एटा संवाददाता
अल्डरसट । एनआरएनए यूकेले नेपालका अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई ३ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
एनआरएनए यूकेले गत शुक्रबार २५ जनवरी साँझ साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा आयोजित कार्यक्रममा ज्ञापन पत्र बुझाइएको हो । त्रिभुवन विमानस्थलमा एनआरएन हेल्प डेक्सको व्यवस्था गर्नुपर्नेलगायत गैरआवासीय नेपालीले अध्यागमनमा भोग्नुपरेका समस्याहरु उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै अध्यागमन विभागका महानिर्देशक पौडेलले गैरआवासीय नेपालीहरुलाई परेको समस्या सँगै मिलेर समाधान गर्न आफू इच्छुक रहेको बताए । साथै, उनले नेपालको अध्यागमन विभागमै छुट्टै ‘एनआरएन डेस्क’ तत्काल राख्न पहल गरिने आश्वासन दिएको एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले जानकारी दिए । त्यस्तै, उनले नेपालको अध्यागमनलाई विकशित देशहरुकै जस्तै गरी सुधार गर्दै लैजाने केही महिनापछि काठमाडौं उत्रिँदा फरक पाउनेसमेत दाबी गरेका थिए ।
कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके उपाध्यक्षद्धय शेरबहादुर सुनुवार र प्रेम गाहा मगर, महासचिव राजकुमार त्रिपाठी, उपमहासचिव विनय अधिकारी, एनआरएनए आईसीसी सदस्य रामशरण सिम्खडा, कुमारी गुरुङ, एनआरएनए रोड सेफटी संयोजक थर्क सेन, एनआरएनए यूकेका सल्लाहकार शिवजी श्रेष्ठ, कृष्ण तिमिल्सिना, कमल पौडेल, गोविन्द अर्याल, दिपक (डेविड) गुरुङ, देव गुरुङ, पत्रकार नवीन पोखरेल, वाचस्पति रेग्मी र लन्डन नेपालका प्रधान सम्पादक शिव भण्डारीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा एनआरएनए आईसीसी उपाध्यक्ष एवं प्रमुख अतिथि कुल आचार्य, अध्यक्ष योगकुमार फगामी, एनआरएनए यूकेका सल्लाहकार शिवजी श्रेष्ठ, दिपक (डेविड) गुरुङ, महासचिव राजकुमार त्रिपाठी, उपमहासचिव विनय अधिकारी, वाचस्पति रेग्मी लगायत सहभागीहरुले नेपालको अध्यागमनसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।
नेपालका अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलको नेतृत्वमा विमानस्थल अध्यागमन प्रमुख राजेश पौडेल, निर्देशक विष्णुहरि उपाध्याय, गृह मन्त्रालयका सहसचिव चुडा न्यौपाने, वरिष्ठ अध्यागमन अधिकृत आनन्द पौडेल, कुलशेखर अर्याल र अध्यागमन अधिकृत मञ्जु शर्मा सहितको अध्ययन समूह बेलायतको अध्यागमनबारे अध्ययन गर्न बेलायत आएको अवसरमा एनआरएनए यूकेले कार्यक्रम आयोजना गरेको थियो । उनीहरुलाई यूके बोर्डर फोर्सले बेलायतको अध्यागमनबारे जानकारी गराएको थियो ।
एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहासचिव विनय अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव राजकुमार त्रिपाठीले कार्यक्रम संचालन गरेका थिए ।






