सुधा गुरुङ
अमेरिकाको विभिन्न प्रदेशका यूनिभर्सिटीहरुमा छ हप्ते प्राध्यापन सकाएर १२ जनवरीका दिन काठमाडौं फर्किएकी मदन पुरस्कार विजयी लेखिका एवम् सामाजिक अभियन्ता राधा पौडेलको नयाँ पुस्तक “अ पवित्र रगत’’ विमोचन १४ जनवरीमा हुने र सो समारोहमा सम्मिलित हुनका लागि निम्तो उनी अमेरिकामा छँदै मलाई पठाएकी थिइन् । कारण सो अवधिमा म नेपाल बिदामै रहने कुरो उनलाई अवगतै थियो । हरेक कुरा पूर्व निर्धारित समयमा नै गर्न रुचाउने उनको स्वभावसँग म राम्रैसँग परिचित भइसकेकी छु । त्यसैले हामी भेट्ने समय पनि पूर्वनियोजित नै थियो । उनको वर्षभरीको क्यालेन्डर वर्षको सुरुमै तय भइसकेको हुन्छ । नेपालमा बस्ने तर ठ्याक्कै अंग्रेजी समयमा चल्ने राधाको बानीको म कायल छु तर पनि उनीसँगै समयको ठीक रफ्तार पकडिन भने म अली असमर्थ नै छु भन्न मलाई अप्ठेरो लागे पनि यो कुरा सत्य हो । सत्यलाई नकार्न चाहन्न पनि । जेहोस् उनी नेपाल आएको भोलिपल्ट बिहानै हाम्रो कुराकानी भयो । तर अफसोच प्रेसको प्राविधिक कारणले गर्दा उनको पुस्तक विमोचन फेब्रुअरी १४ का दिन सारिएको जानकारी दिँदै दिदीबहिनी कतै भेटेर सँगै लन्च गरौं भन्ने प्रस्ताव राखिन्, कारण मसँग भेटेपछि आफ्नो घर चितवनमा अलि अस्वस्थ हुनुभएको बुवालाई भेट्न उनी हतारिरहेकी रहिछन् । त्यसैले मसँग भेटघाट गरेपछि चितवन जाने उनको मनसाय रहेछ ।
पहिले सरकारी अनि पछि एनजीओको राम्रो आयको जागिर छोडेर विशेष कर्णाली भेग र सूदूरपूर्वका पिछडिएका महिलाहरुको जीवनोत्थानका लागि आफ्नो जीवन उत्सर्ग गरिरहेरेकी सामजिक अभियन्ता राधाको काठमाडांैमा स्थायी बसोबासका लागि कुनै खास बन्दोबस्त छैन भन्ने मलाई थाहा थियो । अघिल्लो वर्ष आउँदा उनको अस्थायी बसोबास पेप्सीकोला बताएकी थिइन् । यसपाला उनको बसाई अस्ट्रेलियामा रहेकी एक साथीको अपार्टमेन्ट, भक्तपुरको अलि कुनातिर भएकोले मिलेसम्म उनलाई कतै पायक पर्ने स्थानमा भेट्ने तय भयो । साथमा अमेरिकाबाट ल्याएका सामानहरु पनि भएकोले हामी दुई दम्पती मोटर लगेर जाने अनि लन्चपछि कलंकीमा उनलाई छोड्ने सल्लाह भयो । तर, ऐन मौकामा मेरो श्रीमान् लालजीलाई घरमै बस्न पर्ने भएकोले म आफ्नो चिनेको श्याम भाइको ट्याक्सीमा भक्तपुरतिर लागेँ । काठमाडांैको ट्राफिक जामले गर्दा समयमा पुग्न के सकिन्थ्यो र ? उता, अंग्रेजी टाईममा झिटी गुन्टा कसेर राधा मेरो पर्खाईमा तम्तयार थिइन् भने म चाहिँ नेपाली समयमा केही ढिलो गरी पुगे । श्याम