राष्ट्रले सम्झनु पर्ने व्यक्तित्व ‘डाँफेबाजे’

SHARE:

जसु गुरुङ
 एउटा हँसिलो मुहार प्रायः ब्रिटिस आर्मीहरुमा प्रयोग हुने टोपी, सर्ट, पाइन्ट अनि रिलवाला क्यामेरा साथमा लिएर हिँडेको देखिने एक व्यक्तित्व अर्थात् मेरो आदरणीय गुरु स्व. क्या. मिनबहादुर गुरुङ (डाँफेबाजे) । सबै देश तथा विदेशमा हुने नेपालीहरुको मन मष्तिस्कमा बसेझैं मेरो मनमा पनि उहाँ बसिरहनुभएको छ । उहाँसँगको भेट २०६२ सालमा थकाली समाज घर नदिपुरमा भएको थियो । सन्दर्भ आदिवासी दिवसको दिन थियो । मेरो सौख साहित्यतर्फ पनि भएको कारण त्यो दिन म मैले कविता गुरुङ भाषामा प्रस्तुत गरेकी थिएँ । सो कविता वाचन उहाँ अर्थात् स्व. क्या. मिनबहादुर गुरुङको क्यामेरामा कैद भएको रहेछ ।

कविता वाचन सकिनेबित्तिकै उहाँ मसँग परिचय गर्न आउनुभयो । मैले आफू पढाइको सिलसिलामा स्याङ्जादेखि पोखरा आएको अनि बिहानको कलेज दिउँसो फ्रि नै हुन्छु भनेपछि उहाँले फोन नम्बरसहित डाँफे कला मन्दिर, उहाँको निवासमा आउन आग्रह गर्नुभयो । यस्ता कविताहरु छन् भने लिएर आउनु भन्नुभएको थियो । पोखरा बसाई नयाँ नै थियो मेरो लागि । त्यसैले भोलिपल्ट लिला दाइसँगै डाँफे कला मन्दिर पत्ता लगायौं । डाँफे पुग्दा एक जना राम्री युवती सलिना गुरुङले “बाजे खाना खाएर माथिल्लो तलामा आराम गर्दै हुनुहुन्छ” भन्नुभयो । एकछिन त कुर्‍यौं तर बाजे तल्लो तलामा नझरेपछि त्यो दिन त्यसै फक्र्यौं । हामी फर्किसकेपछि बाजे हामी फर्केको कुरा थाहा पाउनुभएछ । फेरि फोन गर्नुभयो । त्योबेला मोबाइलको सुविधा थिएन, टेलिफोन म बसेको भन्दा अर्को घरमा उहाँले फोन गर्नुभयो । भोलिपल्ट पुनः डाँफे कला मन्दिरमा नै पुग्यौं । अनि के कसो हो भन्ने कुरा अनविज्ञ थिएँ । त्यो दिन डाँफे कला पुरै घुमाउनुभयो । ड्रेस रुम, साउण्ड सिस्टम रुम, डान्स रुम अनि क्यासेटहरु डविङ गर्ने एउटा रुम जहाँ फिल्मका पोस्टरहरुदेखि भिसिडी, सिडी, क्यासेटहरु थिए, त्यो दिन अघिल्लो दिनमा खिचेका भिडियोहरु अनि गाउँको वृत्तचित्र देखाउनुभयो । अनि भन्नुभयो– अब तिमीले लेखेको कविता खिचेर यसरी नै देखाउने भनेर भोलि सबै कविताहरु लिएर आउने आग्रहका साथ त्यो दिन छुट्यौं र भोलिपल्ट कविताहरुसहित म त्यहाँ पुगें ।

त्यहाँ धेरै जनजातिका भेषभुषामध्ये गुरुङको ड्रेस लगाउन भन्नुभयो । सलिनाको सहयोगमा मैले त्यहाँको भेषभुषा, डोको लिएर तस्बिर खिच्ने मौका पाएँ अनि हरियो रङको पर्दामा उहाँले मेरा कविताहरु खिच्न थाल्नुभयो । अनौठो लागिरहेको थियो, क्यामेरामा हेरेर के भन्ने होला भन्ने लागिरहेको थियो । आज एउटा, भोलि अर्को गर्दै केही कविता वाचनको भिडियो खिचिसकिएको थियो । तिनै भिडियो हेर्दै एकपछि अर्को केही नयाँ कुराहरु सिक्दै म फर्कने गर्थें । प्रायः प्रत्येक दिनको काम सकिसकेपछि चिया लिएर दोस्रो तल्लामा जान्थौं । बाजे अनि अन्य साथीहरु सबै सँगै बएर चिया पिउँथ्यौं । सोही क्रममा उहाँको बारेमा धेरै कुराहरु थाहा पाउने मौका मिलेको थियो ।

