लन्डन । लमजुङ समाज यूकेले शनिबार १४ नोभेम्बर २०२६ मा बेलायतको फार्नबरोस्थित सामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा आयोजना गरेको ‘विन्टर पार्टी २०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ।
बेलायतमा रहेका लमजुङवासीहरूबीच आपसी भेटघाट, आत्मीयता, सद्भाव र सांस्कृतिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समाजका सदस्य, अतिथि, स्थानीय कलाकार तथा शुभेच्छुकहरूको सहभागिता थियो। कार्यक्रम सम्पन्न भएपछि समाजका अध्यक्ष पूर्णराज गुरुङले धन्यवाद सन्देश जारी गर्दै कार्यक्रम सफल बनाउन योगदान गर्ने कार्यक्रम संयोजक, आमा समूह, युवा समूह, ओआईसी, स्वयंसेवक, सहयोगदाता, प्रायोजक, अतिथि तथा स्थानीय कलाकारहरूप्रति आभार व्यक्त गरेका छन्।

उनले सांस्कृतिक प्रस्तुति दिने कलाकार, विभिन्न क्षेत्रका अतिथि तथा कार्यक्रममा सहभागी सबैको उत्साह र सहयोगले विन्टर पार्टीलाई भव्य र स्मरणीय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
अध्यक्ष गुरुङले सहभागी सबैले कार्यक्रमको भरपूर आनन्द लिएको र सुरक्षित रूपमा घर फर्किएको विश्वास व्यक्त गर्दै कार्यक्रमका क्रममा कुनै कमी–कमजोरी वा असुविधा भएको भए क्षमायाचना गरेका छन्। आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहभागीहरूको सुझाव र प्रतिक्रियासमेत माग गरेका छन्।
उनका अनुसार विन्टर पार्टीले आपसी मित्रता, एकता र सामुदायिक भावनालाई थप बलियो बनाउनुका साथै नयाँ सदस्यहरूलाई लमजुङ समाजको परिवारमा आत्मीयतापूर्वक स्वागत गर्ने अवसर प्रदान गरेको छ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका तथा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएकोप्रति अध्यक्ष गुरुङले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनले सबैको सामूहिक प्रयासबाट लमजुङ समुदायलाई अझ सशक्त, एकताबद्ध र गतिशील बनाउँदै लैजान आग्रह गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति पुनः धन्यवाद व्यक्त गरेका छन्।










तस्बिर : अध्यक्ष पूर्णराज गुरुङको फेसबुकबाट






