एटा संवाददाता
फार्नबोरो । फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टले आप्mनो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा स्थानीय दुई च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको छ । सहयोग रकम गत आइतबार २४ फेब्रअरीका दिन एनआरएनए युकेका पूर्वअध्यक्ष समेत रहेका रेस्टुरेन्ट सञ्चालक सूर्य गुरुङले रेस्टुरेन्ट परिसरमा स्थानीय स्ट्यासी एन्ड लुसी फाउन्डेशन र पारिटी फर डिसाबिलिटी नामक संस्थालाई दुई हजार १० पाउन्डका दरले चेक हस्तान्तरण गरेका थिए ।
रसमोर बरो काउन्सिलका मेयर काउन्सिलर स्टीप मास्टरसन, नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरन, स्थानीय पूर्वसांसद जेराल्ड हवार्ड, काउन्सिल लिडर डेबिड क्लिफोर्ड र करिब १०० जना रेस्टुरन्टका नियमित ग्राहकहरुको विशेष उपस्थितिमा रेस्टुरेन्टको गत १७ फेबु्रअरी आइतबारका दिन २० औं वार्षिकोत्सव मनाएका थिए । सो कार्यक्रममा राखिएको अक्सनका सामग्री बिक्री र राफल विङ्गो ग्राहकहरुको स्वेच्छाले दिएको आर्थिक सहयोगबाट सो रकम संकलन भएको हो । रेस्टुरेन्टले सो अवसरमा ग्राहकहरुलाई खाना र पेय पदार्थ निःशुल्क रुपमा उपलब्ध गराएका थिए ।
कार्यक्रममा रेस्टुरेन्ट सञ्चालक गुरुङले नियमित ग्राहक, कुशल कर्मचारी र साथीहरुको सहयोग, माया र विश्वासकै कारण आफूहरुले २०औं वार्षिकोत्सव मनाउन सफल भएको बताउँदै सबैलाई धन्यवाद दिए । सो अवसरमा मेयर काउन्सिलर मास्टरसन, नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख आरन र पूर्वसांसद हवार्ड शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा रेस्टुरेन्ट संचालक गुरुङकी धर्मपत्नी बबिता गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने १२ वर्षीया छोरी सिल्बीया गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।