उहाँको जन्म वि.सं. १९९० मा ठूलो भूकम्प आएको बेलामा भएको रे, रमाइलो पारामा भुन्नुहुन्थ्यो । कास्की जिल्ला, भदौरे तामागी गाविस वडा नं. २ मा बाबा स्व. धनसुर गुरुङ र आमा स्व. मनसुब्बा गुरुङको तीन दाजुभाइमध्ये कान्छा छोराको रुपमा जन्मनुभएको कुरा भन्ने गर्नुहुन्थ्यो ।

हरेक दिनको चियागफ निकै लामो हुने गथ्र्यो । म पहिला प्रायः चिया नपिउने मान्छे, डाँफे बाजेको गफको सुरमा चिया पिउने बानी बसिसकेको थियो । आफ्नो हरेक कुराहरु निकै रमाइलो शैलीमा भन्ने गर्नुहुन्थ्यो । उहाँलाई सुन्दा नै रंगीन लाग्थ्यो । उहाँ १५ वर्षको हुँदासम्म भेडी गोठमा बिताएको, पढ्न नपाएको, त्यसपछि १६ वर्षको उमेरमा बेलायती सेनाको गोर्खा इन्जिनियरमा भर्ती भएको, त्यसपछि बल्ल पढ्न सिकेको कुराहरु गर्नुहुन्थ्यो । भर्ती भएको ३ वर्षपछि ६ महिनाको छुट्टी आउँदाको समयलाई रमाइलो पारामा सम्झनुहुन्थ्यो उहाँ । “त्यतिबेलाको समयमा त लाहुरेको छुट्टै सानमान, ओहो…अगाडि पछाडि भरियाहरु, आफूचाहिँ बीचमा, हातमा घडी, खुट्टामा काटावाला जुत्ता, कडककडक पड्काएर भैरहवादेखि आउँदा त ओहो….दस दिनमा घर आइपुगेको ।

पहिलो छुट्टिमा नै आउँदा (बजैतिर देखाउँदै) ऊ बजैलाई विवाह गरेको । बजै मैतकुमारी गुरुङ “हि…बाजे पनि” भन्नुहुन्थ्यो । बिहेपछि बजैलाई पल्टन लानुछ । पल्टनमा नै रहँदा एक छोरा पृथ्वीमान गुरुङ र एक छोरी विष्णु गुरुङको जन्म भएछ । छोराछोरी साना छँदा नै २५ वर्षे लाहुरे जीवन व्यतित गरेपछि क्या. पदमा गाउँ फर्केको कुराहरु सुनाउनुहुन्थ्यो ।

वि.सं. २०२८ मा अवकाशपछि पोखरा सेती नदीको किनार बगरमा १५ पैसाको टिकट लिएर हरेक साँझ नाच देखाइन्थ्यो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफ्नो लोकसंस्कृति प्रदर्शन गरी मनोरञ्जन दिने र लोकसंस्कृतिको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले लोकसंस्कृति यस्तो भनेर देखाउने, लोकसंस्कृति पनि जोगिने भन्नुहुन्थ्यो । २०३२ सालमा विधिवत् रुपमा डाँफे कला मन्दिर दर्ता गरेको जस्ता कुराहरु सुनाउनुहुन्थ्यो ।डाँफे कला मन्दिरको स्थापना भएपछि रोधी घरमा मात्र सीमित रहेका प्रतिभाहरु आफ्नो कला र गलामार्फत जनमानसको अगाडि देखाउने मौका पायो । ठाउँठाउँमा सांस्कृतिक कार्यक्रमहरु, टुरिस्टहरुलाई पोखराका ठूलाठूला होटलहरु जस्तै होटल ड्रागन, सांग्रिलाजस्ता थुप्रै ठाउँहरुमा नाच देखाउँथ्यौं, अहिले यो द्वन्द्वपछि रोकिएको छ भन्नुहुन्थ्यो ।

