एटा संवाददाता
अल्डरसट । सगरमाथा आरोही निर्मल पुर्जा एमबिईले ७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने जनाएका छन् । उनले गत आइतबार १७ फेब्रुअरी साँझ अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यसअघि उनले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका छन् । त्यस्तै, ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर नेपालीको नाम उच्च राख्न सफल भइसके । ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल पुर्जा २०१९ को मार्चदेखि अक्टोबरभित्र ३ चरणमा १४ वटा अग्ला हिमाल चढ्न कसिएका हुन् ।
एनआरएनए युकेले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोही पुर्जाले ‘प्रोजेक्ट पोसिवल’ नाम दिइएको सो परियोजनाबारे पावर पोइन्ट प्रिजेन्टेशनमार्फत यसअघि आपूmले चढेका हिमाल, गिनिज बुक अफ वल्र्ड रेकर्ड र गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेको बताए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएको बताउँदै उनले हाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेको जनाए ।
उनले संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, धवालगिरि, मनास्लु, नाङ्गगा पहाड, अन्नपूर्ण प्रथम, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापङ्गमा पर्दछन् । यी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरु पाकिस्तान र चीनमा पर्दछ ।
उनको अदम्य सहासको कदर गर्दै एनआरएनए युकेले उनको ‘प्रोजेक्ट पोसीबल’ परियोजना सफल बनाउन एनआरएनए युकेका पूर्वअध्यक्ष एवं संरक्षक योेगेन क्षेत्रीको संयोजकत्वमा एक समितिसमेत गठन गरेको छ । सोही समितिले आर्थिक सहयोग संकलनमा साथ दिने भएको छ । उनले सो अभियान सफल बनाउन करिब ७ लाख ५० हजार पाउन्ड खर्च हुने जनाइएको छ ।
बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको पत्रकार सम्मेलनमा आरोही पुर्जाले आफ्नो अभियान सुरु हुन अब २९ दिनमात्र बाँकी रहेको जनाउँदै हालसम्म १३१ हजार पाउन्ड सहयोग संकलन भइसकेको जनाए । उनले आपूmले व्यक्तिगत फाइदाका लागि हिमाल चढ्न नलागेको बताउँदै आपूmले गोर्खा, नेपाली र नेपाल राष्ट्रको नाम उँचो राख्नका लागि हिमाल चढ्न लागिएको स्पष्ट पारे । साथै, उनले, ‘देश र राष्ट्रको नामका लागि सके आर्थिक सहयोग गर्नुहोस्, नसके आशीर्वाद दिनुहोस्’ भने । उनले सो परियोजना पूरा भएपछि २ वटा च्यारिटी आयोजना गर्ने जनाउँदै सो च्यारिटीबाट संकलित रकम घाइते भूपू गोर्खा र नेपालका अपाङ्ग तथा असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने जनाए । साथै उनले, ग्लोबल वर्मिङ्गको बारेमा सचेतना र नेपाल भ्रमण वर्ष २०२० को सफल बनाउन अभियानको थलानी गर्नेसमेत बताए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले निर्मल पुर्जाको जस्ता सहास र बहादुरीको प्रशंसा गर्दै आफ्नो तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबै बेलायतवासी नेपालीहरुलाई उनको अभियानमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्न अपील गरे । त्यस्तै, एनआरएनए आईसीसी सदस्य रामशरण सिंखडा र कुमारी गुरुङले आरोही पुर्जाको अभियानमा आईसीसीमार्फत सक्दो सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, एनआरएनए युकेका संरक्षकसमेत रहेका कार्यक्रम संयोजक योगेन क्षेत्रीले राष्ट्रिय गौरवको कुरा हो भन्दै सबैलाई सहयोग गर्न अपील गर्दै आफ्नो तर्फबाट १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, उनका दाजु भूतपूर्व गोर्खासमेत रहेका कमल पुर्जाले जहिले पनि आफ्नो भाइले आफूले चाहेको कुरा गर्दै आएको र उनको सहासबाट आफू र आफ्नो परिवारलाई गौरव लागेको जनाउँदै उनको अभियानमा सहयोग गरिदिनका लागि सबैमा अनुरोध गरे ।
सो अवसरमा लेप्टन कर्णेल यमबहादुर राना, मगर संघ युकेका अध्यक्ष नेम थापा, समाजसेवीहरु क्याप्टेन हरिबहादुर थापा, क्याप्टेन बीरबहादुर थापा, क्याप्टेन विष्णु श्रेष्ठ, एनआरएनए युकेका उपाध्यक्ष शेरबहादुर सुनार, सुशीला राई, गे्रटर रसमुर नेपाली कम्युनिटी युकेका अध्यक्ष जीव बेल्वासे, महासचिव मान गुरुङ, ए–स्टार फाइनान्सीयलका किशोर राना, एनआरएनए युकेका सल्लाहकार कृष्ण तिमिल्सिना, किक बक्सर अदीप राना, समाजसेवी चन्द्र राम खोरजा, तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, मिस युके नेपाल–२०१७ सिर्जना गुरुङ र युवा व्यवसायी सुवास पुनले उनको अभियानको सफलताको शुभकामना दिँदै आ–आफ्नो क्षेत्रबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनको सो अभियानलाई भूतपूर्व गोर्खाज् बाबाआमाहरुले समेत खादा तथा नगदसमेत सहयोग गरेका थिए । सोही कार्यक्रममा उनको अभियानका लागि १४ लाख रुपैयाँको सहयोग प्रतिवद्धता आएको एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले जानकारी गराए ।
एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा भीम पुर्जाले आरोही निर्मलको बारेमा जानकारी गराएका थिए भने एनआरएनए यूकेका महासचिव राजकुमार त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।
को हुन् त निर्मल पुर्जा एमबीई निर्मल पुर्जा तीनै संसारका १४ वटा अग्ला हिमालमध्येका एक धवलागिरि हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक साधारण परिवारमा जन्मेका एक साहसी व्यक्ति हुन् । बेलायती सेनाको स्पेशल फोर्समा रही गोर्खालीको इतिहास कोर्न सफल एक सिपाही हुन् । करिब ४ बर्ष ६ महिनासम्म बेलायती सेनाको हिमाल आरोहणसम्बन्धी विशेष तालिम प्राप्त सफल आरोही हुन् । यसअघि सबैभन्दा छिटो हिमाल चढेर जिउँदो इतिहास बनाउन सफल असाधारण वीर गोर्खाज् हुन् । बेलायती सेनाको आकर्षक तलब र पेन्सनको समेत प्रवाह नगरी जागिरबाट अवकाश लिएर विश्व कीर्तिमान बनाउन लागेका एक नेपालीका सन्तान हुन्







