सुधा गुरुङ
लन्डन । अन्तर्राष्ट्रिय ख्याती प्राप्त वाचन साधिका बिदुषी माता सपनादेवी श्रेष्ठ कृष्ण प्रणामीले बेलायतमा मानव धर्म र गीता प्रवचन दिएकी छन् ।
दुईहप्ते बेलायत भ्रमणमा रहेकी श्रेष्ठले गत साता अल्डरसटस्थित शिव मन्दिरमा मानव धर्म र गीता प्रवचन गरेकी हुन् । उनले लन्डन, बर्मिङघम, फार्नबोरो र प्लमस्टिडका विभिन्न मन्दिर र नेपाली तथा गुजराती समुदायमा पनि गीता प्रवचन गरिसकेकी छिन् ।
२०३३ सालमा साँखु, साली नदीमा श्रेष्ठ (नेवार) परिवारमा जन्मएकी माता सपनाजीले विगत २० वर्षदेखि देश, विदेशमा श्रीमद भागवत वाचन गर्दै आएकी छन् । उनले हालसम्म २७ वटा देशहरुमा श्रीमद भागवत वाचन, शिव पुराण वाचन, देवी भागवत, तारतम वाणी, गणेश पुराण वाचन गरिसकेको बताइन् । यसरी विदेशमा भागवत वाचन गर्ने उनी नै पहिलो गैरब्राह्मण महिला हुन् । साथै उनी ब्राह्मणबाहेक अरु समुदायका महिलाले समेत वेद र गीताको अध्ययन गरी श्रीमद भागवत वाचन गर्न मिल्ने र सक्ने रहेछन् भन्ने ज्वलन्त उदाहरण र प्रेरणाको श्रोत पनि हुन् । दुई दशकको अवधिमा उनले एक हजारभन्दा बढी सत्संग एवम महापुराणसमेत वाचन गरिसकेकी छन् ।
माताजीले आफ्नो कार्यक्रमबाट संकलित रकम भौतिक पूर्वाधार निर्माणका विविध क्षेत्रमा प्रदान गरी समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । उनले कयौ स्कुल कलेज, बाल तथा बृद्धाश्रम स्थापनामा सहयोग पुर्याएकी छन भने आफ्नै अध्यक्षतामा साँखुमा एक बृद्धाश्रम स्थापना र सञ्चालन गरेकी छन् ।
तनहुँको आँबू खैरेनीस्थित श्री प्राणनाथ सेवा आश्रमको पिठाधीश रहेकी उनी निजानन्द आश्रम पुल्चोक र कृष्ण प्रणामी, नेपालको प्रखरवक्तासमेत हुन् । उनले मुक्तिधाम ईटहरी, मंगलधाम कालिङ्गपोङ्ग, बृन्दावन धाम र गुजरातबाट तारतम वाणी, भागवत पुराण, वेद, गीतालगायत हिन्दुशास्त्रको विशिष्ट अध्ययन गरेकी छन् । गत मंसिर महिनामा उनलाई थाइल्यान्डको एक अन्तर्राष्ट्रिय संस्था तोन्बुन बिशाखा फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा धार्मिक एवम् सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत ईन्टरनेशनल सोसल रिलिजिएस अवार्डद्वारा सम्मान गरिएको थियो ।
श्रीमद भागवत वाचनबाहेक उनले ज्योतिषशास्त्र अनुसार भविष्यवाणी गर्नुका साथै आध्यात्मिक शिविरमार्फत मेडिटेशन (ध्यान) पनि गराउँछिन् । यसरी आध्यात्मिक ज्ञानको माध्यमबाट हिंसारहित, समुन्नत र सक्षम समाजको निर्माण गर्ने अभियानमा लागेको माता सपनादेवी बताउँछिन् । उनका सहयोगी, कार्यक्रम संयोजक एवम् कुशल भजन गायक केदार तिमिल्सिना पनि बेलायत भ्रमणमा छन् ।