हरेक दिन नयाँनयाँ कामहरु सिक्दै र सिकाउँदै डाँफे अगाडि बढिरहेको थियो । डाँफे बाजेले संस्कार र संस्कृतिसँग सम्बन्धित केही पुस्तकहरु घाँटु (मगर र गुरुङ जातिमा आधारित), ‘सोरठी’ र ‘रोधी’ नामक किताब पनि निकाल्नुभएको रहेछ । त्यो मलाई दिनुभयो, पढ्ने अवसर पनि पाएँ । त्यसरी नै विभिन्न वृत्तचित्र करिब १७ वटा निर्माण गरिसक्नुभएको रहेछ । कहिलेकाही वृत्तचित्र ‘हाम्रो पोखरा’ हेथ्र्यौं त कहिले कोल्मा काउलेको दर्दनाक पहिरोको वृत्तचित्र हेथ्र्यौं । बाजेले त्यतिबेलाको डरलाग्दो समयलाई पनि उसरी नै सम्झनुहुन्थ्यो । पहिरो जाने दिनमा नै आफू अर्को ठाउँमा गएको बेला परेर आफू बाँचेको जस्ता कुराहरु सुनाउनुहुन्थ्यो । सोही क्रममा मलाई पनि वृत्तचित्रको लागि स्क्रिप्ट कसरी लेख्ने भन्ने बारेमा केही आइडियाहरु दिएपछि मैले ‘ल्वाङघलेल’ र ‘ढुङ्गेनी गाउँ घान्द्रुक’ नामक वृत्तचित्रको स्क्रिप्ट लेखनको अनुभव गर्ने अवसर पाएको थिएँ । यो वृत्तचित्रसँग जम्मा १९ वटा वृत्तचित्र डाँफे बाजेको उत्पादन हुन् । त्यसरी नै कहिलेकाहीँ सुरुआती समयमा विभिन्न जनजातिका भेषभुषालाई निरन्तर दिन गाह्रो भएको अनुभव सुनाउनुहुन्थ्यो । “पहिला मान्छेहरु आफू र कलाकारहरुले लगाएको भेषभुषा देखेर खिल्ली उडाउँथे तर मैले कसैको कुरा नसुनी निरन्तरता दिएँ, आज जनजातिको भेषभूषाले विश्व हाँकिरहेको छ” भन्दै खुसी व्यक्त गर्नुहुन्थ्यो ।

नेपालीजगतका चर्चित कलाकारहरु उत्पादन गरियो, मौसमी मल्लदेखि सीता गुरुङलगायत कला क्षेत्रमा निरन्तरता दिइरहेका होनाहार कलाकारहरु पनि उहाँको उत्पादन हुन् भन्दा ओहो… जस्तो लाग्यो मलाई । पहिला रोधी घरमा मात्र सीमित हुने लामो दोहोरी भाका, दोहोरी गीतको सुरुआत पनि डाँफेबाट नै सुरु भएको कुराहरु पनि बाजेले सुनाउँदा अचम्म हुन्थें म । कसरी आयो होला त्यस्तो सोंच, आज दोहोरी गीतले संसारको कुनाकुना नेपाली स्टेज घन्किरहेको छ ।

बाजेका प्रत्येक दिन नयाँ र नौला कुराहरु सुन्दै डाँफेबाट निस्कने गर्थें । कहिलेकाहीँ बाजे आफैले मलगायत साथीहरुलाई ट्याक्सीमा घर छाडेर आउनुहुन्थ्यो । फेरि भोलिपल्ट आउँदा कहिले भेषभूषा लगाएर फोटो खिच्ने व्यस्त हुनुहुन्थ्यो त कहिले फिल्म… मा व्यस्त हुनुहुन्थ्यो । प्रायः नयाँ प्रतिभालाई प्रोत्साहन दिने कामहरु गर्नुहुन्थ्यो । एकदिन म त्यहाँ पुग्नेबित्तिकै बाजेले “ल आज तिम्रो नाच हेर्ने”, भन्नुभयो । हलमा अरु साथीलगायत नाच सिकाउने गुरु मनोहर सर हुनुहुन्थ्यो । स्कुलमा नाचगान गर्ने भएपनि डर लागेको महसुस भइरहेको थियो । एउटा टेप थियो । बाजेले यो टेप २५ वर्ष भयो भन्नुहुन्थ्यो, हेर्दा छुट्टै देखिन्थ्यो ।

