वोकिङ ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटीको पाँचौँ साधारणसभा सम्पन्न, कृष्ण थापा अध्यक्षमा चयन

SHARE:

भूमिराज राई
लन्डन । ब्रिटिश गोर्खा भेट्रान्स सोसाइटी वोकिङको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले लेफ्टिनेन्ट (क्यूजीओ) कृष्ण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

सन् २००९ मा स्वर्गीय लेफ्टिनेन्ट (क्यूजीओ) चक्र राईले स्थापना गरेको संस्थाको साधारणसभाको सुरुवात संस्थापक राईको स्मृतिमा एक मिनेट मौनधारण गरी गरिएको थियो। सभाले विगत दुई वर्षदेखि संस्थाको नेतृत्व गर्दै आउनुभएका निवर्तमान अध्यक्ष लेफ्टिनेन्ट (क्यूजीओ) इसवार आङ्बुहाङको कार्यकालको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष कृष्ण थापा, महासचिव ज्ञानकाजी गुरुङ, सचिव धनकाजी गुरुङ र कोषाध्यक्ष खेम लिम्बु चयन भएका छन्।

कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारको सहभागिता थियो। संस्थापक चक्र राईकी धर्मपत्नी अन्जु राई, छोराछोरी इन्जिनियर उदिप राई, डा. सुबु राई, इन्जिनियर इन्दु राई र डा.नबिता राईसहित नातिनातिनाहरूको उपस्थिति रहेको थियो।

सभाका प्रमुख अतिथि सेवानिवृत्त मेजर तथा वोकिङका पूर्वकाउन्सिलर चित्रा राणाले गोर्खा इतिहासको चर्चा गर्दै संस्थापक चक्र राईले वोकिङ क्षेत्रका गोर्खा परिवारको कल्याणका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभयो। उहाँले संस्थापकले निर्माण गरेको सामाजिक आधारले समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

कार्यक्रममा निवर्तमान अध्यक्ष, महासचिव पूर्ण पुन र पूर्वअध्यक्ष देवी लिम्बुले समुदायको हकहित र अधिकारका लागि एकता आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यसैगरी, नेपाली समुदायका अध्यक्ष राम देउसाली राई तथा इन्जिनियर उदिप राईलगायतले नयाँ पुस्तामा गोर्खा इतिहास, संस्कृति र पहिचान हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो।

नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले गोर्खा सैनिकहरूको वीरता, त्याग र इतिहासलाई नयाँ पुस्ताले गर्वका साथ आत्मसात् गर्नुपर्ने बताउँदै संस्थाका गतिविधिमा भेट्रान्स तथा परिवारको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभाले आगामी दिनमा विभिन्न कल्याणकारी तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। इन्जिनियर उदिप राई र इन्जिनियर इन्दुको नेतृत्वमा परिवार तथा युवा पुस्तालाई लक्षित गरी अन्तरक्रियात्मक कार्यशाला सञ्चालन गरिने भएको छ।

त्यस्तै, ज्येष्ठ भेट्रान्स तथा परिवारका सदस्यलाई लक्षित गरी डा. सुबु र डा. नबिताको संयोजनमा स्वास्थ्य सचेतना तथा परामर्श शिविर आयोजना गरिने जनाइएको छ। विशेषगरी यात्रा गर्न कठिनाइ हुने तथा भाषागत र व्यावहारिक समस्याका कारण स्वास्थ्य सेवा लिन असहज हुनेहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ।

सामुदायिक एकता, आपसी सद्भाव र गोर्खा विरासतको संरक्षणमा जोड दिँदै सम्पन्न सभाले नयाँ नेतृत्वमार्फत संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तस्बिर : इन्जिनियर उदिप राई

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!