भाइको सहयोगमा उनको दुईटा सुट्केस ट्याक्सीमा राखेर हामीले भाइलाई कुनै राम्रो भेजिटेरिएन रेस्टुराँमा लैजान अनुरोध गर्यौ । कारण राधा भेजिटेरियन हुन । भाइले हामीलाई कमलादीस्थित गणगौर रेस्टुरेन्टमा एकदम राम्रो खाना पाइने बताउँदै त्यहीं पुर्याए । नभन्दै रेस्टुराँ एकदम सफा, सुन्दर र खाना पनि स्वादिष्ट रहेछ ।
स्वादिष्ट भोजनपछि मैले बेलायत लगेको राधाको मदन पुरस्कार विजयी पुस्तक “खलंगामा हमला” र “मर्यादित महिनावारी सबैको जिम्मेवारी” भन्ने उनको ह्यान्डबुक साथीहरुलाई बेचेर उठेको रकम रु. २५,०००।– को चेक राधा पौडेल फाउन्डेशनको नाममा हस्तान्तरण गरे । उसरी सो पुस्तक बिक्रीको रकम राधाले स्वयम् लिन पर्ने हो…तर एज यूजुअल उनले आफूसँग जे जति छ सो पनि राधा फाउन्डेशनमार्फत नै सेवामा लगाउने भएकोले फाउन्डेशनकै नाममा चेक लिन स्वीकार गरिन् ।
खानाको दौरानमा उनले ६ हप्ते आफ्नो अमेरिका बसाईको किस्सा पनि सुनाइन् भने अधिकांश कुरा महिला हित, महिनावारी (छाउपडी) प्रथा उन्मुलन, उनको अगुवाईमा चितवनमा करिब २ महिनाअघि उत्पादन सुरु गरिएको मितेरी जैविक प्याड उद्योग आदिको बारेमा कुराकानी भयो । १० वर्षअघि उनले देखेको यो सपना अहिले पूरा भएकोमा उनको मुहारमा देखिने असिम सन्तुष्टि र आनन्दानुभूतिको भाव म सजिलै पढ्न सक्थे । हिन्दी चलचित्र प्याड म्यानको नायक अक्षय कुमारजस्तै हाम्रो वास्तविक जीवनकै नायिका प्याड वुमन हुन सामाजिक अभियन्ता राधा पौडेल । सोही कुरामा केहीबेर हामी हास्यांै पनि । कोयम्बटूर, तामिल नाडूका अरुणाचलम मुरुगाननथमको वास्तविक जीवनीमा आधारित चलचित्र प्याड म्यानमा अक्षय कुमारले गज्जबको जीवन्त अभिनय गरेका छन् । सोबाट पनि राधालाई ठूलो प्रेरणा मिलेको अनि प्याड निर्माणका क्रममा उनले अरुणाचलमलाई पनि भेटेको कुरा बताइन् । यसरी हाम्रा रमाइला गफ सकिने नाम लिरहेको थिएन यता अविरल बग्ने समयले भने हामीलाई जिस्काई रहेको थियो । सो हामी कलंकीतिर अगाडि बढ्यौ फेरि श्याम भाइको ट्याक्सीमा ।
राधाको कुरा अति चाखलाग्दो लाग्छ मलाई । समाजप्रति उनले देखाउने चासो, जिम्मेवारीबोध, चिन्तन, हरदम केही गरौं समय त्यसै खेर नफालौं भन्ने उनको व्यग्रता…ओहो बयान गर्नलाई मसँग शब्द छैनन….काश ! उनको सो चिन्तनको केही प्रतिशत पनि हाम्रा नेताहरु र सम्बन्धित सरोकारवाला सरकारी कर्मचारीहरुमा भइदिएको भए देशको मुहार फेरिन कति पो बेर लाग्दो होला र ?? जस्तो लाग्छ, तर अफसोच !
