको छ। दुर्घटनापछि घटनास्थलमा तीन जनाको शव फेला परेको थियो। थप खोजीका क्रममा बुङ्गल नगरपालिका–१० की करिब चार वर्षीया रियास महराको शवसमेत फेला परेको हो।
दुर्घटनामा मृत्यु हुनेमा सोही ठाउँका करिब ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र चार वर्षीया रियास महरा रहेका छन्। अटोमा सवार सोही ठाउँका करिब १२/१३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट पुतलीलेक, इलाका प्रहरी कार्यालय बुङ्गल र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली घटनास्थल पुगेर खोज तथा उद्धार कार्य गरेको थियो।






