भगवान् बुद्धले सात वर्षको छोरालाई भिक्षु बनाइदिनुभयो। १६ वर्ष पुगेको छोरा, जसलाई बाबुआमाले सात वर्षको हुँदादेखि चिनेका थिए, उसमा परिवर्तन देखिन थालेको थियो। उसको शारीरिक तथा मानसिक भाव परिवर्तन भइसकेको थियो। बुद्धि पनि पहिलेको जस्तो रहेन। किशोरावस्थामा प्रवेश गरेपछि सबै कुरामा परिवर्तन आएको थियो।
हाम्रो चाहना छोराछोरी पहिले जस्तो थिए, त्यस्तै रहून् भन्ने हुन्छ। किनकि हाम्रो चाहना एउटा हुन्छ, तर यथार्थ र सत्य भनेको परिवर्तन हो। मेरो छोरा मैले चाहे जस्तै हुनुपर्छ, मेरो श्रीमान् वा श्रीमती मैले चाहे जस्तै हुनुपर्छ भन्ने हामी सोच्छौँ। तर प्रकृति परिवर्तनशील छ।
हामीले चिसो दाउरालाई जबर्जस्ती बाल्न खोज्यौँ भने धुवाँ मात्र निस्कन्छ। त्यही दाउरालाई सुकाएर बाल्दा मात्र राम्रोसँग आगो बल्छ। यसरी नै हाम्रा घरघरमा धुवाँरूपी आगो बलिरहेको छ। जीवन परिवर्तनशील छ, तर हामी प्रकृतिको परिवर्तनलाई स्वीकार गर्दैनौँ।
जवान भइसकेको छोरामा यौन भावना उत्पन्न भएको थियो, जुन बुद्धले थाहा पाउनुभयो। त्यसपछि बुद्धले उसलाई एउटा यस्तो जङ्गलमा लैजानुभयो, जहाँ भिक्षुहरूले ध्यान गर्ने गर्थे। त्यहाँ उसलाई ज्ञान प्राप्त गराउनुभयो। अब राहुल सांसारिक बन्धनबाट मुक्त भए। उनी वाष्पीकरण भएको पानीजस्तै भए।
९७ डिग्रीभन्दा माथि पुगेपछि पानी बाफ बनेर माथि जान्छ। नतातिएसम्म पानी तलतिरै बग्छ। साधकले जबसम्म साधना गर्छ, ऊ तातिन थाल्छ, तर उसको स्वरूप परिवर्तन भएको हुँदैन। जसरी तल बग्ने पानी आकाशमा उड्न थाल्छ, त्यसरी नै राहुल पनि ज्ञान प्राप्त गरेर इन्लाइटन भए।
बुद्धका पञ्चस्कन्ध (Five Aggregates)
बुद्धका पञ्चस्कन्ध हुन्– रूप, वेदना, सञ्ज्ञा, संस्कार र विज्ञान।
रूप : मैले तपाईंलाई र तपाईंले मलाई आँखाले देख्नु नै रूप हो।
वेदना : संवेदनशीलता जाग्नु, तरङ्ग उत्पन्न हुनु नै वेदना हो। यसबाट सकारात्मक अनुभूति आउँछ, आनन्द आउँछ। जस्तै, माइकल ज्याक्सनलाई देख्दा जाग्ने भावना। नकारात्मक भाव पनि जाग्छ। कसै-कसैलाई देख्दा रिस उठ्छ। कतिपय हिरोइनलाई देख्दा रिस उठ्छ।
रामानन्द सागरको रामायण यति लोकप्रिय भएको थियो कि राम, सीता र लक्ष्मणको अभिनय गर्ने कलाकारहरूलाई देख्दा मानिसहरू गाडी रोकेरै ढोग्थे। जस्तै, प्राण, अमरीश पुरी भन्ने व्यक्तिलाई सडकमा देख्दा मानिसहरू डराउँथे। कतिपय विदेशीहरू हिमाल देख्दा रुन्छन्। पेन्टिङ देख्दा रुन्छन्। लन्डनमा रहेको डेभिडको मूर्ति देख्दा मलाई पनि झनझन भएको थियो।