कुन्ति मोक्तानको गीत बज्यो, म नाचें । सबैले हेरिरहँदा म भुइँमा हेरेर नाचें । कसरी नाचें, के गरेर नाचें मलाई थाहा थिएन । बाजे र गुरुको छलफलपछि बाजेले मलाई “भोलिदेखि एकछिन डान्स क्लास पनि लिने है भन्नुभो । भोलिपल्टदेखि मेरो खाली समय नृत्य पनि सिक्ने भएँ । पहिले मैले गरिरहने नृत्यभन्दा त्यहाँ मैले फरक पाइरहेको थिएँ । नृत्य सिक्दै गरेपछि “आज बाह्र हाते पटुकी” भन्ने गीतमा पहिलोपटक सिकेर कम्पोज भयो । त्यसपछि मैले धेरै नृत्यहरु सिकेँ तर त्यो गीत मेरो पहिलो गीत थियो । त्यसैले पनि आजसम्म सम्झिरहन्छु ।

त्यसपछि विभिन्न जनजातिहरुको बारेमा पनि डाँफे बाजेमार्फत् नै जान्ने, बुझ्ने मौका पाएँ साथै जनजातिको नृत्यशैली पनि सिक्ने मौका पाएँ । मेरो मिल्ने साथी माया गुरुङ थियो । ऊ र म धेरै कार्यक्रममा सँगै नाच्थ्यौं । उसलाई पनि नृत्य गर्न थालेपछि पहिला डाँफेमा नै ल्याएँ । त्यसपछि झनै रमाइलो हुन्थ्यो । हाम्रो दिनभरको आ–आफ्नो काम साथै नृत्य कक्षा सकेपछि चियागफ झन् लामो हुन्थ्यो । टेवलमा गोलो आकारमा बसेर हामी बाजेको गफमा मस्त हुन्थ्यौं । सुरुआती डाँफेको समय विभिन्न नाटक अनि नाच लिएर देशभरिका विभिन्न ठाउँ तथा विदेशमा पनि जान्थ्यौं । पाल्पा जिल्लामा त नाटक एकदमै मन पराएर एक महिनासम्म त्यतै बसेको कुरा सुनाउनुहुन्थ्यो । डाँफेको कार्यक्रम स्व. राजा वीरेन्द्र, स्व. रानी ऐश्वर्यदेखि विदेश इङ्ल्यान्ड, थाइल्यान्ड, जापान, डेनमार्क, भारत, बंगलादेश, यूके, श्रीलङ्कालगायत विभिन्न देशहरुका विशिष्ट व्यक्तिहरुलाई समेत प्रदर्शन गरेको कुरा उहाँ बताउनुहुन्थ्यो ।

क्यामेरा भिरेर हिँड्ने बाजे जहाँ पनि नयाँ केही भयो भने क्यामेरामा कैद गरिहाल्ने बानी थियो । भरखरै महोत्सवको आयोजना लेखनाथबाट सुरु भएको थियो । लेखनाथ महोत्सवको झलकहरु पनि कैद गर्नुभएछ र आएर मलाई ल यसको रिपोर्ट गर्नुपर्‍यो भनेर केही तयारी गर्न भन्नुभयो । आफैलाई रिपोर्टिङको बारेमा केही थाहा थिएन । इन्फरमेसन यस्तो हो स्क्रिप्ट तयार गर्नु अनि तयार भएको कुराहरु बोल्ने हो भनेपछि मैले त्यो अनुभव पनि लिएँ । तर बोलेका कुराहरु इडिटिङ गर्ने कामहरु महेन्द्रपुलमा अवस्थित मुल्मी इडिटिङमा गर्ने क्रममा सोही समयमा उहाँहरुलाई गीतको निम्ति मोडेल चाहिएको र खोजेजस्तै त्यहाँ देखेपछि बाजेमार्फत् नै सिफारिस भयो । त्यसैक्रममा सुटिङस्थल अर्मला गाउँ पुग्यौं तर गाउँमा सुटिङ गर्ने अनुकूलता नभएपछि अधुरो कामसँगै पोखरा फक्र्यौं र त्यसलगत्तै नृत्य गुरुले गाउनुभएको गीत ‘पातभन्दा फूल राम्रो’ को पहिलो गीत सम्पन्न भयो ।