ट्याक्सीमा बात मार्दै हामी कलंकी पुग्नुअघि, पहिला अमेरिकाबाट उनको साथी शान्ताको आमालाई भेट्न रामकोट, सीतापाइला पाँच÷दस मिनेटको लागि भए पनि जानै पर्ने र सानो पार्सल पनि दिन पर्ने भएकोले उनले मलाई घर फर्किन अनुरोध गरिन् । तर त्यो एक दिन मैले राधाको नाम गरिसकेकीले उनलाई नारायणघाटको बस नचढाएसम्म नछुट्टिने कुरो बताए । कारण उनी पोहोर साल जुम्ला जादा बाटोमा घोडाबाट लडेर नराम्रोसँग घाइते भएकीले ढाड दुख्ने समस्या छ । सामान उठाउन सहयोग चाहिन्छ । त्यसैले ट्याक्सीलाई सीता पाइलातिर मोड्यौ । उनको साथीकी असी वर्षीया आमा पखाला चलेर कमजोर हुनुभएको अवस्थामा छोरीको संगीलाई देख्दा आमाको मुहार त्यसै उज्यालियो । बुहारीले खुब सेवा गर्दिरहिछन् तैपनि छोरीजस्तै छोरीको साथी अमेरिकाबाट पार्सल लिएर आउँदा आमा हर्षविभोर हुनु स्वाभाविकै थियो । हाम्रो देशको वर्तमान बिडम्बना ! छोराछोरी सबै विदेशमा, बृद्ध माता पितामात्रै स्वदेशमा । आफ्नो पनि हालत उस्तै हो । के गर्नु ? विवशता यस्तै छ सबैको ! केहीबेरको बसाइपछि आमाले बस्न आग्रह गर्दागर्दै चितवनमा बुवा पनि अस्वस्थ्य हुनुभएकोले जतिसक्दो आजै घर पुग्न पर्ने बाध्यता देखाएर राधाले बिदा लिइन् र हामी कलंकीतिर लाग्यौ ।
कलंकी पुगेर नारायणघाट जाने बसमा सिट सोध्दै हिँडेको ? के पाइन्थ्यो ? सबै प्याक ! राधाका अनुसार अफ सिजन भएकोले जत्ति नि सिट पाइन्छ भनेर अग्रिम टिकट नलिएकी रे…फेरि मसँग भेट्ने योजना पनि टिकट नकाट्नुको अर्को कारण रहेछ । सो कारण थाहा पाउँदा मलाई पछि ग्लानी बोध भयो । निकै बेरको असफल प्रयासपछि श्याम भाइले बल्ल भने, ‘माघे संक्रान्तिमा सबै घर जान लागेकाले होला यस्तो भएको, बरु बस स्टपमा जौ…उता टिकट पाइएला दिदी ?’ लाटा ! अघि नै भन्न पर्दैन ? लौ हिँड भनेर हामी फेरि गोगंबु बस पार्कतिर लाग्यौ । काठमाडौं बसेको यतिका वर्षमा कहिल्यै त्यति लामो समय ट्याक्सीमा न राधा हिँडेकी न सुधा ? दिदीबहिनी लामो समय बित्याउन पाए हुन्थ्यो भन्ने चाहना यही निहुँमा पुगेजस्तो पनि लाग्यो ।

गोगंबु बसपार्क पुगेर पो भो त जात्रा…
हाम्रो पुरानो घर स्याङ्जा, पोखरा भएकोले हामीलाई नियमित यात्रा गर्न पर्ने भनेको पोखराको हो, जो सधैं हामी टुरिस्ट बसद्वारा नै गथ्र्याै । गोगंबु बसपार्क कहिल्यै यसरी टिकटको खोजीमा आएकै थिइन् । माछा बजारजस्तो भीड अनि सिनेमा हलमा उहिले ब्ल्याकमा टिकट बेच्ने केटाहरुको मारामार तँछाडमछाड जस्तो जात्रा ! एक जनाले यति त अर्काले उति भनेर छोपाछोपको हालत । राधा र म तीनछक पर्यौ देशको हालत देखेर…। सर्वसाधारणको जनजीवन यस्तै जटिल हुन्छ कि क्या होला ? सोच्न बाध्य भयौ । कुनै कुरामा एक रुपता छैन, निर्धारित स्थानमा जान टिकटको निर्धारित दरभाउ एकै हुन पर्ने हैन र ? त, अहं ! रहेनछ । लाटासिधालाई त मोलभावले खर्लप्पै निल्ने अवस्था….खै ? माघे संक्रान्ति भएरै हो कि ? मारामार भीड ! सोचें, माघे संक्रान्तिमा त यस्तो छ भने दसैं तिहारमा कस्तो हालत होला ?
