एटा संवाददाता
लन्डन । बेलायतवासी नेपालीहरुद्वारा निर्मित तथा निर्देशित नेपाली चलचित्र ‘एटीन’ को टिजर तथा पोस्टर सार्वजनिक भएको छ । गत शनिबार २ जनवरीका दिन लण्डनमा एक कार्यक्रमको आयोजना गरी सो चलचित्रको ट्रेलर तथा पोस्टर सार्वजनिक गरिएको हो ।
प्रमिस भिजनको व्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतवासी प्रेम लामाले निर्देशन गरेका छन् । नेपालीहरु बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेपछि दोस्रो पुस्ता युवायुवतीहरु बेलायतकै संस्कारमा हुर्केका छन् । पहिलो र दोस्रो पुस्ताबीचको अन्तरलाई सो चलचित्रमा प्रस्तुत् गर्न खोजिएको निर्माण पक्षको भनाइ छ ।
चलचित्रमा १८ वर्षमुनिका बालबालिकाहरुको सोचाई, उनीहरुको अवस्था, आफ्नो सन्तानप्रति अभिभावकको भूमिका, चाहना र भविष्यबारे गरिएको चिन्तनलाई प्रस्तुत् गर्न खोजिएको निर्देशक लामाले जानकारी दिए । उनले नेपाली समुदायमा भएका घटनालाई आधार बनाएर निर्माण गरिएको चलचित्र आउने २४ फेबु्रअरीका दिन ह्यारोस्थित सफारी सेना हलमा पहिलो प्रदर्शन गरिने बताए । उनले भने, ‘चलचित्र अर्गानिक हो, अर्थात् बेलायतकै नेपाली निर्माता, निर्देशक र कलाकारहरुले अभिनय छ ।’ उनका अनुसार उक्त चलचित्र छिट्टै अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन हुनेछ भने युरोपका पोर्चुगल, बर्सा, पेरिस र बेलायतका विभिन्न शहरहरुमा प्रदर्शनको तयारीमा रहेको छ ।
करिब ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको चलचित्र हेर्न इच्छुक दर्शकहरुको सुविधाका लागि विभिन्न संघसंस्थामा टिकट पठाइएको बताउँदै चलचित्र राम्रो बनेको भन्दै सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हेर्न अनुरोध गरेका छन् ।
उक्त चलचित्रमा बेलायतवासी नेपालीहरुले अभिनय गरेका छन् । जसमा प्रसुना कँडेल, राजदीप राई, अम्बिका राई, सनम कुमार वैराग, रितेश चाम्स लगायत रहेका छन् । त्यस्तै नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनले समेत अभिनय गरेका छन् ।
तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा चन्द्र कुमार डोङ र तारा प्रकाश लिम्बुको संगीत, निर्मला घिसिङ र तारा प्रकाश लिम्बुको स्वर, चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठको शब्द, एल.एक्स. पौडेलको ब्याकग्राउण्ड साउण्ड डिजे, किरण राज थापाको सम्पादन, कुशल श्रेष्ठ, अशोक कुमारको छायांकन रहेको छ ।
निर्देशक लामाले बेलायतमै सन् २००३ मा मेनिका, २०११ मा कसुर र सन् २०१५ मा युटर्न नामक चलचित्र दर्शकमाँझ पस्किसकेका छन् । एटीन उनको चौथो चलचित्र हो ।