हामीलाई यो क्षेत्रमा अभिप्रेरित गर्दै हौसला दिँदै भन्नुहुन्थ्यो, “तिमीमा यस्तो खुबी छ, तिमी गर्न सक्छौ, अहिलेसम्म महिला निर्देशक छैन, तिमी निर्देशक बन्नुपर्छ” भन्नुहुन्थ्यो । सोही क्रममा डाँफे बाजेले फिल्म निर्माण गर्ने तरखरमा हुनुहुन्थ्यो । ‘नास मु ह्रेगो’ भन्ने चलचित्र निर्माणका क्रममा हुनुहुन्थ्यो । त्यो चलचित्रको केही स्क्रिप्टको पाटो र सह–निर्देशनको पाटो मैले पनि हेर्न पाएको थिएँ । जुन फिल्म २०६३ सालमा निर्माण भएको थियो । हुन त, त्यो भन्दा अगाडि २०५२ सालदेखि नै डाँफेबाजे चलचित्र निर्माणमा अग्रसर हुनुहुन्थ्यो । २०५२ सालमा ‘न्हाम्स्यो न्होरी’ हुँदै रि–च्हमी, म्ही सैं, धिरवै ताँ निर्माण भइसकेको थियो ।

त्यसपछि फिल्म सकेकोबित्तिकै नै घान्द्रुकको स्क्रिप्ट लेखनको जिम्मेवारी दिनुभयो । वृत्तचित्र रमाइलो हुनुपर्छ भनेपछि वृत्तचित्रमा गाउँसँगै सम्बन्धित गीतहरु पनि तयार भयो साथै ‘घान्द्रुके ठिटी’ बसन्ती लालचनले रच्नुभएको गीत समावेश गर्ने कुरा भयो । भर्खरै ‘मार्फा गावैमा’ बोलको गीत एकदमै चलेको थियो । त्यसैगरी घान्द्रुके गीत पनि हामीले सुनेका मात्रै थियौं । पछि बाजेले घान्द्रुकको वृत्तचित्रमा समावेश गर्ने निधो गर्नुभयो । ५ वटा जति गाउँ सम्बन्धित गीत तयार भयो । दसैं तिहारको बिचमा वृत्तचित्रको अन्तिम गीत ‘घान्दु्रके ठिटी’ बोलको गीत सुटिङ्ग गर्ने भन्नुभएको थियो । मोडलको रुपमा उहाँले मलाई नै छान्नुभएछ ‘घान्द्रुके ठिटी’को लागि ।

२०६५ सालको ल्होसार विमोचन गर्ने भनेर बाजे सम्पादनमा लागिरहनु भएको थियो । वृत्तचित्रमा क–कस्ता कुराहरु समेट्ने, कत्तिको लामो बनाउनेजस्ता छलफल गरिरहन्थ्यौं । मंसिर ३ गते बेलुका पनि छलफल गरी भोलि छिट्टै आउने भनेकोले भोलिपल्ट म डाँफे आउने हत्तारिँदै थिएँ । डाँफेबाट फोन आयो डाँफेबाजे बिरामी हुनुभयो भनेर । म हतार हतार डाँफे आइपुगेँ । बाजे रक्तचापका कारण ढलेकोले हस्पिटल लगिएको खबर पाएँ । केहीबेरमा उहाँको दुःखद् निधनको खबर सुन्नुपर्‍यो । म स्तब्ध भएँ ।

२०३२ सालदेखि त्हे छिनिङ गुम्बा दिपको अध्यक्ष पद सम्हाल्नुभएका डाँफेबाजे त्यहाँको आजीवन सदस्य हुनुहुन्थ्यो । तमुधिँ नेपालको सांस्कृतिक संयोजकको जिम्मा लिनुभएको डाँफेबाजेले तमूधिं लगायत अरु ठाउँहरुमा गएर सांस्कृतिक कार्यक्रम मात्र हैन, तमुहरुको संस्कार संस्कृति बचाउने अभियानमा लाग्नुभयो । तमुहरुले चैत र साउनको अन्तिम मंगलबार मनाउने ट्होटे पर्वको सुरुआत पनि डाँफेबाजेले नै गर्नुभएको रहेछ । २०३७ सालमा नेपाल कलाकार संघ कास्कीको अध्यक्ष साथै बालज्योति प्रा.लि. को सञ्चालक समितिको अध्यक्षसमेत उहाँले सम्हाल्नुभयो ।

लाहुरे जीवनको अवकाशपछि पनि समाजसेवासँगै आफ्नो संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ भन्ने हेतुले लाग्नुभएको डाँफेबाजे गुरुङरुको मात्र नभई विभिन्न जनजाति साथै सम्पूर्ण नेपालीहरुको मन मस्तिष्कमा रहनुभएको छ । मलगायत हजारौ संख्यामा नवप्रतिभाको उत्पादन गर्दै यस क्षेत्रमा अभिप्रेरित गर्ने, हौसला प्रदान गर्ने र उर्जा दिने डाँफेबाजे राष्ट्रले नै सम्झनुपर्ने व्यक्तित्व हुनुहुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!