एटा संवाददाता
लन्डन । तीन वर्षअघि फार्नबोरोको नर्थ क्याम्पमा कार्यालय स्थापना गरी सेवा थालेको पीपल ग्रुप चौथों वर्षमा प्रवेश गरेको छ ।
आउँदो ८ मार्च शुक्रबार साँझ अल्डरसटस्थित एम्पायर हलमा आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव मनाउन लागेको पीपलले जनाएको छ । वार्षिकोत्सव सँगसँगै च्यारिटी डिनरसमेत राखिएको छ ।
बेलायतको आस्फोर्ड, स्वीन्डन र एनडोबरसमेत शाखा कार्यालय स्थापना गरिसकेको पीपलमा १८ जना कार्यरत छन् । पीपल ७ जना कर्मचारीबाट सेवा आरम्भ गरेको थियो । विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउन लागिएको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा गत एक वर्षभित्र ग्राहक बनेकाहरुलाई आयोजक पीपलले निम्तो दिइसकेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसकै दिन सम्पन्न हुन लागेको कार्यक्रममा महिलाहरुकै सहयोगार्थ च्यारिटी डिनर आयोजना गर्न लागिएको पीपल ग्रुपका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङले जानकारी दिए । ‘कार्यक्रमबाट संकलित रकम महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको ‘आशा नेपाल’ लाई सहयोग गर्नेछौं’ उनले भने । आशा नेपालले महिला तथा बालबालिका बेचबिखनविरुद्ध आवाज उठाउँदै आउनुका साथसाथै बेचिएका महिलाहरुको उद्धार गर्दै आएको छ ।
८ मार्चमा विविध कार्यक्रमका साथ विश्वभर १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । पीपलले पनि आफ्नो वार्षिकोत्सवलाई नारीमय बनाउने योजना बनाएको हो । कार्यक्रममा भर्खरै क्यान्सरबाट मुक्त समाजसेवी मञ्जु गुरुङ राईको जीवन भोगाइबारे संवाद (टक शो) गरिने भएको छ । त्यस्तै, गायिका शर्मिला बर्देवा र ममता गुरुङले विभिन्न गीतहरु गाउने छिन् भने एभरेस्ट आइडल–२०१८ विजेता गायक मनोज गुरुङले अतिथि कलाकारको रुपमा आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।
मोर्गेज साथसाथै स्टेट एजेन्टस्को रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको पीपलले घर खरिद गर्न चाहनेहरुका लागि सरल र शुलभ व्याजदरमा मोर्गेजको व्यवस्था गरिदिने, प्रोपर्टी लेटिङ्ग र सेल्समा सहयोग गर्दै आएको छ । त्यस अतिरिक्त प्रोटेक्सन, विल्स र इन्स्योरेन्सलगायतको सेवा दिँदै आएको छ ।
गुणस्तरीय सेवा र ग्राहकहरुको विश्वासकै कारण आफूहरुले शाखा विस्तार गर्न सफल भएको गु्रपका प्रवन्ध निर्देशक गुरुङ बताउँछन् । साथै, उनले आगामी दिनमा पनि नेपालीहरुको बढी बसोबास रहेको सहरहरुमा पीपलको शाखा विस्तार गर्दै लैजाने बताए । सरल र सहज तरिकाले नेपाली भाषामा समेत सेवा प्रदान गर्ने भएकोले पनि पीपलले छोटो समयमा धेरै नेपाली ग्राहकहरुको मन जित्न सफल भएको हो । सबै आगन्तुकहरुलाई प्रवेश नि:शुल्क गरिएको कार्यक्रममा राफल ड्र विजेतालाई एक तोला सुन उपहारसमेत दिइने भएको छ ।
गत वर्ष पीपलले दोस्रो वार्षिकोत्सवमा गोर्खा वेलफेयर ट्रष्ट नामक च्यारिटी संस्थालाई दुई हजार ३०० पाउन्ड सहयोग गरेको थियो ।






