एटा संवाददाता
लन्डन । विश्वका ८ हजार उचाईमाथिका सबै १४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मल पूर्जालाई ए–स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सो कम्पनीले रुआफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए–स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए । ए–स्टारले पूर्जाको अभियान जारी भएसम्म प्रत्येक एक मोर्गेज डिलबाट दस पाउन्डका दरले दिने दर्लामीले जनाए ।
पूर्जा यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईका सबै १४ हिमाल चढ्ने महत्वकांक्षी योजनामा छन् । पूर्जाको यो महत्वकांक्षी प्रोजेक्ट एकदम खर्चिलो छ । उनलाई यो प्रोजेक्ट सम्पन्न गर्न कम्तीमा ७ लाख ५० हजार पाउन्ड आवश्यक हुने बताइएको छ ।
‘पूर्जा नेपाल र सबै नेपालीको गर्व र प्रतिष्ठा हुन् । उनको अभियानमा थोरै भए पनि साथ दिने हाम्रो प्रयास हो’ दर्लामीले भने । दर्लामीले अन्य संघसंस्थालाई पनि पूर्जाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
सन् २०१२ मा स्थापित ए–स्टारले त्यसयता आफ्नो क्षमताअनुसार विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएको छ । गत वर्षमात्र ए स्टारले करिब तीन दर्जन संघसंस्थालाई सहयोग गरेको कम्पनीले जनाएको छ । पूर्जाको अभियानलाई एनआरएनए यूकेसहित अन्य संघसंस्थाले पनि सहयोग जुटाउन थालेका छन् ।