रूपले तीन किसिमका वेदना ल्याउँछ– सकारात्मक, नकारात्मक र तटस्थ। वेदना भनेको मेरो भावना हो। सकारात्मक वा नकारात्मक वेदना आउनासाथ सकारात्मक वा नकारात्मक सञ्ज्ञा (विचार) आउँछ। नकारात्मक विचार आउनासाथ त्यो मान्छेलाई हेर्न मन पर्दैन।
त्यसपछि संस्कार आउँछ। हाम्रो अवचेतन मनमा सञ्ज्ञाहरू थुप्रिँदै जान्छन्। त्यही मेमोरी अर्थात् स्मृतिहरू नै संस्कार बन्छन्। कुनै महिनौँ, वर्षौँदेखिका वा पूर्वजन्मका सञ्ज्ञाहरू थुप्रिएर बसेका हुन्छन्।
छोराछोरीले बाबुआमाबाट धेरै माया र गुण पाएका हुन्छन्। कुनै-कुनै बेला धम्की पनि पाएका हुन्छन्। बाबुआमाले हजारौँ राम्रा कुरा गरेका हुन्छन्, नराम्रो कुरा भने थोरै गरेका हुन्छन्। त्यही बाबुआमाको पैसाले विदेश गएका छोराछोरीले बाबुआमाले गरेको दुःख बिर्सन्छन्, तर कहिलेकाहीँ दिएको दुःख सम्झन्छन् र एउटा फोनसमेत गर्दैनन्। किनकि त्यही संस्कार उनीहरूको मनमा बसेको हुन्छ।
मलाई मेरा अभिभावकले गरेका सबै गुनभन्दा बैगुन र बेइज्जती सम्झना आउँछन्। अनि त्यही नराम्रो संस्कार सम्झन्छु र फोन गर्नसमेत बिर्सन्छु।
हामी किन यस्तो क्रूर भइदिन्छौँ? हामी त्यस्तो मान्छे होइनौँ, तर मलाई मेरा बाबुआमालाई फोन गर्न मन पर्दैन। म त्यस्तो होइन, तर गुनासो गर्न भने छोड्दिनँ। कतिपय कुरा गर्नै हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि गरिरहेका हुन्छौँ।
दूध (रूप) खाँदा एउटा विचार आउँछ। त्यसपछि तितेपाती मिसाएको दूध झ्वाम्म खान पुग्छ। अब दूध (रूप) तितो (सञ्ज्ञा) भयो भने बुद्धिले त्यसलाई हेर्नै मन लाग्दैन। दूध भनेको मिठो चिज हो भन्ने मान्यता थियो, पछि त्यसले दूध भनेको नमिठो चिज हो भन्ने अर्थ लगायो।
संस्कार नै परम दुःखको कारण हो, अर्थात् मानिसको सबैभन्दा ठूलो दुःखको कारण संस्कार हो। हामी पुराना घटनाका विचारका दास हौँ र तिनैबाट सञ्चालित छौँ। त्यसैले मैले गर्नै नपर्ने काम पनि गरिदिन्छु।
रक्सी (रूप) खाएपछि सुखद वेदना आयो। त्यसपछि सञ्ज्ञाले भन्यो– रक्सी भनेको मलाई दुःख भुलाइदिने चिज हो। रक्सी भनेको खुसी हो। अनि त्यही संस्कार बन्यो।
मुक्ति भनेको इन्लाइटनमेन्ट हो। यसबाट सुख वेदना र दुःख वेदना दुवैबाट बाहिर आउने उपाय चित्तानुपस्सना मेडिटेसन गर्नु हो। म आफ्नै चित्तलाई बुझ्छु। कसरी सुख, दुःख, घृणा अनि पीडा उत्पन्न गराउँछ भन्ने बुझ्छु। अनि म आफैँलाई मुक्त गर्न सक्छु।
राउटेहरू जङ्गलमा हराउँछन्। हामी सहरमा हराउँदैनौँ, किनकि हराउनु भनेको बाटो बिराउनु मात्र होइन, नबुझ्नु पनि हो। हामी पनि जङ्गलमा हराइरहेका छौँ।
(शनिबार ३१ अक्टोबर २०२६ मा डा.योगी विकासानन्दले दिएको प्रवचन यूकेवासी मनोक्रान्ति साधिका अनिताकुमारी गुरुङद्वारा अनुवादित)