त्यसमा विदेशबाट ल्याएको राधाको दुईटा सुटकेसको करामत हो कि कुन्नी ? एउटा नारायणगढ जाने टिकटको लागि राम्रै मोलामोल भो । राधाका अनुसार, श्यामले घिसार्दै हिँडेको दुईटा सुुुटकेस र विदेशबाट आएको भनेर चिनिने मेरो सकल सुरतले गर्दा टिकटको यस्तो चर्को मोल गरेको रे ! रु ३ सय ५० भाडा लाग्ने नारायणगढको एउटा टिकटको मूल्य रु ८ सयदेखि हजारसम्म भने । हामी दुबै देशको अवस्था र युवा जनशक्तिको एउटा जाबो टिकटको लागि गरिएको दलाली देखेर अक्क न बक्क परिरह्यौ । मलाई अत्यन्त दुःख अनि टिठ लाग्यो राधाको अवस्था माथि ।
हाम्रो देशको साहित्यमा सबैभन्दा प्रतिष्ठित मदन पुरस्कार विजेता, हाईली क्वालिफाइड, जसको समाजसेवा र उनले गरेका कार्यहरुबारे विदेशीहरुले कैयौ डकुमेन्ट्री बनाई सम्मान गरिएको व्यक्तित्व, जसको गूगलमा अनलाईन प्रोफाईल हेरेको भरमा विदेशका कत्राकत्रा यूनिभर्सिटीले प्राध्यापनको लागि संसारभर निम्त्याउँछन्, आफ्नै देशमा एउटा जाबो टिकटको लागि यत्रो खिचातानी ? ओ माई गड ! तर गर्ने के ? यति गर्दागर्दै साँझको चार बजिसकेको थियो । म कराएँ पनि ती मोलतोल गरेर तानातान गर्ने केटाहरुसँग । हाम्रो देश त ईन्डियाजस्तो पो भएछ ? क्या हो यस्तो मोलतोल भनेर ! अन्ततः काँकडभिट्टा जाने रात्रि बसमा नारायणघाटको टिकटको डबल मूल्य तिरेर एउटा सिट मिलाइयो, त्यो पनि अन्तिम सिट । तर गत वर्ष बर्थिङ्ग सेन्टर उद्घाटनका लागि बेलायती साथीहरु लगेर जुम्ला जाँदा घोडाबाट लडेर ढाड, चिउडो फ्याक्चर भएर नराम्रोसँग घाइते भएकी राधा चार पाँच महिना बेड डाउन भएर हलचल भएकी थिइनँ, हाल उनलाई ढाड दुख्ने, सपोर्टका लागि कुशन बोकेर हिँड्न पर्ने, सामान केही उचाल्न नहुने, लामो समय एकै स्थानमा बस्न नसक्ने समस्या छ ।
पोहोर सालको समरमा व्हील चेयरमै यूरोपका चार÷पाँच देशका यूनिभर्सिटीहरुमा प्राध्यापन गराएर फर्केकी उनले यो पटक कुशन बोकेरै अमेरिकाको लामो यात्रा पार गरेकी रहिछन् । जेहोस्, अन्तिम सिट नै भए पनि लिनुबाहेक विकल्प थिएन । कोइ भलामानससँग सिट साटेर मिलाउँला भनेर सो टिकट लिई बसभित्र पुग्यौ । नभन्दै तीन नम्बर सिटको एउटा भर्खरको बाबुलाई राधाको समस्या बताएर अनुरोध गरेको…खुसीसाथ माने अनि उनको फोल्डिङ्ग सिटमा राधालाई चढाएर सामान डिक्कीमा राखीवरी श्याम भाइ र म उनलाई बाई बाई गरेर चार बजे घरतिर लाग्यौ ।
चार बजे हिँड्ने भनेर टिकट काटेको बस साढे पाँच बजेमात्रै हिँडेर रातको ११ बजे घर (चितवन) पुगिछन् राधा…। यस्तो छ हाम्रो देशको अवस्था हजुर !






