नेपालमा लगानी गर्न बेलायतीलाई अर्थमन्त्री खतिवडाको आह्वान

SHARE:

लन्डन । अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानीको वातावरण सुरक्षित र मुनाफा सुनिश्चित रहेकाले ढुक्क भएर लगानी गर्न बेलायती लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।
लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित नेपाल विकास सम्मेलनको पाँचौं संस्करणमा ‘नेपालमा लगानीका सम्भावना’ विषयक अन्तरक्रियामा मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको अर्थतन्त्र एउटा बलियो जगमा उभिएको बताएको जनाउँदै यो वर्ष झन्डै ७ प्रतिशतको आर्थिक वृद्धि हुने अपेक्षा गरे ।

उनले लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सरकारी निजी साझेदारीसम्बन्धी कानुन संसदको यसै सत्रबाट पारित हुने विश्वास पनि व्यक्त गरे । मन्त्री खतिवडाले लगानीकर्ताहरूलाई सबै सुविधा एकै थलोबाट प्राप्त होस् भन्ने उद्देश्यले सरकारले एकद्वार प्रणालीसम्बन्धी निर्दे्शिका जारी गरिसकेको र आउँदो महिनाभित्रै सो प्रणाली कार्यान्वयनमा आउने पनि बताए ।

सरकारले आउँदो १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको मन्त्रीले बताए । १७ हजार किलोमिटर सडक, २ हजार किलोमिटर रेलवे लाइन, दूरसञ्चार, बैंकिङ, खनिज उत्खननजस्ता क्षेत्रमा विदेशी पुँजी र प्रविधि चाहिएको उनले बताए । उनले दस लाख पर्यटक भित्र्याउने लक्ष्य नेपालले हासिल गरिसकेको तर अब त्यसलाई बढाएर आउँदो ५ वर्षमा ५ लाख तथा १० वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अघि बढ्नुपर्ने उनले बताए ।

विदेशी लगानीकर्ताहरूले कर तिर्ने र रोजगारी सिर्जना गर्ने भएकाले विदेशी लगानी भित्र्याउन चाहेको बताउँदै यसका लागि सरकारले यही मार्च अन्त्यमा काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्न लागेको मन्त्री खतिवडाले बताए । उनले नेपालमा कार्यरत विदेशी लगानीकर्ताहरूले लगानीको शतप्रतिशतसम्म मुनाफा आर्जन गरिरहेको बताउँदै त्यस्तो प्रतिफल अन्यत्र पाउन नसकिने दाबी पनि गरे । कार्यक्रममा ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपाल’ का उपाध्यक्ष तथा हाउस अफ लर्डसका सदस्य लर्ड सेखले सन् २०१७÷१८ मा बेलायतले डीएफआईडीमार्फत नेपालका लागि ९ करोड २० लाख पाउन्ड विकास सहायता उपलब्ध गराएको बताए । भारत तथा चीनको बीचमा रहेको नेपालमा लगानी गरेर ती दुई विशाल बजारहरूमा पहुँच पाउन सजिलो हुने पनि उनको धारणा थियो ।

मन्त्री खतिवडाले बेलायतसँग दोहोरो कर हटाउने सम्बन्धी सम्झौता गर्ने वार्ता भइरहेको जानकारी दिए । उनले शुक्रबार नै लन्डन स्कुल अफ इकोनोमिक्समा संघीयता सम्बन्धमा नेपालको अनुभवबारे प्रवचन दिए । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालले खुला, उदार अर्थनीति अपनाएको बताउँदै गैरआवासीय नेपालीलगायत ब्रिटिस लगानीकर्तालाई नेपालमा सूचना प्रविधि, बायोटेक्नोलोजी, विद्युत् तथा पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
‘डुइङ बिजनेस इन नेपाल’ नामक छलफल सत्रमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले संसारका ८० मुलुकमा संघको शाखा रहेको र संसारभरि फैलिएका नेपालीले व्यक्तिगत तथा सामूहिक रूपमा नेपालमा लगानी गरिरहेको बताए ।

डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी टिम गोचरले आफ्नो कम्पनीले ब्रिटिस तथा अन्य लगानीकर्ताहरूबाट रकम संकलन गरी नेपालमा ९ वटा परियोजना सञ्चालन गरिरहेको र झन्डै चार हजारलाई रोजगारी दिएको बताए ।
बेलायत नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले नेपाल लगानीका लागि खुला रहेको, प्रतिस्पर्धा न्यून रहेको र उच्च मुनाफाका अवसरहरू रहेको बताए । उनले विदेशी लगानीकर्ताहरूलाई नेपाली साझेदारहरूसँग मिलेर काम गर्दा सजिलो हुने सुझाव पनि दिए । छलफल सत्रको सञ्चालन वन टु वाच कम्पनीका प्रबन्ध निर्देशक सुमन जोशीले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!