एटा संवाददाता
अल्डरसट । मगर कला र संस्कृतिमा आधारित कौराहा गीत तथा नृत्यको कथामा निर्माण भएको डकुमेन्ट्री फिल्म ‘कौराहा’ एक विशेष कार्यक्रमका बीच बेलायतमा प्रदर्शन भएको छ । मौलिक कौराहा संरक्षण समिति र तारा माया थापाको प्रस्तुति रहेको डकुमेन्ट्री फिल्म गत आइतबार ३ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा बिशेष प्रदर्शन भएको हो ।
विशेष प्रदर्शनमा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, मगर संघ यूकेका उपाध्यक्ष अनिता राना, एम्पायर हलका प्रवन्ध निर्देशक पूरन गिरी, गायक पवन राना र कलाकार सविता रानाको बिशेष उपस्थिति रहेको थियो ।
डकुमेन्ट्री फिल्ममा कौराहा गीत र सो गीतमा नृत्य गर्ने कलाकारले भोग्नु परेका समस्या, त्यसले दिएको सन्देश र कोराहा नृत्य गर्दाको अवस्थाबारे चित्रण गर्न खोजिएको छ । सो डकुमेन्ट्री फिल्म हर्क बहादुर आलेको लेखन तथा निर्देशनमा बनेको हो ।
राष्ट्रिय मौलिक कौराहा संरक्षक समिति निर्माता रहेको सो डकुमेन्ट्री फिल्ममा नविन केसीको छायांकन र अशोक आलेको सह–निर्देशनमा रहेको छ । तारा माया थापा कार्यकारी निर्माता रहेको सो डकुमेन्ट्री फिल्ममा रबिन्द्रद्रथापा, सबिता राना, पवन राना, पदम थापा, सरुना थापा मगर, सृजना आले, सोनाम आले र राम आले लगायतको जोडदार अभिनय रहेको छ ।
बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको बिशेष प्रदर्शनमा अतिथिहरुलाई आयोजकले खादा लगाई स्वागत गरेका थिए । मगर जातिको परम्परा र संस्कार जोगाउन डकुमेन्ट्री फिल्म ‘कौराहा’ ले महत्वपूर्ण भूमिका खेल्ने दर्शकहरुको भनाइ थियो । साथै, डकुमेन्ट्री फिल्मको छायांकन, सम्पादन र प्रस्तुती समेत उत्कृष्ट रहेको सहभागी दर्शक तथा चलचित्रकर्मीहरुले विश्वास व्यक्त गरे






